
इलाम, १२ मंसिर : नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले निर्वाचनपछि बाम गठबन्धनले बहुमत ल्याउने र विकास निर्माणले तिव्रता पाउने बताएका छन् । मंगलबार माइजोगमाई गाउँपालिकाको नयाँबजारमा भएको आमसभालाई सम्बोधन गर्दै उनले आफ्नो म्ख्य एजेण्डा नै विकास निर्माण रहेको बताए ।
संयुक्त बाम निर्वाचन परिचालन कमिटी माइजोगमाई गाउँपालिकाले कार्यक्रम आयोजना गरेको थियो । इलाम क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवारसमेत रहेका नेता खनालले गठबन्धनलाई भोट हाल्न अनुरोध समेत गरे । कार्यक्रममा संयुक्त बाम गठबन्धन निर्वाचन क्षेत्र नम्वर एकको १ की प्रत्यक्ष तर्फकी उम्मेद्धार खिनु लङ्वा (लिम्बू) माओवादी केन्द्रका प्रदेशसभाका लागि समानुपातिक उम्मेद्धार किरण सुनुवार, एमालेबाट प्रदेशसभाका लागि समानुपातिक उम्मेद्धार ध्रुव श्रेष्ठ लगायतले मन्तब्य राखेका थिए ।
त्यस्तै इलाम क्षेत्र नम्वर दुई प्रतिनिधि सभा सदस्य निर्वाचनमा एमालेबाट मनोनयन दर्ता गराएका सुवासचन्द्र नेम्वाङ पनि चुनाव प्रसार प्रचारमा ज्टेका छन् । उनले मंगलबार इलाम नगरपालिका वडा नम्वर पाँच विब्ल्याँटेमा भएको चुनावी सभालाई सम्वोधन गर्दै अबको निर्वाचन संविधान कार्यान्वयन गराउने मुख्य थलो भएको बताए । चुनावपछि स्थिर सरकार बन्ने र देशमा विकास निर्माणले गति पाउने उनको भनाई थियो ।