पाँचथरमा खहरेको बाढीले मच्चायो वितण्डा, करोडौंको क्षति

पाँचथर : आइतबार दिउँसो वर्षासँगैको खहरे खोलामा आएको बाढीले वितण्डा मच्चाएको छ । फिदिम नगरपालिका–२ साम्दिनमा खहरे खोलामा आइतबार बेलुकीको बाढीले सयांै रोपनी अलैंची बाली र खाद्यबाली बगाएको छ । खहरेले स्थानीय नरहरी ढुंगाना, चन्द्र ढुंगाना, नन्दबहादुर ढुंगाना, धनपति अधिकारी, हरिमाया अधिकारीको अलैची, अम्रिसो, उत्तिसका रुख र बाँससमेत बगाएको छ । 
त्यस्तै कृष्णराज पौडेल, गोविन्द अधिकारी, वृहस्पति अधिकारी, गणेश तुम्वापो, चन्द्र तुम्वापो, युवराज अधिकारीलगायतले टिप्न लागेको अलैंची, अम्रिसो, बाँस, रुखसहित धानखेत पूर्ण रुपमा बगाएको स्थानीय देवीप्रसाद दुलाले बताए । खहरेले बगाएर नन्दबहादुर ढुंगानाले १० रोपनीमा लगाएको दुई हजार कोपीका बिरुवा बगाएको स्थानीय पुरुषोतम ढुंगानाले जानकारी दिए । त्यस्तै युवराज अधिकारीको एक रोपनीमा लगाइएको टिप्ने बेला भएको अलैंची बगाएको छ । त्यस्तै सम्दिनकै गणेश तुम्बापोको २० रोपनीमा लगाएको धान खेत र १० रोपनीमा लगाएको अलैची खेती पुर्ण रुपमा बगाएको छ । आइतबारै मात्र अलैची टिप्दै गरेको र टिपेको ४ बोरा अलैचीसमेत खोलाले बगाएको तुम्बापोको भनाई छ ।
मायालुमोड–नवमीडाँडा जोड्ने सडक खण्ड अवरुद्ध
साम्दिन मायाँलुमोड–नवमीडाँडा जोड्ने सडक खहरेको बाढीले भत्कााए पछि यातायात अवरुद्ध भएको छ । खहरेको कारण बाटो बन्द भएपछि चोकमागु, सिवा, नवमीडाँडा क्षेत्रबाट दैनिक रुपमा बजारमा आउने तरकारी, दुधलगायत कृषिजन्य वस्तुहरु आउन नसकेको चोकामगुका स्थानीय रमेश तुम्बापोले जनाएका छन् । बाढीले करिब एक सय मिटर जति सडक कटान गरेपछि सो सडक निर्माण गर्न केहि समय लाग्ने स्थानीय गोपिकृष्ण अधिकारीको भनाई छ । बाढीले खहरे खोला, मझुवा खोला र होक्माखोलाको संगम स्थलमा रहेका फड्के पुलसमेत बगाएको छ ।
अहिलेसम्म यस्तो बाढी देखेकै थिएनौ 
स्थानीहरुको भनाइमा खहरेखोला आएको बाढीले गाउँमा नै भुईंचालो जस्तो जमिन हल्लिएको छ । जीवनमा यो कुलो जत्रो खोलामा यत्रो बाढी आएको नदेखेका स्थानीय ९० वर्षिय दधिराम अधिकारीको भनाई छ । हामी स्कुल बिदा गर्न तरखरमा थियौ । एक्कासी भुइनै हल्लिने गरी गड्याङ गर्यो यत्रो बाढी आएको हो भनेर सोचेका पनि थिएनौ । काबेली खोलाभन्दा ठुलो बाढी आयो खोला छेउमा रहेको श्री कालिका माविकी शिक्षिका कमला पौड्यालले सुनाइन् ।
फिदिम बजारका दुई घर जोखिममा
आइतबारको वर्षाका काराण फिदिम बजारका दुई वटा घरसमेत जोखिममा परेका छन् । फिदिम १ चौतारेमार्गका सुकवीर नेम्वाङ र देउबहादुर सार्कीको घर जोखिममा रहेको प्रहरी नायव उपरिक्षक बामदेव गौतमले जानकारी दिए । जोखिममा रहेका उनीहरुलाई आइतबार नै उद्धार गरेको प्रनाउ गौतमले बताए ।
खानेपानी हाहाकार
बढीले दर्जनौ खानेपानीको मुलसमेत पुरेको छ । खानेपानीको मुहानबाट टाँगेका दर्जनौ पानीका पाइप बगाएको स्थानीयको भनाई छ । 
गाँउ माथि कोइरी र ढुंगा खानीबाट उर्लिएर आएको भेलले साम्दिनको खहरे खोला क्षेत्रका तेर्सोकुलो, ओदिन कुलो, साम्दिन कुलो, मुलुके कुलो, आहाले कुलोलगायत दर्जन कुलोका मुहान बगाएको छ । भने साम्दिन क्षेत्रको खानेपानीको मुहान पूर्ण रुपमा विच्छेद भएको स्थानीय गोपिकृष्ण अधिकारीले बताए । 
स्थानीयहरुले सोमबार नै फिदिम २ नं. वडा कार्यालयमा बाटो तथा खानेपानीको पाइप मर्मतको प्रकृया प्रारम्भ गर्न मागेका छन् ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता