इलाममा लोपोन्मुख लेप्चा समुदायको मागः शिक्षा, स्वास्थ्य र रोजगारी

इलाम,  मंसिर: इलामको पूर्वी क्षेत्रमा बसोबास गर्ने लोपोन्मुख लेप्चा समुदायले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनबाट निर्वाचित हुने प्रतिनिधिले शिक्षा, स्वास्थ्य र रोजगारीको विषयलाई प्राथमिकता दिनुपर्ने माग राखेका छन् । ‘शिक्षा, स्वास्थ्य, रोजगारी हामी लेप्चा समुदायको माग हो,’ नयाँशक्ति नेपालका इलाम क्षेत्र नं १ प्रतिनिधिसभातर्फका उम्मेदवार मानवीर लेप्चाले भने, ‘आफ्नो पार्टीका तर्फबाट यी एजेण्डालाई प्राथमिकता दिनेछौँ ।’ वर्षाैंदेखि पूर्व क्षेत्रमा बसोबास गरिरहेका यो समुदायका बासिन्दाले शिक्षा, स्वास्थ्यको अवस्था राम्रो नहुँदा पछि परिरहेको बताउँदै उनीहरूले यस्तो माग गरेका हुन् ।
 ‘लेप्चा समुदायलाई सामाजिक सुरक्षा भत्ता मात्र होइन, शिक्षा, स्वास्थ्य र रोजगारीको ग्यारेन्टी हुनुपर्छ,’ सूर्योदय नपा–६ का रोशन लाप्चाले भने । ‘करिब चार हजारको हाराहारीमा जनसंख्या रहेको लेप्चा जातिले पनि अवसर र मौका पाउने हो भने लेप्चा समुदायले पनि देशमा केही गर्न सक्छन्’, टीकाराम लाप्चा भन्छन्, ‘जसले जिते पनि यो समुदायमा शिक्षा, स्वास्थ्य र बेरोजगारीको समस्या समाधान हुनुपर्छ ।’
पहिलो संविधानसभामा लेप्चा समुदायबाट नेपाली काँग्रेसले टीकाराम लाप्चा र नेकपा (एमाले)ले शकुन्तला लाप्चालाई समानुपातिकबाट सभासद् बनाएको थियो । तर अहिले यो समुदायबाट ठूला दलबाट उम्मेदवारको अवसर नपाउँदा लेप्चा समुदाय खिन्न छन् ।
निर्वाचनले लेप्चा समुदायलाई पनि छपक्कै छोएको छ । नयाँशक्तिबाट उम्मेदवार बनेका मानवीर लेप्चा आफ्ना एजेण्डा लिएर घरदैलो अभियानमा जुटिरहेका छन् । उनले भने, ‘आफ्नो पार्टीले लेप्चा समुदायमा शिक्षा, स्वास्थ्य सेवाको पहुँच अभिवृद्धि गर्ने खालका नयाँ योजना ल्याउँछ ।’ लेप्चा समुदायका नागरिक पनि अन्य समुदायजस्तै विभिन्न दलमा आबद्ध छन् । लेप्चा समुदायले नागरिकलाई जनचेतना, स्वास्थ्य, शिक्षामा सहुलियत, युवालाई रोजगारी लगायतको अवसर दिनुपर्नेमा उहाँले जोड दिनुभयो । सरकारले भत्ता दिएर समुदायलाई केही हुँदैन, घरघरमा रोजगारी, राज्यको मूलधारमा प्रतिनिधित्व र जनचेतना नै उनीहरूको प्रमुख माग छ । 
यस समुदायमा उच्च शिक्षा हासिल गर्नेको सङ्ख्या एकदमै कम रहेको लाप्चा उत्थान मञ्चका अध्यक्ष वीरबहादुर लेप्चाले बताए । यस समुदायबाट करिब तीनसय जनाले एसएलसी र करिब १० जनाले स्नातकोत्तर गरेको उनले जानकारी दिए । लाप्चा समुदायको उत्थानमा आवाज उठाउने अगुवा हुन् या नयाँ पिँढीका युवक–युवती, सबैको एउटै भनाइ छ, शिक्षाको चेतना, रोजगारीको अवसर आवश्यक छ । ‘विसं २०४६ देखि अहिलेसम्म आफ्नो समुदायको उत्थानका लागि पटक–पटक चेतनामूलक कार्यक्रम र आन्दोलन गरेर आइयो, समुदायको आर्थिक, राजनीतिक, सामाजिकलगायत अवस्था पनि पहिलाको तुलनामा निकै उठेको छ,’ वीरबहादुर लेप्चाले भने ।
राज्यको पुनःसंरचना गर्दा कोल्बुङ, जिर्मले, इरौँटार लगायतका साबिकका गाविसलाई समेटेर रोङ गाउँपालिका नामाकरण गरिएको छ । लेप्चा भाषामा रोङ भनेको ‘लेप्चा’ हो । इलामको सूर्याेदय नगरपालिका, माईजोगमाई र रोङ गाउँपालिकामा लेप्चा समुदायको बसोबास रहेको छ । रासस
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता