
बाहुन्डाँगी, ६ पुसः जाडोको मौसम शुरु भएसँगै विदाको दिन पिकनिक (बनभोज) खानका लागि मिनि माउन्टेनमा पुग्नेको संख्या बढ्न थालेको छ ।
इलामको रोङ्ग गाउँपालीका र झापाको मेचीनगर नगरपालिका २ मा रहेको मिनि माउन्टेनमा जाडो मौसममा बनभोजका लागि आन्तरीक तथा बाह्य जिल्लाबाट पनि आउन थालेका छन् । पछिल्लो समय झापामा भएको अरु पर्यटकीय स्थलहरुले झैँ यस स्थानले पनि आफ्नो पहिचान बनाई सकेको छ ।
वर्षाको समयमा आएको पानीले बनाएको हिमाल जस्तै देखिने चुचुरो र निन्दा खोलाको शान्त वातावरणमा रमाउँन दैनिक सयौ पर्यटकहरु यहाँ पुग्न थालेका छन् । त्यसकारण यो पिकनिक स्पाँटको रुपमा विकसित हुँदै गएको त्यहाँका स्थानीयहरु बताउँछन् ।
शनिबार तथा विदाका अन्य दिनमो पिकनिक लागि आउनेहरुको चहलपहल बढेको बताउँछन् मिनिमाउन्टेन पर्यटन विकास समितिका अध्यक्ष सुक बहादुर लिम्बू उनी भन्छन् ‘पछिल्लो केही महिनायता झापाको पिकनिक स्पाँट मध्ये यसलाई पनि धेरैले प्राथामिकताको सुचिमा राख्न थालेका छन् ।’
हिमालको जस्तो चुचुरो, वाल उद्ययन , प्राकृतिक रमणता, शान्त वातारवरण र निन्दा खोलाको चिसो पानीमा पिकनिकका अलवा मानिसहरु पारिवारीक भ्रमण र युवा युवतीहरु गफ गर्न साथै सेल्फी खिच्न पुग्ने गरेका छन् । ‘‘मिनिमाउन्टेनको अभाष दिलाउने साथै फरक शान्त रमणिय वातावरणमा महसुस भएर हामी यहाँ आएका हौँ ,’’पिकनिक खान आएका एक पर्यटकले भने–‘‘हामी विद्यालबाट एक सय जना आएका छौँ , यहाँको व्यस्थापन पनि राम्रो र यसले आफ्नो पन पनि दिएको छ ।’’
समितिको तथ्यांक हेर्ने हो भने गतसाल १ सय ५० भन्दा बढी टोली पिकनिकलागि आएको थियो भने यो वर्षको मङ्सिर महिनाको अन्त्य सम्ममा १ सयको हाराहारीमा टोली पुगीसकेका छन् ।
२०७०÷०७१ सालदेखि यो स्थानलाई पर्यटकीय स्थलको रुपमा विकास गर्नकालागि पहल सुरु गरिएको त्यहाँका स्थानीयहरु बताउँछन् । २०७४ सालमा आधिकारीक रुपमा ‘मिनिमाउन्टेन पर्यटन विकास समिति’ दर्ता गरेर पर्यटकीय केन्द्र बनाउँने कार्यको थालनी गरिएको हो ।
अध्यक्ष लिम्बूका अनुसार समितिले हालसम्म यस स्थानमा पर्यटन प्रबर्धनकालागि नेपाल सरकारबाट १२ लाख रुपैयाँ नगद सहयोग प्राप्त गरेको छ । समितिले पहिलो पटक पर्यटन विकास समितिबाट पाँच लाख रुपैयाँ प्राप्त गरेको थियो । उक्त रकमले चार बटा हट , पर्यटकलाई शौचालय निर्माण लगायतको कार्य गरिएको थियो । यस्तै दोश्रो पटक पर्यटन विकास समितिले दिएको पाँच लाखले बाल उद्यययन निर्माण गरिएको थियो । यता जिल्ला विकास समितिले प्रदान गरेको दुई लाख रुपैयाँले मुल बाटोबाट यहाँ सम्म आइपुग्ने २२ फुटे सडक निर्माण गरिएको छ ।
यस क्षेत्रलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गरेसँगै यहाँका मानिसहरुको पेशागत शैली पनि परिवर्तन भएको छ । धेरैले साना ठुला पसल सञ्चालन गरेका छन् भने केही मानिसहरुले यस क्षेत्र आसपास होटल व्यवसाय सञ्चालन गरेका छन् । उमेरले ६५ वर्ष पुगेकी कुमारी लिम्बू भन्छिन् ‘पिकनिक खाने मानिसहरु आएको दिन पाँच हजार भन्दा बढी कमाईं हुन्छ , अरु बेला पनि हजार रुपैयाँ भन्दा कम त कमाई हुदैन।’ उनका अनुसार शनिबार स्कुले विद्यार्थीहरु पिकनिक र अन्य बार मानिसहरु सामान्य घुमघामकालागि यहाँ आउँने गर्दछन् । जाडो मौसमा पिकनिक स्पाँट बन्दै गएको यो क्षेत्रलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सरकारी तथा निजी दुबै क्षेत्रको लगानी आवश्यक रहेको स्थानीयहरुको बुझाइ छ ।समिति अध्यक्ष लिम्बू यस स्थानको विकासकालागि गुरुयोजना बनाएर सम्बन्धीत निकायमा प्रस्तावना बनाएर पेश गर्न समिति लागि परेको बताउँछन् ।