रोङ गाउँपालिकालाई कार्यालय संचालनमा भवनको अभाव, केन्द्र कायम गर्नको लागि चार विकल्प अगाडी

  • गोबिन्द पोडेल

रोङ (कोलबुङ) : फर्निचर त पर्याप्त नै खरिद भए तर भवन र कोठाको अभावले राख्ने ठाउँ पुगेको छैन् । सुन्दा अचम्म लाग्न सक्छ तर यथार्थ यस्तै छ । इलामको रोङ गाउँपालिकाले यस्तै समस्याको समाधान पर्खेर बसिरहको छ । अध्यक्ष र उपाध्यक्षको कार्यकक्षको रुपमा एक एक वटा कोठा प्रयोग भएपछि बाँकी अर्को एउटा कोठामा कार्यकारी अधिकृत, लेखा शाखा, कम्प्युटर अपरेटर लगायतका कर्मचारी रहदा साँगुरो र भद्दा भएको छ । तत्कालिन कोलबुङ गाविसको भवनमा गाउँपालिकाको केन्द्र सञ्चालन हुँदा यस्तो समस्या परेको कार्यकारी अधिकृत डिकप्रसाद दाहाल बताउछन् । 
‘अफिस ले–आउटको लागि के गर्ने के नगर्ने दुबिधामा छु’ कार्यकारी अधिकृत दाहालले चियाबारी दैनिकसँग भने– ‘अब कामको सजिलोको लागि फेरी कोठा परिवर्तन गर्नु पर्ने अवस्था आएको छ ।’ कर्मचारीहरु थपिने क्रम जारी छ । साबिक कोलबुङ गाविसको नाममा रहेको जमिन अहिलेको अवस्थामा भवन बनाउन नपुग्ने भएपछि यस्तो समस्या आएको बताइएको छ । भएको जमिनले आवश्यक भवनको लागि नपुग्ने र थप जमिन पाउन पनि समस्या भएपछि थप अप्ठ्यारो परेको दाहालको भनाई रहेको छ । सरकारले सरकारी घर बनाउन जग्गा नकिन्ने जिल्ला समन्वय समिति इलामका स्थानीय विकास अधिकारी ध्रुबबहादुर खड्का बताउँछन् । ‘सरकारले जमिन किनेर घर बनाउने कुरा सरकारी नीति विपरितको कुरो हो’ स्थानीय विकास अधिकारी खड्काले भने ‘भवनको लागि कति जमिन आवश्यक पर्छ, कति कोठा चाहिन्छ आवास तथा पार्किङको लागि कति स्थान चाहिन्छ त्यो त्यहीको बासिन्दा र निर्वाचित जनप्रतिनिधिले टुङ्गो लगाउनु पर्छ ।’ उनले भने भवनको लागि कि कसैले जमिन दान दिनु पर्छ कि सार्वजनिक जमिन हुनु पर्छ, सरकारी नीति अनुसार जमिन खरिद गरेर भवन बनाउने कुनै कार्यक्रम छैन’ ।
यता रोङ गाउँपालिकाको केन्द्र तोकिएको साबिक कोलबुङ्ग गाविस भवन भएको स्थानमा जमिन थोरै र साँगुरो छ । गाविस कोल्बुङ्गको नाममा ४ रोपनी १२ आना जमिन रहेको छ । त्यसमा पनि मेची राजमार्गको १५ मिटर र थप गरिएको ५ मिटरको रोड एरिया भित्र झण्डै २ रोपनी जति पर्न सक्छ । यसो हुँदा पुगनपुग ३ रोपनी जमिनमात्र रहेको गाउँपालिकाका कार्यालयको नाममा रहेको कार्यकारी अधिकृत दाहालले बताए ।
‘थप जमिन खोज्ने काम सूरु भएकाले सबै सरोकारवालालाई जमिनको उपलब्धताको लागि आव्हान गरिएको छ’ कार्यकारी अधिकृत दाहालले भने जमिन उपलब्ध भएमा भवन बनाएर कार्य सम्पादन गर्न सजिलो हुनेछ ।’ इलामको दक्षिण पूर्वमा रहेको जिर्मले देखि इरौटार कोल्बुङ्ग हुदै शान्तिपुर सम्मको ४ वटा गाविसका ३६ वटा वडालाई समेटेर ६ वटा वडा भएको रोङ गाउँपालिकाको गठन भएको हो । यस अघिको जिर्मले, इरौटार, कोलबुङ्ग र शान्तिपुर गाविसलाई रोङ गाउँपालिकामा समाहित गरिएको छ । गाउँपालिकाको नाममा जम्मा १९ रोपनी ९ आना जमिन रहेको गाउँपालिकाले जनाएको छ । साबिक इरौटार गाविसको कार्यालय, जहाँ हाल ५ नम्बर वडा कार्यालय रहेको छ, त्यहाँ गाविसको नाममा ४ रोपनी ५ आना जमिन रहेको छ । त्यसैगरी वडा नम्बर १ को कार्यालय रहेको साबिक शान्तिपुर गाविसको २ रोपनी र ६ नम्बर वडा कार्यालय रहेको साबिक जिर्मले गाविसमा ८ रोपनी ८ आना जमिन रहेको कार्यकारी अधिकृत दाहालले जानकारी दिएका छन् । वडा नम्बर २ को वडा कार्यालय बरफल्याङ्ग र वडा  नम्बर ४ को कार्यालय भालुझोडामा भाडाको घरमा सञ्चालन हुदै आएको छ ।
गाउँपालिकाको सामान्य अनुभुति प्रदान गर्न कार्यालय स्थापना गरि ब्यवस्थित सञ्चालन हुन आवश्यक छ । सिंहदरबारको अधिकारलाई गाउँगाउँसम्म पु¥याउन राज्यको पुर्नसंरचना गरिएकाले प्रभावकारी सेवा प्रदान गर्न आवश्यक छ । प्रभावकारी सेवाका लागि ब्यवस्थित कार्यालय भवन हुनु जरुरी रहेको गाउँपालिकाका अध्यक्ष शम्सेर राईले बताए । 
‘आगामी दिनमा जनताले पाउने सेवा सुबिधा बिस्तार गर्नको लागि स्थानीय तहमा कार्यालयलाई एकिकृत रुपमा सञ्चालन गर्न जरुरी हुन्छ’ अध्यक्ष राइले चियाबारी दैनिकसँग भने– ‘त्यसको लागि हामी आवश्यक पर्ने जमिन र स्थान छनौटको लागि सबै राजनीतिक दल सामाजिक संघ–संस्था तथा सामाजिक ब्यक्तित्वहरुसँग छिट्टै छलफल तथा परामर्श अगाडि बढाउने क्रममा छौं ।’
सम्भावना के होला त ?
निर्वाचित प्रतिनिधिहरुको लागि भवन कहाँ बनाउने भन्ने पहिलो चुनौती पहाडको रुपमा उभिएको छ । हाल काम चलाउ केन्द्र भएको स्थानमा ब्यवस्थित भवन बनाउने वा फराकिलो अन्य स्थानको खोजी गर्ने भन्ने छलफलको विषय भएको जनप्रतिनिधिहरु बताउछन् । यस्तो अवस्थामा विभिन्न विकल्पहरुको खोजी हुन थालेको छ । पछिल्लो समय गाउँपालिकाको केन्द्रको लागि ४ वटा विकल्प चर्चामा आएको छ । पहिलो कार्यालय आसपासमा रहेको स्थानीयबासीको जमिन गाउँपालिकाले खरिद गरेर आवश्यक क्षेत्र बिस्तार गर्न सक्ने सम्भावना रहेको छ । हाल चलन चल्तीको मुल्य अनुसार प्रति रोपनी १८ लाख रुपैयाँ भन्दा माथी जमिनको मुल्य रहेको स्थानीय उमाकान्त अर्यालले बताए । स्थानीयबासीसँग सीमित जमिन हुँदा मुल्य तिर्दा पनि जमिन पाउन कठिन हुने भएकाले अनुदान पाउने सम्भावना कम रहेको वडा नम्बर ३ का वडा सदस्य प्रेमराज गुरुङ बताउछन् । दोश्रो विकल्पको रुपमा यदी सार्वजनिक जमिनमा गाउँपालिकाको केन्द्र बनाउने हो भने हाँसपोखरी आसपासमा जमिन उपलब्ध हुन सक्ने सम्भावना रहेको छ । हासपोखरी क्षेत्रमा प्रशस्त सार्वजनिक जमिन रहेको त्यहाँका बासिन्दाहरुले बताएका छन् । त्यसैगरी रोङ ३ प्युरे सिरानका समाजसेवी खिलबहादुर गुरुङले पनि आवश्यक जमिन अनुदान दिने घोषणा गरेका छन् । ‘गाउँपालिकाले माग गरेमा बढीमा १० रोपनी सम्म जमिन अनुदान दिन सक्छु’ गुरुङले भने ‘४९ रोपनीको एउटै कित्ता जमिन छ त्यही कित्ताको भाङटारको सिरान सिमाना पट्टिबाट दश रोपनी जमिन अनुदान दिन सक्छु ।’ जग्गा उपलब्ध गराउने सम्बन्धी चियाबारी दैनिकसँग कुरा गर्दै गुरुङले भने पुरै कार्यालय सर्छ भने मात्र जग्गा दिन सक्छु नत्र जग्गा मात्र सरकारी बनाउने उद्देश्य हो भने दुख नगरे हुन्छ ।’
त्यस्तै गाउँपालिकाको केन्द्र पहरीगाउँमा बनाउन सकिने चौथो विकल्प पनि चर्चामा आएको छ । पहरीगाउँको श्रृजना रेशम विकास कृषक समुहको नाममा रहेको ४ रोपनी ८ आना जमिन विगत एक दशक देखि प्रयोगविहीन छ । साबिक कोल्बुङ ४ पहरीगाउँको कित्ता नम्बर ८२ र ८४ मा रहेको सो जग्गाको विगत १० वर्ष देखि मालपोत समेत बुझाउने कोही नभएको वडा कार्यालयले जानकारी दिएको छ । आसपासका बासिन्दाले केही जमिन अनुदानमा दिने मनसाय समेत देखाएकाले त्यस क्षेत्रमा गाउँपालिकाको केन्द्र बनाउन सकिने वडा सदस्य कमलकुमार राईले बताएका छन् । चर्चामा आएका यी विकल्प र अन्य अवस्थाको विश्लेषण गरी उपयुक्त ठाउँको चयन हुने भौतिक पूर्वाधार विकास समितिका संयोजक मणीकुमार स्याङबो बताउछन् । ६ वटा वडा कायम गरिएको रोङ गाउँपालिकाको १५५.०६ हेक्टर क्षेत्रफल रहेको छ । २० हजार ५ सय ४२ जनसंख्या रहेको रोङले सबैलाई पायक पर्ने स्थानको वैज्ञानिक तवरले छनौट गर्नुपर्ने आवश्यकता रहेको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता