इलाम, २६ पुसः इलाम नगरपालिका वडा नं. ६मा वडा सचिवको रुपमा कार्यरत लेखा अधिकृत महेश काफ्लेलाई नगर कार्यकारी अधिकृत महेन्द्र खाम्याहाङले निलम्बन गरेका छन् । पटक–पटक मादक पदार्थ सेवन गरी कार्यालयमा आएको र पदिय आचरण विपरीत कार्य गरेको आरोपमा उनलाई निलम्बन गरिएको इलाम नगरपालिका नगर कार्यपालिका कार्यालयले जनाएको छ ।
वडा कार्यालयमा दाखिला गर्नुपर्ने रकम समयमा कार्यालयमा दाखिला नगरेको र मादक पदार्थ सेवन गरी कार्यालयमा गएको गुनासो पटक–पटक आएको भन्दै खाम्याहाङले काफ्लेलाई निलम्बनको पत्र काटेका छन् । जाँचबुझ समाप्त नहुञ्जेललाई निलम्बन गरिएको उनले पत्रमा उल्लेख गरेका छन् । पत्रमा इलाम नगरपालिका वडा नं. ६ कै सेवाग्राही विपिन फूएल सेवा लिन गएको वखत वडासचिव काफ्लेले राजश्व तिर्दा रसिद नदिएको उल्लेख छ । प्राप्त जानकारी अनुसार फूएल जिल्ला प्रशासन कार्यालय इलाममा कार्यरत प्रशासकिय अधिकृत देवीचरण फूएलका छोरा हुन् ।
विवेकलाई काफ्लेले राजश्व बुझ्ने क्रममा एक सय रुपैयाँ दिनु रसिद नकाटुँ भनेको र नगर कार्यपालिकामा उजुरी दिएमा तेरो काम गर्दिन भनेर धम्क्याएको समेत बताइएको छ । विवेकका उजुरीका आधारमा नगरपालिका कार्यपालिका कार्यालयले काफ्लेमाथि छानबिन अगाडि बढाएको हो । काफ्ले निलम्बनका विषयमा छानबिन गर्नका लागि नगरपालिकाले छानबिन समिति बनाएको र १५ दिन भित्रमा रिपोर्ट बुझाउन भनिएको छ । इलाम बजार निवासी काफ्ले नगरका सिनियर कर्मचारी मध्ये पर्दछन् । उनी यसअघि नगरपालिकाको राजश्व प्रमुखको रुपमा समेत काम गरिसकेका छन् ।