
इलाम, राजनीतिक अस्थिरता, देशमा आफुले चाहेको रोजगारी नहुनु, बलियो पूर्वाधार नहुनु, भौगोलिक विकटता लगायत कारणले नेपाल गरिवीको रेखामाथी उठ्न नसकेको इलाम सदरमुकाममा आयोजित एक कार्यक्रमका सहभागीले बताएका छन् । विश्व बैङ्कको आयोजना तथा हर्डेक नामक संस्थाको संयोजनमा भएको परामर्श बैठक तथा सुझाव संकलन कार्यक्रमका सहभागिले नेपाल कृषि प्रधान देश भनिए पनि आवश्यक नीति तथा कार्यक्रम नहुँनु साथै लगानी अभाव र दक्ष जनशशक्ति पलायनका कारण पनि देश गरिवीको रेखा मुनी रहेको धारणा ब्यक्त गरेका थिए । कार्यक्रममा जिल्ला समन्वय समिति इलामका सभापति गणेश बरालले सरकारले थालेको गरिबी परिचय पत्र २५ जिल्लाबाट बढाएर अन्य जिल्लामा समेत विस्तार गर्नु पर्ने धारणा राखेका थिए । उनले किसानले उत्पादन गरेका वस्तुले उचित मुल्य नपाउँदा अझै समस्या रहि रहेको धारणा ब्यक्त गरे । कमाएको रकम समेत विलासी वस्तुमा खर्च गर्ने भएकाले उत्पादनशिल कार्यमा खर्च गर्नु पर्ने उनको भनाई थियो ।
इलाम नगरपालिकाका मेयर महेश बस्नेतले मानिस सुविधा भोगी भएको र सवै सुविधाहरु तराई केन्द्रित भएको धारणा राख्दै स्थानिय तहको निर्वाचन पछि हिमाल, पहाड र तराईमा समान ढङ्गले विकास हुनु पर्ने भनाई ब्यक्त गरे । एकिकृत वस्ति आवश्यक रहेकाकाले अब त्यता तर्फ समेत इलाम नगरपालिका लागि पर्ने उनको भनाई थियो । उनले इलाम नगरपालिकाले पाँच वर्ष भित्रमा गर्ने कार्यक्रमका बारेमा समेत संक्षिप्त चर्चा गरेका थिए । जिल्ला जनस्वास्थ्य कार्यालय इलामका प्रमुख जिवनकुमार मल्लले उर्जाशिल समयमा मानिस स्वास्थ्य हुनु पर्ने भए पनि नसर्ने रोगका कारण मानिसले उर्जाशिल अवस्थामा नै ज्यान फाल्नु परेको धारणा राखे । सरकारी क्षेत्रबाट हाल सम्म कुल बजेटको ४.३ प्रतिशत मात्र लगानी गर्ने गरेको र सो रकम कमी भएको उनको भनाई थियो ।
उनका अनुसार परिवारको सहि योजना नबनेका कारण पनि गरिबी नघटेको हो ।
कार्यक्रममा जिल्ला कृषि विकास कार्यालय इलामका प्रमुख राम स्वभरत शाहले अझै किसानहरुले बिउ बिजन पाउनमा नै समस्या भएको बताएका थिए । कृषि क्षेत्रमा दक्ष प्राविधिक नहुनु, सिंचाइ समस्या रहनु लगायतका कारण पनि किसान कृषिमा ब्यवसायिकता हुन नसकेको उनको धारणा थियो । महेन्द्ररत्न बहुमुखी क्याम्पसका सहायक प्रमुख योगेन्द्रमान श्रेष्ठले इलाममा हाल ९० प्रतिशत पर्यटक कृषि पर्यटनका रुपमा आउने भए पनि यहाँको कृषि क्षेत्र सही ब्यवस्थापनमा चल्न नसकेको बताएका थिए । कार्यक्रममा विश्व बैङ्कका दामिरले नेपालमा सबैभन्दा बढी रकम वैदेशिक रोजगारीबाट भित्रिने गरेको एक प्रतिवेदन प्रस्तुत गरेका थिए । विश्व बैङ्कले गरेको एक अध्यन प्रतिवेदन अनुसार हाल नेपालमा कुल बजेटको ३० प्रतिशत रकम रेमिट्यान्सबाट भित्रिरहेको तथ्याङ्क प्रस्तुत गरेका थिए ।
नेपालको गरिबी दर अन्य देशको तुलनामा छिटो घटेको समेत उनले प्रस्तुुत गरेको प्रतिवेदनमा उल्लेख छ । कार्यक्रममा विश्व बैङ्कका प्रमुख सहजकर्ता विनय शर्मा, सहजकर्ता सुबोध केशी सुरेश दाहाल, परिधि लगायतले सहजीकरण गरेका थिए । नेपालको गरिवी घटाउन अमेरिकामा बसेर कार्यक्रम तय गरिएकाले यहाँको विकास सम्भव नभएकाले सम्वन्धित निकाय समक्ष नै बसेर राय सुझाव संकलन गर्न थालिएको प्रमुख सहजकर्ता शर्माले वताए । कार्यक्रममा उपस्थित बिभिन्न कार्यालय तथा संघसंस्थाका प्रतिनिधि लगायतबाट राय सुझाव समेत संकलन गरिएको थियो ।