- नमीन ढकाल

पशुपतिनगर, ७ पुसः निर्माण शुरु भएको ३ वर्ष बितिसक्दा पनि भवन निर्माण सम्पन्न नहुँदा पूर्वी सीमावर्ती पशुपतिनगरस्थित प्राथमिक स्वास्थ्य केन्द्रको सेवा प्रभावित भएको छ । पुरानो भवन जीर्ण बन्दा केन्द्रका लागि आएका अत्यावश्यक उपकरण राख्न समेत समस्या छ । स्वास्थ्यकर्मी र कर्मचारी बस्ने स्थान जीर्ण अवस्थामा छ । दैनिक आउने सेवाग्राहीका लागि पनि पर्याप्त स्थान नपाएकाले उपचार गर्नै कठिन रहेको स्वास्थ्यकर्मीहरुको गुनासो छ ।
राणा शासनकाल वि.स.१९८६ सालमा नै बनेका भवनमा उपचार सेवा सञ्चालन भइरहेको छ । नयाँ भवन निर्माणमा ठेक्का पाएको मिलेनियम देव एण्ड सायर कम्पनीले भने काम गरेको समेत रकम नपाएको बताएको छ । निर्माण कम्पनी र ठेकेदारको जे जस्तो सम्झौता रहे पनि तत्काल काम सकेर स्वास्थ्य सेवालाई प्रभावकारी बनाउनु पर्ने स्थानीयको माग छ । ‘उपचारमा आउनेको संख्या थपिँदै गएको भएता पनि भवन अभावमा समस्या भएको हो,’ अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रमोद राईले भने, ‘भवन नबनिएकै कारण यहाँका बासिन्दासँगै सबैले समस्या झेल्नु परेको हो ।’ दार्जिलिङको राजनीतिक अस्थिरताका कारण पनि यो स्वास्थ्य केन्द्र पूर्वी इलामका दर्जनौ गाउँका बासिन्दाका लागि उपचारको एक मात्र थलो बनेको छ । २०६९ जेठ ११ गते क्वाटरसहितको अस्पताल भवन निर्माणका लागि ठेकेदार पक्षसँग सम्झौता भएको हो । तर, पटक/पटक म्याद थप गर्दा पनि भवन निर्माण पूरा हुन सकेको छैन । वि.स.२०७० भदौमा सम्पन्न भइसक्नु पर्ने भवन नबन्दा स्थानीयले सास्ती पाएका हुन् ।
वि.स.२०७३ पुष ३० गतेसम्म म्याद थप गरिए पनि भवन निर्माण पूरा भएन । शहरी विकास तथा भवन डिभिजन कार्यालयमार्फत निर्माणाधिन यो भवनका लागि यही वर्षको चैतसम्म पुनः म्याद थप मागिएको छ । यो विषयमा भने कुनै कारवाही नभएको कार्यालयले जनाएको छ । ‘भवन निर्माण गर्नु पर्ने स्थानमा रहेको विद्युत प्रशारण लाइन हटाउन मात्रै ३१ महिना लाग्यो,’ निर्माण कम्पनीका प्रमुख डम्बर गदालले भने, ‘त्यहाँसम्म पुग्ने सडक स्तरीय नहुनु, अत्याधिक चिसोका कारण हिउँद याममा काम गर्न कठिन हुनु, भुकम्प र राजनीतिक उतार–चडावका कारण पनि ढिलो भएको हो ।’ यी सारा अवरोध जान्दा–जान्दै रकम नदिइनुले समस्या भएको जनाउँदै उनले बिना हर्जना म्याद थप गर्नु पर्ने बताए । पाउनु पर्ने डेढ करोड रुपैयाँमध्ये करिब ७० लाखको काम भए पनि नपाएको उनको भनाई छ । जीर्ण भवनमा ओपेडीदेखि बर्थिङ सेन्टर, बिमा फार्मेसीलगायतका काम सम्पन्न गर्न कठिन रहेको अहेब राजु दंगालले जानकारी दिए । ‘क्वाटरको अवस्था पनि उस्तै छ,’ उनले भने, ‘पुरुष बस्ने स्थानमा बाथरुम छैन । ट्वाइलेटको व्यवस्था पनि राम्रो छैन । दुई डाक्टरसहित १० जनाको स्वास्थ्यकर्मीको टिमलाई दैनिक कामकाज र बसोबासमा समस्या छ ।’ थाहा खबरबाट