- नमीन ढकाल
सुर्योदय (पशुपतिनगर): पशुपतिनगर नाकाबाट बेचविखनका लागी भारत लग्ने महिला तथा बालबालिकाको संख्यामा कमी आउन सकेको छैन । नाका क्षेत्रका गाँउ गाँउमा चेलिवेटी बेचविखन न्युनिकरणका लागी समन्वय सञ्जाल तथा विद्यालयमा चेतनामुलक कार्यक्रमहरु संचालन गरिएपनि भारत तर्फ जाने महिला तथा बालबालिकाको संख्यामा कमी आउन सकेन । महिला तथा बालबालिका ओसारपसारका लागी पशुपतिनगर सुरक्षित नाका मानिन्छ ।
पशुपतिनगरको मुख्य नाकामा माइती नेपालका कर्मचारी र नेपाल प्रहरीको टोली खटिने भएपनि दलालले सीमा क्षेत्रका साना गोरेटोबाट नेपाली चेली सिमा कटाउने गरेको पाइएको माइती नेपाल आवधिक गृह पशुपतीनगरका होम ढकालले बताए । ‘मुख्य नाकाबाट भन्दा पनि सहायक नाकाबाट बढी नेपाली चेलीहरुलाई भारतका विभिन्न ठाउँमा लगेर यौन हिंसासँगै जोखिमपूर्ण काममा लगाइने गरेको छ’ ढकालले भने ‘पश्चिम नेपालबाट इलाम घुम्न लाने भन्दै दलालले फकाउने र इलाम आएपछि दार्जीलिङ घुम्न लाने भन्दै सीमा कटाउने गरेको छन ।’
‘माइती नेपाल र सुरक्षाकर्मीको उपस्थिति पशुपतिनगर नाकामा मात्रै रहने गरेकाले सीमा क्षेत्रका अन्य बाटोहरुबाट नेपाली किशोरी, महिला दलाललाई भारत कटाउन सहज भएको छ । नेपाल भारतका दुबै क्षेत्र पर्यटकीय क्षेत्र भएकाले दलाललाई श्रीमान श्रीमति हो भनेर ओहोरदोहोर गर्न सजिलो हुने गरेकाले पूर्ण रुपमा नियन्त्रण गर्न नसकिएको ढकालले बताए ।
माइती नेपालले सन २०१७ को अगष्टसम्ममा भारत तर्फ गएका ८१ जना महिलालाई रोकेर घर फर्काएको छ । त्यसै गरी कामका लागी भारत तर्फ लगिएका ६० जना बालबालिकाहरुलाई नाकामा नै रोकेर परिवारको जिम्मा लगाइएको छ । हराएको खोजीका लागी परेका २१ वटा निवेदन मध्ये ९ जनालाई फेला पारिएको ढकालले बताए । भारतका विभिन्न सहरहरुमा कामका लागी राखिएका ४ जना महिलालाई उद्धार गरी अभिभावकको जिम्मा लगाइएको छ ।
सन २०१६ मा कामको प्रकृति र स्थानको जानकारी नभइ भारत जान खोज्ने १ सय २० जना महिलालाई सीमा क्षेत्रबाट फर्काइनुका साथै १४ जनालाई भारतका विभिन्न सहरहरुबाट उद्धार गरिएको थियो । २०७२ को भुकम्पपछि दलालको प्रलोभनमा परी भारत तर्फ जानेको संख्या उल्लेख्य रुपमा बढेको हो । गरिबी, बेरोजगार, अशिक्षा र नेपाल भारतको खुल्ला सीमाको फाइदा लिएर दलालले नेपाली महिलालाई प्रलोभनमा पारि सीमा कटाउने गरेका हुन् । अधिकाँश उद्धार गरिएका महिलाहरु १५ देखि २५ वर्ष उमेर समुहमा छन् ।
सीमा क्षेत्रको पशुपतिनगर, मानेभञ्ज्याङ र जौबारीमा मात्रै प्रहरीको उपस्थिति रहेकाले मानव बेचबिखन नियन्त्रणमा समस्या रहेको प्रहरीको भनाइ छ । मानव बेचविखन नियन्त्रणका लागी माइती नेपाल र प्रहरीको समन्वयमा सीमा क्षेत्रका १० सीमावर्ती गाविसका विद्यालय, व्यापारीक केन्द्रका व्यपारी, यातायात व्यवसायीलाई सचेतना मुलक कार्यक्रम संचालन हुँदै आएको छ । त्यस बाहेक सीमा कटाइएका महिलाहरुलाई उद्धारका लागी सजिलो होस भनेर क्रस बोडर बैठकहरु गरिने र समन्वय समिति बनाइएका छन् । झापाको बाहुनडाँगीदेखि इलामको माइमझुवासम्मका चोरबाटाहरु धेरै रहेकाले ती क्षेत्रको चोरी तस्करी नियन्त्रणका लागि सुरक्षा संयन्त्र बढाउनुपर्ने देखिन्छ ।