गाउँका मतदाता भन्छन् मतदाता शिक्षा नै पाइएको छैन कसरी गर्ने मतदान ?

शहर बजार केन्द्रित कार्यक्रम गर्दै निर्वाचन आयोग

इलाम, १२ मंसिरः आसन्न प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचन नजिकिदै गए पनि इलाममा मतदाता शिक्षा कार्यक्रम प्रभावकारी बन्न सकेको छैन् । जिल्ला निर्वाचन कार्यालयले कार्तिक २७ गतेबाट जिल्लामा ढिलो गरी मतदाता शिक्षा कार्यक्रम शुरु गरे पनि प्रभावकारी बन्न नसकेको ग्रामिण क्षेत्रका मतदाता बताउछन् । दुई वटा प्रतिनिधि सभा र ४ वटा प्रदेश सभा सदस्यका लागि मतदान हुने इलामका २ सय ६६ मतदान केन्द्रका लागि कार्यालयले त्यति नै संख्यामा मतदाता शिक्षा कार्यकर्ता खटाएको जानकारी गराए पनि सो शिक्षा प्रभावकारी भएको छैन ।
मतदाता शिक्षा कार्यकर्ताले नमुना मतपत्र सहितका सामग्री लिएर गाउँगाउँ गएको जिल्ला निर्वाचन अधिकारी प्रेमकुमार काफ्लेले बताए पनि खटाइएका सामाजिक कार्यकता सबै ठाउँमा नपुग्ने गरेको पाईएको छ । यसरी सबै ठाउँमा उनीहरु नपुग्दा मतदाता मतदान कसरी गर्ने भन्नेमै अलमल्लिरहेका छन् । इलामको माईजोगमाई १ का टेकबहादुर भट्टराईका लागि मतदान कुनै अनौठो होइन, तर पहिलो पटक ३ वटा मतपत्रमा कसरी मतदान गर्ने भन्नेमा उनी प्रष्ट छैनन् । भट्टराइले भने ‘भोट दिदा–दिदा यो उमेर भयो, तर यस पटकको भोट कसरी दिने भन्ने सिकाउन कोही आएकै छैन् । मत बदर हुन्छ की भन्ने पीर छ ।’ उनी जस्ता मत बदर होला भन्ने धेरै मतदाता छन् ।
प्रतिनिधि सभा, प्रदेश सभा र समानुपातिकमा गरी एउटै ब्यक्तिले ३ वटा मत पत्रमा मतदान गर्नु पर्ने छ । जसले गर्दा मतदान पक्रिया ढिलो हुने र मतदाता झुक्किने निश्चित छ । इलामका जिल्ला निर्वाचन अधिकारी काप्mलेले तीनवटा मत पत्र भएका कारण सबै काम ढिलो हुने बताए । यता कार्यालयले इलाम बजार लगायत, देउमाई नगरपालिकाको मंगलबारे लगायतका ठाउँमा नमुना मतदान कार्यक्रम गरेको बताएको छ । मतदाता यसले मात्र नपुग्ने बताउछन् । जिल्लामा मतदाता शिक्षाका लागि मात्र ५० लाख रुपैयाँ आएको कार्यालयले जनाएको छ । तर कार्यक्रम प्रभावकारी रुपमा अघि बढेको छैन । नमुना मतदान गर्ने निर्वाचन आयोग बजारमा रहेका शिक्षित वर्गलाई मात्र बोलाएर यो कार्यक्रम गर्छ । इलाममा मतदाता शिक्षा प्रभावकारी बनाउने भन्दै निश्चित पत्रकारलाई मात्र बोलाएर नमुना मतदान समेत आयोगले सम्पन्न ग¥यो । निर्वाचन आयोग इलामको यस्तो कार्य हेर्दा आएको पैसा सक्न मात्र यो कार्यक्रम अघि बढाइएको जस्तो भएको स्वयम मतदाता वताउँछन् । मतदाता शिक्षा कार्यक्रम प्रभावकारी रुपमा अघि बढाउन यहाँका मतदाताले माग गरेका छन् ।  उनीहरुले बजार केन्द्रित कार्यक्रम नगर्न समेत सुझाव दिएका छन् । चियाबारी दैनिकबाट साभार
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता