
अर्जुनधारा, ९ पुसः अर्जुनधारा नगरपालिकाको आयोजनामा शुक्रबार एकदिने मौरीपालन सम्बन्धी सैद्धान्तिक र व्यवहारिक तालिम सम्पन्न भएको छ ।
अर्जुनधारा अपाङ्गता स्वाबलम्बन समाजका कृषक लक्षित तालिमको व्यवस्थापन पूर्वाञ्चल मौरी पालन उद्योग अर्जुनधाराले गरेको हो। तालिममा अपाङ्गता भएका अर्जुनधारा क्षेत्रका ३६ जनाको सहभागिता रहेको थियो।
समाजका अध्यक्ष खेमराज रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा अर्जुनधारा वडा नम्बर–९ का वडाध्यक्ष पुष्पकुमार प्रसाईको प्रमुख आतिथ्यता थियो। तालिममा अगुवा मौरीपालक कृषक गणेश खरेल, भीम कडरिया, अर्जुनधारा नगरपालिकाका योजना अधिकृत शालिकराम भट्टराई, बरिष्ठ कार्यक्रम अधिकृत हेमराज सेडाईं, नायब प्राविधिक सहायक मिना अधिकारीले सहजीकरण गरेका थिए। तालिममा मौरीपालनका लागि आवश्यक उपकरण निर्माण, प्रयोग कसरी गर्ने, शत्रु किराको नियन्त्रण गर्ने उपाय, प्रतिपक्ष किराको नियन्त्रण, चरन लगायतका विषयमा प्रष्ट्याइएको थियो। अपाङ्गता भएका व्यक्तिलाई व्यवसायिक मौरीपालनमा लगाउने लक्ष्यका साथ तालिम आयोजना गरिएको हो।