सुकेटार विमानस्थलबाट उडान बन्द, यात्रु मारमा

ताप्लेजुङः कञ्चनजंघा र पाथीभरा मन्दिर प्रवेशद्वारका रुपमा रहेको ताप्लेजुङमा रहेको एकमात्र सुकेटार विमानस्थलबाट लामो समयदेखि उडान नहुँदा यात्रु मर्कामा परेका छन् । 
मौसम खरावीकै कारण गत असारको यहाँ हवाईसेवा बन्द छ । नेपाल वायुसेवा निगमले साताको बुधबार र शुक्रबार काठमाडौँ–ताप्लेजुङ उडान भर्दै आएको थियो । लामो समयदेखि उडान रोकिएपछि बाह्य तथा आन्तरिक पर्यटक कठिन यात्रा गर्न बाध्य छन् । 
मेची राजमार्गअन्तर्गत पहाडी क्षेत्रको सडकमा पहिरो झर्नेलगायतका कारण दुर्घटनाको जोखिम अत्यधिक हुन्छ । प्रायः यात्रुले हवाई यात्रालाई नै रोज्ने गरेका छन् । बिरामीले पनि उपचारका लागि हवाईसेवा उपभोग गर्ने गरेका छन् । 
जिल्लामा बाह्य तथा आन्तरिक पर्यटकको ओहोरदोहोर निकै बाक्लो हुने गर्छ । दशैँ तिहारलगायतका चाडाबाड नजिकिँदै जाँदा उडान नहुँदा टिकट बुकिङ गर्न नसकिएको नेपाल वायुसेवा निगम ताप्लेजुङका प्रमुख विकास राईले बताउनुभयो । मौसममा सुधार आए उडान हुन सक्ने बताउनुभयो । 
कालोपत्र गरेर दोहोरो धावन मार्ग बनाइए सेवा बन्द हुँदा मारमा परेका स्थानीयवासीको भनाइ छ । कालोपत्र गरेर दोहोरो धावन मार्ग निर्माण भएसँगै बाह्रै महिना जहाज सञ्चालन हुने भनिए पनि उडान ठप्प हुँदा स्थानीयवासी आक्रोशित बनेका छन् । विसं २०२८ मा निर्माण भएको यो विमानस्थललाई चार दशकपछि झण्डै रु नौ करोडको लागतमा कालोपत्र गरिएको थियो । कालोपत्र गरिएपछि निजी कम्पनीका गोमा र तारा एयरलाइन्सले केही समय उडान भरेका थिए । हाल ती उडान बन्द छन् । पछिल्लो समयमा नेपाल वायुसेवा निगमले मात्र उडान भर्दै आएको थियो ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता