मुलुकभर ६५ प्रतिशत बढी मतदान, दुई केन्द्रको स्थगित

काठमाडौँ । पहिलो चरणमा आज भएको प्रतिनिधिसभा प्रदेशसभा निर्वाचनमा औषत ६५ प्रतिशत मतदान भएको छ । निर्वाचन आयोगका अनुसार पहिलो चरणमा भएको निर्वाचनमा मुलुकभर ६५ प्रतिशत मत खसेको छ ।
बाजुरामा सबैभन्दा बढी ८० प्रतिशत मतदाताले मतदान गर्नुभएको आयोगले जनाएको छ । मुलुकभरबाट मतदानको विस्तृत विवरण आउने क्रम जारी रहेको छ । उच्च पहाडी र हिमाली ३२ जिल्लामा आज पहिलो चरणको निर्वाचन भएको हो भने बाँकी ४५ जिल्लामा मंसिर २१ गते निर्वाचन हुँदैछ ।
दुई केन्द्रको मतदान स्थगित
पहिलो चरणको आइतबार भएको मतदानमा दुई वटा केन्द्रको मात्र मतदान स्थगित भई पुनः मतदान गराउनु पर्ने प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले बताएका छन्।
आइतबार साँझ निर्वाचन आयोगमा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार कूल ४ हजार ४६५ मतदान केन्द्रमध्ये रुकुम पश्चिमका दुई मतदान केन्द्रको मतदान स्थगित भएको हो।
‘रुकुम पश्चिमको बाफिकोट गाउँपालिका वडा नम्बर ५ को रत्न मावि ‘क’ मतदान केन्द्र र सोही जिल्लाको आठबीसकोट नगरपालिका वडा नम्बर ११ स्थित राष्ट्रिय मावि गत्तसैना (ख) मतदान केन्द्रमा मतपेटिकामा आगलागी भएको कारणबाट मतदान कार्य स्थगित भएको छ,’ यादवले भने, ‘स्थगित भएका मतदान केन्द्रमा मुख्य निर्वाचन अधिकृतले छिट्टै नै पुनः मतदान गर्ने व्यवस्था मिलाउने जानकारी दिन चाहन्छु।’
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता