
इलाम, १२ पुसः एक्काइसौ शताब्दीको लोकतान्त्रीक गणतन्त्रको मार्गमा निरन्तर लम्किरहँदा अपाङ्गता भएका नागरिकहरुको यथार्थ तथ्याङ्क इलाममा नभएको पाइएको छ । राज्यभित्र बसोवास गर्ने अपाङ्गता भएका नागरिकहरुको बास्तबिक तथ्याङ्क नहुनु, भएको तथ्याङ्कमा पनि एकरुपता नहुनु जस्ता कारणले राज्यबाट प्रदत्त हक अधिकार सहजै प्राप्त गरि उपभोग गर्न बहुसंख्यक अपाङ्गता भएका नागरिक बन्चित भइरहेका छन् । अपाङ्गताको क्षेत्रमा काम गर्दै आएका सरकारी तथा गैर सरकारी कार्यालयले जिल्लामा अपाङ्गता भएका ब्यक्तिहरुको तथ्याङ्क संकलन गर्न सकिरहेको छैन । इलाममा अपाङ्गताको क्षेत्रमा काम गर्दै आएको करुणा फाउण्डेशनले बिगत केहिबर्ष अघिबाट साविकका २७ गाविसमा हेरचाहका लागि उत्प्रेणा कार्यक्रम सञ्चालन गरीरहेको छ । जसअनुरुप करुणाले त्यही २७ गाविसमा भएका अपाङ्गता भएका ब्यक्तिहरुको मात्र तथ्याङ्क संकलन गरेको जनाएको छ ।
तर जिल्लाभर कति अपाङ्गता छन् भन्ने बारेमा थाहा नभएको जनाएको छ । यस्तै अपाङ्गता परिचय पत्र बितरण गर्दै आएको महिला तथा बालबालिका कार्यालयले पनि इलाममा अपाङ्गता भएकाहरु कति छन् भन्ने बारेमा थाहा नभएको जनाएको छ । जसले गर्दापनि अपाङ्गता भएका ब्यक्तिहरु आफनो उचित हक अधिकार पाउनबाट बञ्चित भइरहेका छन् । स्थानीय तहमा अपाङ्गता समन्वय समिति गठन गर्ने क्रममा इलाम सदरमुकाममा मंगलबार भएको कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख गणेश बरालले जिल्लामा अपाङ्गता भएकाहरुको यकिन तथ्याङ्क संकलन गरेर सबै स्थानीय तहमा अपाङ्गता सम्बन्धि बिभिन्न कार्यक्रमहरु सञ्चालन गर्ने प्रतिबद्धता जनाउनुभयो ।
अपाङ्ग एकता समाजका अध्यक्ष प्रकाश थापाको अध्यक्षतामा भएको कार्यक्रममा अन्य बक्ताहरुले अपाङ्गता भएका व्यक्तिहरुको अधिकार र विकासका लागि सरकारले विशेष नीति तथा कार्यक्रम ल्याउनु पर्नेमा जोड दिएका थिए । कार्यक्रममा जिल्ला समन्वय समितिका सदस्य पूर्णबहादुर बस्नेत, करुणा फाउण्डेशनका प्रदिप अधिकारी, छबि श्रेष्ठ र चुलाचुली गाउँपालिकाका अध्यक्ष प्रदिपचन्द्र राईले बोल्नुभएको थियो । यसैक्रममा इलामनगरपालिका स्तरीय अपाङ्ग समन्वय समिति गठन गरीएको छ । प्रकाश चापागाईको अध्यक्षतामा दश सदस्यिय नयाँ कार्य समिति चयन गरेको हो ।
जसको उपाध्यक्षमा बिन्दा निरौला, सचिबमा दामोदर रिजाल, सहसचिबमा कमला कटुवाल र कोषाध्यक्षमा प्रकाश थापा रहनु भएको छ । यस्तै सदस्यहरुमा दिनेश कटुवाल, कमला अधिकारी, कमल साङपाङ्ग, टिका कटुवाल र पार्वता पौडेल रहनु भएको छ ।
यसैगरी इलामनगरको वडा स्तरीय पनि गठन भएको छ । इलामनगरपालिका वडा नम्बर १ मा शान्तिप्रसाद लुइँटेल, वडा नम्बर २ मा बिर्ख तामाङ्ग, वडा नम्बर ३ मा कमल राई, वडा नम्बर ४ मा मनबहादुर राई, वडा नम्बर ५ मा रेखा घिमिरे, वडा नम्बर ८ मा सविता पौडेल, वडा नम्बर ९ मा दूगौ पौडेल र वडा नम्बर १० मा कमल राई अध्यक्षमा चयन हुनुभएको छ । बाँकि वडा नम्बर ६, ७, ११ र १२ नम्बर वडामा भने केहि दिनमा चयन गरीने इलामनगर समन्वय समितिका अध्य प्रकाश चापागाइँले जानकारी दिनुभयो । इलामनगरपालिकामा अपाङ्ग समन्वय समिति गठनसंगै माइजोगमाई, फाकफोकथुम, चुलाचुली गाउँपालिका र देउमाई नगरपालिकामा समिति गठन गरीसकेको बताइएको छ ।