इलाम नगरपालिकाका मैनालीले गरे १५ लाख मुल्य बराबरको जग्गादान

इलाम, ८ पुसः इलाम नगरपालिका ९ का गोविन्द मैनालीले १५ लाख मुल्य पर्ने जग्गा एक खानेपानी उपभोक्ता समितिलाई दान गरेका छन् । पिउने पानीको अभावमा असहज जीवन बिताइरहेका इनपा ९ भञ्ज्याङमुनिका बस्तीमा पिउने पानीको व्यवस्थापन गर्न उनले जग्गा दान गरेका हुन् । स्थानीय ढोडेनी भञ्ज्याङ खानेपानी तथा सरसफाई उपभोक्ता समितिलाई तीन आना जग्गा दान गरेको मैनालीले बताए । मालपोत कार्यालय परिसरमा भेटिएका समितिका सल्लाहकार किशोर कार्कीले १५ लाख मुल्य बराबरको जग्गा दान गरेको पुष्टि गरे । बिहीबार नै समितिको नाममा सो जग्गा आइसकेको छ । 
आफ्ना दिवंगत मातापिता चन्द्रकला र जयप्रसाद मैनालीको स्मृतिमा सो पुण्य काम गरिएको गोविन्दले बताए । सो जग्गामा समितिले पिउने पानीको ट्याङ्की निर्माण गर्ने समितिका अध्यक्ष होमबहादुर गौतमले बताए । सो पिउने पानी आयोजना सम्पन्न भइसक्दा सो क्षेत्रका अन्दाजी ४ सय जना लाभान्वित हुनेछन् । मैनाली उनै ब्यक्ति हुन् जसले बिना कसुर जापानको जेलमा १४ वर्ष बिताएका थिए । १४ वर्षपछि जापानको उच्च अदालतले मैनालीलाई बेकसुर सावित गरि क्षतिपूर्तिको रकम भराएको थियो ।  
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता