
काठमाडौं १२ मङ्सिर। कोकाकोला नेपालले नेपाली बजारमा किन्ले ब्राण्डको पानी सार्वजनिक गरेको छ । उच्च गुणस्तरको शुद्ध र सुरक्षित पिउने पानी उपलब्ध गराउने उद्देश्यले किन्ले उत्पादन थालेको कम्पनीले जनाएको छ ।
मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा किन्लेका ब्राण्ड एम्बेसडर नायक राजेश हमाल, कोकाकोला नेपालका कन्ट्रि डाइरेक्टर अम्बुज सिंह, बोटलर्स नेपालका प्रबन्ध निर्देशक पुनित भार्शलगायतले संयुक्त रुपमा किन्ले सार्वजनिक गरे ।
कार्यक्रममा वाटर एडका सिनियर कार्यक्रम प्रबन्धक तथा पानी विज्ञ कबिन्द्र पुडासैनीले कोकाकोलासँगको साझेदारीमा वर्षातमा परेको पानी जमिनमुनि पठाएर रिचार्ज गर्न सहयोग पुग्ने काम भइरहेको बताए ।
कोकाकोला नेपालका कन्ट्रि डाइरेक्टर अम्बुज सिंहले किन्ले ब्राण्ड प्रख्यात रहेको दाबी गर्दै नेपालमा समेत यसले राम्रो बजार लिने विश्वास गरे । नेपाली बजारमा आवश्यकता अनुसार प्रोडक्टहरु ल्याउन पाएकोमा उनले खुसी व्यक्त गरे । किन्ले अन्तर्राष्ट्रिय मापदण्डअनुसार उत्पादन गरिने उनले बताए ।
किन्लेका ब्राण्ड एम्बेसडर नायक राजेश हमालले मानिस स्वस्थ रहनका लागि पानीको महत्वपूर्ण भूमिका हुने भन्दै किन्ले जस्तो विश्वसनीय पानीको ब्राण्ड एम्बेसडर बन्न पाएकोमा खुसी व्यक्त गरे । किन्ले शुद्ध र सुरक्षीत रहेकामा आफू विश्वस्त रहेको र ग्राहकहरुलाई पनि विश्वस्त रहन उनको आग्रह छ ।
कम्पनीका अनुसार सार्वजनिक गरिएकोे पानी ८ चरणमसम्म प्रोसेसिङ गरेर बजारमा उपलब्ध गराइनेछ । पानी नेपालमै उत्पादन गरिएको उच्च गुणस्तरको रहने कम्पनीको दाबी छ । एक लिटर साइजमा उपलब्ध हुने उक्त पनीको बजार मूल्य कम्पनीले २५ रुपैयाँ तोकेको छ ।