पाँचथर, ६ पुसः पूर्वी पहाडको प्रमुख नगदे बाली अलैँचीको मूल्य बृद्धि भएको छ । व्यापारीले किसानबाट ग्रेडिङ गरेको अलैँची प्रतिमन ३२ हजार रुपैयाँसम्ममा खरिद गर्न थालेका छन् । चालु माल भनिने ग्रेडिङ नगरिएको अलैँची प्रतिमनमा २९ हजार रुपैयाँमा बिक्री हुन थालेको छ ।
अलैँचीको मूल्यमा शनिबारदेखि बृद्धि भएको हो । नेपाल अलैँची व्यवसायी संघका पाँचथर अध्यक्ष खेमनाथ अधिकारीले भारत र भुटानमा उत्पादित अलैँची अन्तराष्ट्रिय बजारमा सकिँदै गएकोले मूल्य बृद्धि भएको हुनसक्ने बताए । अलैँचीको मूल्यमा बृद्धि भएपछि किसानहरु उत्साहित भएका छन् ।
किसानहरुले मूल्य बृद्धिको आशमा बगानबाट टिपेको अलैँची घरमा थन्काएर राखेको व्यवसायीहरुको अपेक्षा छ । यसअघि निकै कम अलैँची बजारमा आएको थियो । भदौको अन्तिमदेखि बजारमा बिक्रीका लागि ल्याइँदा अलैँचीको मूल्य प्रतिमन ३५ हजारसम्म मूल्य निर्धारण गरिएको छ । तर, पछि मूल्य क्रमशः घट्दै २५ हजार रुपैयाँ आइपुगेको थियो । मध्य मंसिरदेखि भने मूल्यमा विस्तारै बृद्धि भएको छ । अलैँचीको मूल्य २ वर्षअघि सर्वाधिक १ लाख २० हजारसम्म पुगेको थियो ।
व्यापारीले मिसावटयुक्त अलैँची अन्तराष्ट्रिय बजारमा पु¥याएपछि मूल्य क्रमशः ओरालो लागेको हो । अलैँची खेतीका जानकार डा. पदम खतिवडा यसको प्रत्यक्ष मार किसानसँगै मुलुकको अर्थतन्त्रमा परेको बताउँछन् ।
