इलाममा फल्यो १२ करोडको सुन्तला, केजीको कति पर्छ मूल्य ?

  • नमीन ढकाल

इलाम, ६ पुसः रोगको संक्रमणले सुन्तलाबारी सखाप हुन थाले पनि इलाममा सुन्तला खेती गर्ने किसानहरुको संख्यामा कमी आउन सकेको छैन । गत वर्ष ३४० हेक्टरमा गरिएको सुन्तला खेती यस बर्ष बढेर ३५० हेक्टर पुगेको छ । सुन्तला खेतीको क्षेत्रफल बढेसँगै उत्पादन समेत बढ्न थालेको छ । यस वर्ष ३५० हेक्टर क्षेत्रफलमा गरिएको खेतीबाट ३ हजार ६ सय २९ मेट्रिक टन सुन्तला उत्पादन भएको छ । 
जुन गत आवको तुलनामा भन्दा तीन प्रतिशत अर्थात एकसय ६ मेट्रिक टनले बढी हुन आउछ । गत आवमा तीनसय ४० हेक्टरमा गरिएको सुन्तला खेतीबाट जिल्लामा ३ हजार पाँचसय २३ मेट्रिक टन उत्पादन भएको जिल्ला कृषि विकास कार्यालय इलामको तथ्यांकमा उल्लेख छ । सुन्तलाको पकेट क्षेत्र मानिएको जिल्लाका सुम्बेक, नामसालिङ, जिर्मले, सोयाङ, बरबोटमा सुन्तलाको व्यवसायिक खेती हुँदै आएको छ । यस्तै, सोयाक, गोदक, इलाम नगरपालिका, पशुपतिनगर, कन्याम र लक्ष्मिपुरमा भने सुन्तलाको उत्पादन विगतका वर्षहरुमा जस्तो नभएको कार्यालयका योजना तथा सूचना अधिकारी प्रकाशमणि काफ्लेले बताए । सुन्तलामा ग्रिनिङ सिट्स जस्ता भाइरल रोगहरु देखा परेपछि जिल्लाका धेरै गाउँका सुन्तलाका बगानहरु सखाप भइरहेका छन् ।
 रोग नियन्त्रणका निम्ति कृषिका प्राविधिकहरुले फेरेमेन ट्रयाप जस्ता विषादी प्रयोग गर्न भनेपनि यसबाट रोग नियन्त्रण नभएको कृषकको भनाइ छ ।  निर्यातबाट १२ करोड भित्रियो कृषिको तथ्यांक अनुसार यो वर्ष जिल्लाबाट उत्पादन भएको सुन्तलामध्ये १ हजार ९ सय ९५ मेट्रिक टन निकासी भएको छ । निकासी गरिएको सुन्तला प्रतिकेजी सरदर ६० रुपैयाँका दरले बिक्री भएको छ । जसबाट जिल्लामा १२ करोड रुपैयाँ भित्रिएको छ । 
यो गत आवको भन्दा डेढ करोड रुपैयाँ बढी हो । गत आवमा एकहजार ७ सय ६१ मेट्रिक टन निकासी भएकोमा १० करोड ५६ लाख रुपैयाँ इलामे कृषकहरुले हात पारेका थिए । जिल्लामा उत्पादन भएको सुन्तला पहाडी जिल्लाहरुका साथै झापा, मोरङ तथा भारतका विभिन्न शहरहरुमा निकासी हुँदै आएको छ । 
सुन्तला टिप्ने सिजनबाटै तराईका ब्यापारीहरु इलामे कृषकको बगान–बगान पुग्ने गरेकाले सुन्तला खेती गर्दै आएका कृषकलाई बजारको भने समस्या भने नभएको इलाम नगरपालिका ५ बरबोटे तोरीबारीका कृषक राजु घिमिरेले बताए । तर, मूल्य भने सोचेजस्तो नपाएको उनको गुनासो छ । नाम्सालिङबाट मात्रै ३ करोड बढीको निर्यात सुन्तला व्यापारबाट मात्रै इलाममा हरेक वर्ष करोडौं रुपैयाँ भित्रिरहेको अवस्थामा माइजोगमाई गाउँपालिका वडा नम्बर ३ र ४ स्थित नामसालिङबाट मात्र यो वर्ष करिब तीन करोड रुपैंयाँ बराबरको सुन्तला झापा र मोरङ्गका विभिन्न बजारमा निकासी भएको स्थानीय व्यापारीहरुले बताएका छन् । तर, केही वर्षयता सुन्तला खेतीमा रोगको सङ्क्रमण देखा परेपछि पछिल्लो वर्षहरुमा सुन्तलाका बगानहरु मासिने क्रम पनि बढ्दै गएको छ । जसबाट कृषकहरु चिन्तित बन्दै गइरहेका छन् ।
थाहाखबरबाट
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता