नेपालमा कारागार व्यवस्थापन

  • भक्तबहादुर खड्का

"HE WHO OPENS THE SCHOOL DOOR, CLOSE A PRISION"  – भिक्टर ह्युगो
कारागार व्यवस्थापनः परिचय 
कारागार व्यवस्थापनको अवधारणासँग परिचित हुनु अगावै कारागारको अवधारणासँग परिचित हुन आवश्यक छ । कारागार व्यवस्थापनका लागि हाल प्रचलित कारागार ऐन २०१९ बमोजिम कारागार भन्नाले कैदी वा थुनुवालाई कैद गर्नको निमित्त बनेको वा तोकिएको घर कोठा वा त्यस्तै अरु कुनै ठाउँ र त्यस्तो घर कोठा वा ठाउँले चर्चेको जग्गालाई समेत जनाउँछ । कारागारलाई एक सुधार गृहको रुपमा रुपान्तरण गर्न अन्तरसम्बन्धित विविध पक्षहरु जस्तैः नीति, नियम, कानुन, संगठन, जनशक्ति, सुरक्षा, बजेट, पर्यावरण, विविधता, सामाजिक–सांस्कृतिक विषय, कैदी–बन्दीको आधारभुत आवश्यकता, हक अधिकार, क्षमता विकास आदिको विषयमा उचित तबरले योजना निर्माण गर्ने, संगठन संरचना निर्माण गर्ने, जनशक्ति परिचालन गर्ने, निर्देशन नियन्त्रण गर्ने, समन्वय गर्ने र प्रतिवेदन गर्ने जस्ता कार्य गर्दै कारागारमा बस्ने कैदीहरुलाई एक सुधारिएको असल नागरिकका रुपमा समाजमा हस्तान्तरण गर्ने कार्य नै कारागार व्यवस्थापन हो । 
अपराधीलाई सभ्य, सुसंस्कृत, उत्पादनशील र कानुनको पालना एवं सम्मान गर्ने नागरिकमा रूपान्तरण गरेर समाजमा पुनःस्थापित र पुनःएकीकरण गर्न र सुरक्षित र समुन्नत समाजको निर्माण गर्ने वृहत्तर राष्ट्रिय उद्देश्यको परिपूर्ति गर्ने काममा आइपर्ने चुनौतीहरूको सामना गर्न सहयोग पु¥याउन सक्षम र मानवोचित वातावरणमा व्यवस्थित कारागार प्रणालीको स्थापना गर्ने कारागार व्यवस्थापनको उद्देश्य हो । नेपालमा कारागार व्यवस्थापनको विषय राष्ट्रिय प्राथमिकतामा नपरेको, झन्झटिलो, समस्यामुलक र चुनौतीपूर्ण कार्यका रुपमा लिने गरिएको पाईन्छ साथै कैदी–बन्दी भाग्न नपाउने गरी सामान्य व्यवस्थापन गरि कारागार व्यवस्थापनमा सफल भएको अनुभुत गर्ने परिपाटी विद्यमान देखिन्छ ।  
नेपालमा कारागार व्यवस्थापनको अवधारणात्मक पृष्ठभुमि 
विश्वमा सर्वप्रथम सजायको रुपमा जेल प्रयोग गर्ने रोमनहरु थिए उनीहरुले धातुका पिँजडा र भवनहरुको अन्डर ग्राउन्ड तलालाई जेलको रुपमा प्रयोग गर्थे । Ancus Marcius  ले स्थापना गरेको लगभग ६४० ई.पू. तिरकोMamertine Prison त्यसताका प्रसिद्ध रहेको पाइन्छ भने नेपालमा कारागार वा जेलको इतिहास वि.स. १९७१ बाट शुरु भएको हो । नेपालको पहिलो कारागार सदरजेल हालको कारागार कार्यालय काठमाडौं, जगन्नाथदेवल हो । २०१९ सालमा कारागारसम्बन्धी व्यवस्था गर्न कारागार ऐन २०१९ निर्माण भै उक्त ऐनको दफा २७ले दिएको अधिकार प्रयोग गरी कारागार नियमावली २०२० तर्जुमा भै लागू भएको छ । कारागार व्यवस्थापन तथा प्रशासन सम्बन्धी कार्यलाई प्रभावकारी एवं सवल बनाउन २०५० साल श्रावण १ गतेदेखि गृह मन्त्रालय अन्तर्गत केन्द्रिय तहमा कारागार व्यवस्थापन विभागको स्थापना भै सञ्चालनमा आएको हो । हाल धनुषा, बारा र भक्तपुर ३ जिल्ला बाहेकका ७२ जिल्लाामा कारागार कार्यालयहरु रहेका छन । दाङ जिल्लामा घोराही र तुलसीपुर दुई ठाउँमा तथा काठमाडौंमा जगन्नाथदेवल र डिल्लीबजार दुई ठाउँमा एवम अन्य ७० जिल्लाामा एक एकवटा गरी हाल नेपालमा कुल कारागार संख्या ७४ रहेको छ । नख्खुमा मनोसामाजिक अस्पतालको निर्माण कार्य भैरहेको र बाकेंको गनापूरमा खुल्ला कारागार निर्माण कार्य भैरहेको छ ।
कारागार व्यवस्थापन विभागको समन्वयात्मक भूमिका र प्रमुख जिल्ला अधिकारीको प्रत्यक्ष रेखदेख एवं नियन्त्रण र जेलरको प्रत्यक्ष जिम्मेवारीमा कारागारहरूलाई व्यवस्थित गर्ने काम भइरहेको छ भने विभाग अन्तर्गत कारागार कार्यालयहरू रहेका छन । त्यसरी नै बन्दी गृहको आन्तरिक प्रशासन बन्दीहरू मध्येबाटै नियुक्त गरिएका चौकिदार, नाइके, सह–नाइकेको रेखदेखमा सञ्चालित छ भने सुरक्षा व्यवस्था नेपाल प्रहरी र संवेदनशील कारागारहरूमा सशस्त्र प्रहरी बलको टुकडी खटाउने परिपाटी सुरू भएको छ । कारागारहरूको संगठन संरचनाभित्र हाल विभिन्न श्रेणी र पदका कुल ६८८ कर्मचारीहरू कार्यरत रहेका छन । त्यस्तै कारागारहरूमा बन्दी राख्ने क्षमता बारे अहिलेसम्म आधुनिक मापदण्ड तयार भएको छैन तापनि हालकै अवस्थामा १०,००० कैदी बन्दीहरू राख्न सक्ने क्षमता कारागारहरूमा रहेको देखिन्छ भने हाल नेपालका विभिन्न कारागारहरुमा २०७४ असोज मसान्त सम्ममा १८,८०८ कैदीबन्दीहरु राखिएका छन् । नेपालका धनुषा, भक्तपुर र बारा जिल्लामा कारागारहरू स्थापना भएका छैनन, कास्कीको साराङकोट, मोरङको विराटनगर र भक्तपुरमा बाल सुधार गृह सञ्चालनमा रहेका छन् । 
यसर्थ कारागारको अवधारणात्मक विकासलाई हेर्दा कैदीबन्दीको संख्यालाई मध्यनजर गर्दै केही हद सम्म क्षमता विस्तार भैरहेको, खुल्ला कारागार र सामुदायिक सेवालाई आत्मसाथ गर्न खोजिए पनि सुधारको दृष्टिकोणबाट हेरिएको पाईदैन । कारागार व्यवस्थापनको आधुनिक अवधारणामा कैदीबन्दीलाई भाग्न उम्कन नदिइ चौघेरा भित्र राख्नु मात्र होइन कि अपराध प्रमाणित भई जेलमा आएका कैदीहरुलाई स्वस्थ्य र सुरक्षित राखी गुणस्तर बुद्धि गर्दै असल सामाजिक प्राणीका रुपमा रुपान्तरण गरी समाजमा हस्तान्तरण गर्ने सम्मका सम्पूर्ण क्रियाकलापहरु पर्दछन् । 
नेपालमा कारागार व्यवस्थापनका पक्षहरु र विद्यमान अवस्था
समाजमा सामाजिक मूल्य र मान्यता, संस्कृति, प्रथा र परम्परा, मानवता तथा कानुन विरुद्ध कार्य गरी दोषी ठहर भै समाजमा बस्न अयोग्यहरुलाइ जेलको पर्खाल भित्र सुधारात्मक व्यवस्थापन गर्ने कार्य वास्तवमै चुनौतीपूर्ण छ तसर्थ यस कार्यमा बहुआयमिक तथा बहुपक्षिय समन्वयात्मक व्यवस्थापन जरुरी छ । नेपालमा कारागार व्यवस्थापनका महत्वपूर्ण पक्ष र नेपालको विद्यमान व्यवस्थालाई निम्न बमोजिम चित्रण गर्न सकिन्छ । 
क. नीतिगत/कानुनी व्यवस्थापन
कारागार व्यवस्थापन कार्यलाई नियमन तथा नियन्त्रण गर्नका लागि नीतिगत तथा कानुनी रुपमा व्यवस्थित गर्न अपरिहार्य हुन्छ । संविधान, आवधिक योजना, सरकारका नीतिहरु, ऐन, नियम र कार्यविधिहरुले व्यवस्थापकिय कार्यमा नियमनात्मक भुमिका निर्वाह गर्दछन । नेपालमा हाल नेपालको संविधानले परिकल्पना गरे अनुरुप नेपालले अवलम्बन गरेका दण्डहीनता, कानुनी शासन, स्वतन्त्र र सक्षम न्याय प्रणाली, समतामुलक न्यायको नीति अन्र्तगत हाल कारागार ऐन २०१९, कारागार नियमावली २०२०, बन्दीको बडापत्र २०६०, सजाय माफी मुल्तबी कम गर्ने सम्बन्धी कार्यविधि २०७१ र कारागार व्यवस्थापन कार्यविधि २०७३ प्रचलनमा रहेका छन् । 
ख. भौतिक व्यवस्थापन 
कारागार व्यस्थापनमा भौतिक सेवा सुविधा र सामग्रीको पर्याप्तता अत्यावश्यक हुन्छ । कैदीबन्दी भाग्न वा उम्कन नपाउने प्रकारको बलियो पेरिमिटर, तारबार, सुरक्षाकर्मीको लागि बुर्जा, डिउटी पोष्ट र आवास गृह, कैदीबन्दी बस्नको लागी आवास भवन, सुत्नका लागि पर्याप्त खाटहरु, औषधोपचारका लागि औषधी र बिरामीको चेकजाँचका लागि डिस्पेन्सरी, खाद्यान्न संचयको लागि गोदाम, खाना पकाउन खानका लागि भान्छा घर, अदालत र अस्पताल आवत–जावतका लागि सवारी साधन, खेलकुदका लागी स्थान र सामग्री, अध्ययनका लागि पुस्ताकालय र पत्रपत्रिका, संचारका साधनहरु जस्तै टेलिभिजन, रेडियो, उद्यमका लागि आवश्यक कच्चा पदार्थ, बिजुली बत्ती, खानेपानी, सुत्नका लागि सिरक डसना लगायतका समृद्ध मानव जीवन यापनका लागि आवश्यक सम्पूर्ण भौतिक सेवा सुविधा र सामग्रीको व्यवस्थापन नै भौतिक व्यवस्थापन अन्र्तगत पर्दछन् । नेपालमा केही कारागारहरुमा बाहेक माथि उल्लेखित भौतिक सेवा सुविधा तथा सामग्रीको अभाव प्रष्टै देखिन्छ तसर्थ कैदीबन्दीको आधारभुत मानवोचित जीवनयापनका लागि समेत ध्यान दिन सकिएन भने सुधार र रुपान्तरण त असम्भव प्रायः नै हुन्छ । 
ग. बजेट व्यवस्थापन 
वार्षिक रुपमा बढ्दो कैदीबन्दीको संख्याको व्यवस्थापनका लागि सोही अनुपातमा बजेटको आयतन बढ्नु स्वाभाविक हो तर सिमित श्रोत र साधनले असिमित आवश्यकता पुरा गर्नु पर्ने चरम बाध्यता सबै कारागार कार्यालयमा रहेको छ । एकातर्फ मुलुकको पुँजीगत बजेट खर्च हुन नसकि वर्षेनी फ्रिज भैरहेको यर्थाथ हामी सामु छ भने अर्कोतर्फ कारागार व्यवस्थापनका लागि भौतिक संरचनाको निर्माणका लागि बजेट अभावका कारण चरम तनाव भोग्नुपर्ने नियति वा विडम्बना पनि हामी सामु नै छ । सुधार गृहको अवधारणामा कारागार सञ्चालन तथा व्यवस्थापन गर्नका लागि मुख्य समस्याको विषय नै न्युन बजेट तथा बहुजनको बहुआयामिक आवश्यकता बीचको असन्तुलन नेपालका सम्पुर्ण कारागार कार्यालयहरुको विशेषता नै बन्न पुगेको छ । 
घ. जनशक्ति व्यवस्थापन
सम्पुर्ण श्रोत साधनको परिचालनकर्ताको रुपमा मानवश्रोत रहने हुनाले कारागार व्यवस्थापनमा यसको भुमिका अहंम रहने गर्दछ । कारागार व्यवस्थापनमा जनशक्ति भन्नाले कारागार कार्यालयहरुमा दैनिक कार्य गर्ने निजामती कर्मचारी, कारागार सुरक्षा गार्ड, कतिपय कारागारमा रहेका सशस्त्र प्रहरी बल र आंशिक रुपमा कारागारमा रहेका उद्यमशील कैदीबन्दी समेतलाई सम्झनु पर्छ । मानवश्रोत व्यवस्थापनका सिद्धान्त बमोजिम जनशक्ति व्यवस्थापन गरेमा मात्र उद्देश्य प्राप्त हुने कुरा सर्वविदित हुदाँहुदै पनि राष्ट्रको प्राथमिकतामा कारागार सुधार नपरेजस्तै राष्ट्रसेवकहरु पनि कारागारमा पदस्थापना वा सरुवा भै आउन नचाहने हाम्रो देशको यथार्थ हो । नेपालका कारागारमा चौबीसै घण्टा आकस्मिक सेवाका रुपमा कार्य गर्नुपर्ने तर राशन वा प्रोत्सहान भत्ता समेत नहुँदा राष्ट्रसेवकहरु निराश भैरहेको अवस्था छ साथै सट्टा बिदाको समेत व्यवस्था नगरिदिनु नेपाल सरकारको लाचारीपन नै हो भन्दा अत्युक्ति नहोला । 
ङ. पर्यावरणीय व्यवस्थापन 
कारागार व्यवस्थापनमा पर्यावरणीय व्यवस्थापन झनै महत्वको विषयको रुपमा रहने गर्दछ । कारागारमा रहेको आर्थिक, सामाजिक, सांस्कृतिक र वातावरणीय पक्षको उचित व्यवस्थापन एक चुनौतीपुर्ण कार्य हो । बन्दीगृह भित्रको कैदीबन्दीहरुको सामाजिक सद्भाव, मेलमिलाप, शिक्षा, स्वास्थ्य, धर्म संस्कृतिको सम्मान, सरसफाइ तथा सुधार लगायत विविध पक्षहरुको वातारवरण तथा कारागार व्यवस्थापनमा संलग्न सम्पुर्ण राष्ट्रसेवक बीच पनि पारस्पारिक विश्वास, सहयोग, सदभाव, समन्वय र मेलमिलापको वातावरण बनाउन आवश्यक हुन्छ तब मात्र सफल कारागार व्यवस्थापन सम्भव छ । तर नेपालका अधिकांश कारागारहरुको पर्यावरणीय अवस्थालाइ हेर्दा सकारात्मक हुनसक्ने ठाउँ अत्यन्त न्युन रहेको छ । 
च. सुरक्षा व्यवस्थापन
कारागारमा रहेका सम्पुर्ण कैदीबन्दीहरुलाई सुरक्षित साथ राख्ने तथा त्यहाँ कार्यरत सम्पुर्ण राष्ट्रसेवकहरुको सुरक्षाको उचित प्रवन्ध नै सुरक्षा व्यवस्थापन हो । भौतिक सुरक्षाका साथै स्वास्थ्य सुरक्षा, खाद्य सुरक्षा, सुचना सुरक्षा र जीवनको सुरक्षा जस्ता कार्य गर्नुपर्ने हुनाले एकदमै महत्वपूर्ण विषय हो सुरक्षा व्यवस्थापन । मानवोचित जीवनयापनका लागी नेपालका कारागारहरुमा सुरक्षा व्यवस्थापनको क्षेत्रमा प्रशस्त प्रयासहरु भएपनि पर्याप्त हुन नसकिरहेको अवस्थामा यी प्रसासहरुलाई निरन्तरता भन्दा पनि सुधारात्मक दृष्टिकोणबाट आत्मसाथ गरिनु जरुरी देखिन्छ ।  
छ. विविधता व्यवस्थापन 
कारागार व्यवस्थापनको सबैभन्दा जटील, चुनौतीपुर्ण, संवेदनशील र अपरिहार्य कार्य हो कारागारको विविधता व्यवस्थापन । कारागारमा रहेका कैदीबन्दी लगायत व्यवस्थापनमा कार्यरत राष्ट्रसेवकहरुमा समेत रहेको आर्थिक, सामाजिक, धार्मिक, सांस्कृतिक, शैक्षिक, दृष्ट्रिकोण, पृष्ठभुमि, उद्देश्य र व्यवहार लगायतमा रहेको फरकपनलाई सामञ्जस्य गरि साझा लक्ष्य र उद्देश्यमा केन्द्रित गर्दै सदभाव, विश्वास र मेलमिलापको वातावरण बनाउने कार्य नै विविधताको व्यवस्थापन भएकोले यसमा कुशल व्यवस्थापकिय सीपको जरुरत पर्दछ । यो एक मनोसामाजिक कार्य पनि हो । नेपालका अधिकांश कारागारहरुमा यस विषयमा खासै महत्व दिइएको  पाईदैन तर विविधताको व्यवस्थापन बिनाको कारागार व्यवस्थापन अपुरो रहने गर्दछ । 
ज. परिस्थितिजन्य व्यवस्थापन 
कारागारहरुमा उचित व्यवस्थापनको अभावमा जुनसुकै बेला जस्तोसुकै परिस्थिति नआउला भन्न सकिन्न । विश्वका विभिन्न देशहरुका कारागारमा समय समयमा आएका अवाञ्छित परिस्थितिहरु जस्तैः आगलागी, झडप, झाडापखाला, महामारीबाट हुने जनधनको विनाश प्रमुख हुन । यस्ता परिस्थितिहरुलाई मध्यनजर गर्दै नेपालका कारागारहरुमा पनि परिस्थितिजन्य घटनाहरुको पुर्वानुमान र आवश्यक व्यवस्था गरी परिस्थितिजन्य व्यवस्थापन गर्न अत्यावश्यक भए पनि बजेट अभावको कारण दशाई महत्व दिएको पाईदैन ।  नेपालमा कारागार व्यवस्थापनमा रहेका चुनौतीहरु
कारागार व्यवस्थापन आफैमा एक जटील र चुनौतीपुर्ण कार्य हो । व्यवस्थापकीय कुशलताको अभाव, राज्यको प्राथमिकताको अभाव, न्युन बजेट, अस्थिर जनशक्ति आदिका कारणले गर्दा नेपालका कारागार व्यवस्थापन कार्य झनै जटील र चुनौतीयुक्त बनेको छ । नेपालका कारागार व्यवस्थापनलाई उदाहरणीय बनाउन यस क्षेत्रमा रहेका केही प्रमुख चुनौतीहरु यस प्रकार उल्लेख गर्न सकिन्छ । 
कारागारलाई बन्दीगृहको रुपमा नभई सुधारगृहको रुपमा आत्मसाथ गर्ने विषय । कारागार सुधार राज्यको प्रमुख प्राथमिकतामा राख्ने विषय । कारागार व्यवस्थापनका विविध पक्षहरुलाई सम्बोधन गर्ने गरी पर्याप्त बजेट, कुशल जनशक्तिको प्रवन्ध गर्ने विषय । खुला कारागार र सामुदायिक सेवाको अवधारणालाई अवलम्बन गर्दै कैदीबन्दीलाई उद्यमशील बनाउदै उत्पादकत्व बृद्धि गर्ने विषय । कारागारमा विद्यमान विविधताको कुशल व्यवस्थापन गर्दै सुधारिएको व्यक्ति समाजमा हस्तान्तरण गर्ने विषय । 
नेपालमा कारागार व्यवस्थापनमा रहेका समस्याहरु
नेपालको सन्र्दभमा कारागार व्यवस्थापनको क्षेत्रमा प्रशस्त प्रयास नभएका भने होइनन् तर सही दिशामा जति हुनु पर्ने हो  पर्याप्त हुन सकेनन् । सुधार गृहको रुपमा विकास गर्दै थप अध्ययन् अनुसन्धान हुनु पर्नेमा थुनुवा वा कुरुवा घरको रुपमा वा परम्परागत शैलीमा मात्र सञ्चालित हुदै आएको पाईन्छ । दोषी वा अपराधी व्यक्ति आफ्नो गल्ती वा कमजोरीले मात्र अपराधी हुदैन त्यसमा उ हुर्केको समाज, उसका अभिभावक, उसलाई अपराध गराउन बाध्य बनाउने परिस्थिति पनि उत्तिकै जिम्मेवार हुन्छन् तसर्थ सभ्य समाज निर्माणमा कैदीबन्दीको बहुआयमिक सुधार अपरिहार्य हुने हुनाले यस क्षेत्रमा रहेका समस्याहरु पहिचान गरि समाधानका विकल्प खोज्न जरुरी भैसकेको परिप्रेक्ष्यमा नेपालका कारागार व्यवस्थापनमा निम्न समस्याहरु रहेको पाईन्छ । 
कारागार ऐन र नियमावली हालको परिवर्तन अनुकुल संसोधन हुन नसक्नु । अधिकांश कारागारका भौतिक संरचनाहरु जीर्ण अवस्थामा सञ्चालित हुनु । पर्याप्त बजेट र कुशल व्यवस्थापक तथा सुरक्षाकर्मीको व्यवस्था हुन नसक्नु । कैदीबन्दीको आधारभुत मानवोचित जीवनस्तर कायम गर्न नसक्नु । सुधार गृहको अवधारणामा कारागार सञ्चालन गर्न नसक्नु । कारागार व्यवस्थापनमा कार्यरत जनशक्तिलाई मौद्रिक तथा गैर मौद्रिक तवरले प्रोत्साहित गर्न नसक्नु । कारागार व्यवस्थापनका विविध पक्षहरुलाइ उचित रुपमा सम्बोधन गर्न नसक्नु । कारागार सुधार राज्यको प्राथमिकतामा पर्न नसक्नु । 
अबको बाटो 
कुशल व्यवस्थापकीय सीपको प्रयोगद्धारा कारागार सुधार आज मुलुकको अपरिहार्य आवश्यकता भैसकेको विभिन्न अध्ययन् अनुसन्धानको प्रतिवेदनले प्रस्तुत गरिसकेको छ । सफल कारागार व्यवस्थापनका विविध पक्षहरुको उचित सम्बोधन गरि नेपाली सन्र्दभमा तपसिलका उपायहरु अवलम्बन गर्न सकेमा नेपालका कारागार सुधारिएको रुपमा पाउन सकिन्छ ।  कारागार व्यवस्थापनलाई लोकतान्त्रिक मुल्य मान्यता अनुरुप संचालन गर्न नयाँ कारागार ऐन र नियमावली निर्माण गरि लागु गर्ने । कारागारलाई सुधार गृहको अवधारणामा सञ्चालन गर्न आमसुधारका कार्यक्रमहरु विस्तार गर्ने । विद्यमान जिर्ण भौतिक संरचनाको पुनःनिर्माण गर्ने । कारागारमा कार्यरत जनशक्तिलाई प्रोत्साहानका कार्यक्रम ल्याउने साथै कैदीबन्दीको राशन, भत्ता, कपडा र स्वास्थ्योपचारको रकममा बृद्धि गर्ने । कैदीबन्दीको सामाजिक सुरक्षामा विशेष ध्यान दिन आवश्यक प्रवन्ध गर्ने । कार्यरत कर्मचारीलाई कुशल व्यवस्थापकीय सीप विकासका लागि तालिम र कैदीबन्दीको उद्यमशीलता विकासका लागि प्रभावकारी तालिमको व्यवस्था गर्ने । कारागार सुधारलाई मुलुकको विकासको एक सुचकका रुपमा आत्मसाथ गरी राज्यको प्राथमिकताको विषय बनाउने ।
निष्कर्ष 
कारागारमा राखिने कैदीबन्दी पनि मानव हुन, हाम्रो समाजका सदस्य हुन । अपराधी निर्माणमा स्वयं व्यक्ति मात्र दोषी हुदैन उसलाई हुकाउने परिवार, समाज र राष्ट्र पनि उत्तिकै जिम्मेवार हुन्छ । भिक्टर ह्युगोको भनाइ जस्तै विद्यालयको ढोका बढी भन्दा बढी खोली जेलको ढोका बन्द गर्ने राज्यको यस क्षेत्रको गन्तव्य हुनुपर्छ । कारागार सरकारको एक उपअंग, राष्ट्रविकासको सुचक र मानव अधिकारको सम्मान, संरक्षण र परिक्षण गर्ने एक स्थल पनि हो तसर्थ कारागारमा मानवोचित वातावरणको निर्माण, सुरक्षाको पर्याप्त प्रबन्ध, आमसुधारका कार्यक्रम, कुशल व्यवस्थापकको पदस्थापना र राज्यले पहिलो प्राथमितामा राखी सुधार गृहको रुपमा नर्वेको जस्तो नमुना कारागार व्यवस्थापन गर्न बिलम्ब भैसकेको छ ।  
सन्दर्भ सामग्रीहरुः नेपालको संविधान २०७२, कानुन किताब व्यवस्था समिति, काठमाडौं । कारागार ऐन २०१९ तथा कारागार नियमावली २०२०, कानुन किताब व्यवस्था समिति, काठमाडौं । कारागार व्यवस्थापन कार्यविधि २०७३, कारागार व्यवस्थापन विभाग, कालिकास्थान काठमाडौं । कारागारको भौतिक र व्यवस्थापकिय सुधार कार्यदलको अन्तरिम प्रतिवेदन २०६८  www.dopm.gov.np . www.google.com -लेखक कारागार कार्यालय, इलामका प्रमुख हुन् ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता