इलाम, : ‘हामीलाई बेच्न लगेको रहेछ भनेर त्यति बेलामा मात्र शङ्का भयो जब आशा गुरुङले फोनमा आफुलाई रिक्स भएको कुरा कसैलाई सुनाउदै थिईन् । अनि त्यो गर्जमानले काठमाडौंबाट इटहरी पठाउदै गर्दा उ चाही प्लेनबाट आउने र सँगै विदेश जाने बताएपनि केही दिनपछि भिडियो कल गर्दा उ घरमै हामीले देखेपछि शङ्का उत्पन्न भएको थियो ।’
मलिन मुद्रामा मौसमी राईले इलामका पत्रकारसामु इतिवृत्त बताउदै थिईन् । उनले थपिन्, ‘इटहरीमा आशाले हामीलाई अब ब्युटी पार्लर जानुपर्छ, कपाल पनि काट्नुपर्छ, चस्मा लगाउनुपर्छ र छोटो छोटो स्कर्ट लगाउनुपर्छ भन्दा हामी बेचिन लागेको रहेछौ भनेर कन्फर्म जस्तै भयो ।’ फाकफोकथुमकै गर्जमान राई र सुनसरीकी आशा गुरुङ अहिले सोही घटनाको कसुरमा मानव वेचविखन उद्योगमा संलग्न भएको आरोपमा जिल्ला प्रहरी कार्यालयको हिरासतमा अनुसन्धानका क्रममा छन् । उनीहरुलाई भदौ ३ गते नै इलाम र इटहरीबाट पक्राउ गरिएको हो । सोही घटनामा संलग्न भनिएका एलवी भनिने मनबहादुर राई फरार छन् । इलामका पत्रकारहरुसामु मौसमीले आफ्ना कथा सुनाईन् ।
‘साउन २० गते राती गर्जमानले मलाई फोन ग¥यो, भोलिपल्ट म इलाम आए, इलामको चियाबारीमा भेट्दा त आफ्नै गाउँकी प्रमिला राई पनि सँगै रहिछिन् । २२ गते हामी तीनै जना माइक्रोमा चढेर काठमाडौं गयौं । काठमाडौंमा रहेको चाहविलस्थित एक होटलमा प्रमिला र मलाई १० दिनसम्म बन्धक बनाएर राखियो । शौचालय जादा पनि बाहिरबाट चुकुल लगाईदिन्थ्यो । फोनको सिम साटिदिएको थियो गर्जमानले । त्यही अन्तरालमा हामीले अनुरोध गर्दा गर्दा २ दिन काठमाडौं घुमाउन भने गर्जमान र उसको साथीले लगेको थियो । काठमाडौंमा होटल खर्च धेरै हुनेभयो भन्न थाल्यो गर्जमानले र १० दिन काठमाडौंमा राखेर हामीलाई इटहरी पठायो ।
हामी कुबेतमा राम्रो काम पाउने आशमा मख्ख परिबस्यौं र इटहरी आयौं तर पछि पछि प्लेनमा आउछु, सँगै तीनै जना कुबेत जानुपर्छ भन्ने गर्जमान रात परिसक्दा पनि इटहरी आइपुगेन । पर्सिपल्ट इटहरीबाट गर्जमानलाई भिडियो कल गर्दा उ त इलाम आफ्नै घरमा पुगिसकेको हामीले पत्ता पायौं ।
रातको समयमा आशा गुरुङले विभिन्न मानिसहरुलाई नबुझिने भाषामा फोन गर्ने, भारत छिराउने जस्ता कुरा गरेको हामीले सुनेपछि हामी बेचिन लागेको भन्ने लाग्यो । इटहरी बसेको तीन दिन बितिसकेको थियो, हामीले इलाममा आफन्तलाई फोन ग¥यौं र हामी बेचिन लागेको र बन्धक अवस्थामा इटहरीमा रहेको बतायौं । आफन्तले प्रहरीलाई खबर गरेपछि इलामस्थित धोविधारामा रहेको डेराबाट गर्जमानलाई प्रहरीले पक्रेछ, आशा गुरुङलाई इटहरीबाट । अनि हामी नेपाल प्रहरीको सहयोगमा इलाम आइपुग्यौ । हामी चनाखो भएर समयमै आफन्तलाई फोन गर्दा बेचिनबाट जोगियौं, अरु चेलीलाई यस्तो नपरोस् भनेर नै लागिपरेका छौं ।’
वैदेशिक रोगजारको क्रममा कुवेतमा राम्रो कामको आशामा मौसमीले गर्जमानलाई ४० हजार नगद सहित पासपोर्ट र नागरिकता तथा शर्मिलाले पनि पासपोर्ट र नागरिकता बुझाएको उनीहरुले बताए । उनीहरुलाई हाल राजनैतिक दलका स्थानीय नेताहरुले फोन गरेर मुद्दा मिलाउन दबाब दिन थालेको उनीहरुले बताए । उनीहरुले मुद्दालाई कमजोर पार्नका लागि विभिन्न षडयन्त्र भईरहको बताए ।
मौसमीले भनिन्, ‘अपराधीले जसरी भएपनि सजाय पाउनुपर्छ, नत्र अरु चेलिबेटीहरु फेरि बेचिने डर बढ्छ ।’ आरोपीलाई कुनैपनि हालतमा कारबाही हुनुपर्ने पक्षमा उनीहरु छन् । ‘प्रहरी जाहेरी दर्ता गरिसकेको फौज्दारी मुद्दामा मिलापत्र गर्ने र मुद्दा फिर्ता लिने भन्ने नै हुदैन’, जाहेरवालाको शंसयप्रति पत्रकारहरुलाई प्रतिक्रिया दिदै इलामका प्रहरी प्रमुख प्रहरी उपरिक्षक विपिनकुमार कर्माचार्यले प्रष्ट पारे । उनले भने, ‘प्रहरीले मुद्दा अदालती प्रकृयामा छ, अबको अन्तिम फैसला अदालतले नै गर्छ ।’