‘एक शहर एक पहिचान’मा इलाम नगर ‘इलाम पर्यटकिय शहर’ बन्ने

  • राजेश पराजुली

इलाम भ्यूटावरबाट देखिएको इलाम बजार । तस्वीरः टीका खतिवडा
इलाम, २६ पुसः सरकारले अगाडि बढाएको ‘एक शहर एक पहिचान’ अभियान अन्र्तगत देशभरका १४ वटा शहरहरु मध्येबाट इलाम नगरपालिका पर्यटकिय शहरको रुपमा तोकिएको मंगलबार इलाम सदरमुकाममा आयोजित एक कार्यक्रममा जानकारी गराईएको छ । यसको लागि करिब चालीस करोड रुपैंयाँ लागतमा इलाम नगरक्षेत्रलाई आर्काषक बनाउन विभिन्न भौतिक निर्माणको कार्यहरु शुरु हुने चरणमा रहेको छ । इलाम जिल्लाको पर्यटनमा सरोकार राख्ने इलाम पर्यटन प्रर्वधन सरोकार समितिले जिल्ला समन्वय समितिको समीक्षालयमा संचालन गरेको ‘इलामको पर्यटन’ विशेष छलफल कार्यक्रममा इलाम नगरपालिकाका मेयर महेश बस्नेतले उक्त कुराको जानकारी दिएका हुन् । उनका अनुसार पर्यटकिय शहर बनाउनको लागि इलाम नगरको वडा नं. ८ तिल्केनीमा रहेको खर्क पोखरीलाई पोखरीको स्परुप प्रदान गरी बगैंचा निर्माण गर्ने र त्यहाँबाट दुवै तर्फ पैदल हिड्न मिल्ने गरी ‘फुटपाथ’ सहितको सडक इलाम बजार हुँदै धोबीधारा सम्म निर्माण गरिनेछ । त्यस्तै गरी सोही बाटोलाई जनभवन चियाबारी हुँदै फुलगाछी सम्म पु¥याईनेछ । 
यस्तै संघीय संरचनाको कारण विकेन्द्रीकृत अवस्थामा सदरमुकाममा रहेको सरकारी भवनहरु मध्ये पायक पर्ने एक भवनमा यस केही वर्ष अघि संचालनमा आएर बन्द भएको अरनिको संग्राहलयलाई पनि संचालन गरिने छ । यता इलाम सदरमुकामलाई तराईसँग छोटो दुरीमा सम्पर्क स्थापित गर्न पुवाजुङ–बेलासे–दानाबारी सडक अन्र्तगत पुवाजुङ–बेलासेमा ट्रयाक खोल्ने कार्य गरिने तथा पुवाखोलामा पक्की पुल बनाउनको लागि डोलिडार नामक संस्थाले कार्य अघि बढाउने जानकारी गराईयो । यो सडक निर्माण सम्पन्न भएमा करिब ४० किलोमिटरको दुरीमा तराईसँग सम्पर्क स्थापित हुनेछ । यस्तै रणनैतिक योजना अन्र्तगत सदरमुकामको रत्नचोक देखि साङरुम्बा हुँदै गाग्रेभञ्ज्याङ जोड्ने सडकको स्तरोन्नति गरी जिल्लाको पश्चिमी भागसँग छोटो दुरीमा सम्पर्क स्थापित गराउन पहल गरिने जनाईएको छ भने उत्तरतर्फ माईपोखरी–छिन्तापु–जितवाले–गोरुवाले सडक निर्माण गरी पाँचथर जिल्लाको भू–भागहरुसँग छोटो दुरीको सम्पर्क स्थापित गरिने मेयर बस्नेतले जानकारी दिए ।
यस्तै इलाम नगरलाई पर्यटकिय शहर बनाउने क्रममा हालै सर्वेक्षण गर्दा सिद्धिथुम्का चुलीको आधा भाग इलाम नगरपालिका अन्र्तगत पर्ने देखिएकोले देउमाई नगरपालिकासँग साझेदारीमा सिद्धिथुम्काको पर्यटनलाई प्रयोग गरिने जनाईएको छ । नगरको अन्य क्षेत्रमा रहेको पर्यटकियस्थलहरुमा वडा नं. ३ पुवामझुवाको बेतेनीमा रहेको लालप्रसाद राईले विशाल पहराको ढुंगामा बनाएको शिव भगवानको आकृतिलाई जगेडा गरेर नजिकै रहेको दुईवटा धार भएको बेतेनी झर्नामा निर्माण हुँदै गएको कुलोका पानी समेत थप गरेर झर्नाको आकारमा बढोत्तरी गरी जिल्लाकै अग्लो टोड्के झर्ना भन्दा अग्लो बनाईने लक्ष्य लिएको मेयर बस्नेतले जानकारी दिए । त्यही क्षेत्रमा पाटेनागी जस्ता संरक्षित क्षेत्र भएकोले पाटेनागी–माईपोखरी–सातखाल्डे–बाघखोर पदमार्गको विस्तार समेत गरिने उनले बताए । यता भर्खरै इलाम जिल्लाबाट पहिलो पटक सगरमाथा आरोहण गर्ने वडा नं. १ साखेजुङका यामबहादुर गुरुङको नाममा एक ट्रष्ट स्थापना गर्ने र उनले सगरमाथा आरोहण गर्दा प्रयोग गरेका सामाग्री तथा तस्बीरहरु राखी छिमेकी दार्जिलिङको तेन्जिङ नोर्गेको पर्वातारोहण संग्राहलय जस्तै बनाउनको लागि गुरुङ परिवारसँग ट्रष्टको भवन निर्माण तथा जग्गाको व्यवस्थापन गर्न कुराकानी भईरहेको समेत बताईएको छ ।
यस्तै नगरको पर्यटनलाई बढवा दिन इलाम सदरमुकाम स्थापना भएको दुईसय वर्ष पुगेको अवसरमा आगामी २०७५ वैशाख १ गते भव्य कार्यक्रम गर्ने र त्यसपछिका दिनहरुमा हरेक वैशाख १ गते इलामको साझा सांस्कृतिक पर्वको रुपमा वर्षेनी मनाउने तयारी भएको समेत मेयर बस्नेतले जानकारी दिए । यता नगरमा आन्तरिक पर्यटकलाई बढी भन्दा बढी भित्राउन धरान उपमहानगरपालिकासँग भगिनी सम्बन्ध स्थापना गर्ने कार्य अन्तिम चरणमा रहेको र सो अवसरमा धरानमा टि फेस्टिबल र इलाममा पनि एक उत्सव गरिने भएको छ । यसको तयारी तिब्र गतिमा भईरहेको बस्नेतले जानकारी दिए । यस्तै इलामको सटर–कवलहरु व्यवस्थित गर्न नगरको नयाँबजारमा ९२ वटा सटर–कवल भएको ‘इलाम मार्ट’ नामक कमप्लेक्स भवन बनाउनको लागि निजी–साझेदारी अवधारणा अनुसार कार्य अगाडि बढिरहेको र उक्त कमप्लेक्सको अग्रभाग हरेक साँझ दुई घण्टा चिया फेस्टिबल गर्ने र त्यहाँ इलाम आउने पाहुनाहरुलाई इलाममा उत्पादन भएको विभिन्न प्रकारका चियाहरु निशुल्क पिउने व्यवस्था मिलाईने र यसको लागि इलाममा रहेका चिया उद्योगहरुसँग समन्वय गरिने मेयर बस्नेतले बताए । इलामको विकासमा चार वटा मुख्य तत्तवहरुमा पर्यटन, कृषि, शिक्षा र स्वास्थ्य रहेको र पर्यटनको क्षेत्रमा माथि उल्लेख गरिएको कार्यहरु चाँडो भन्दा चाँडो अगाडि बढाईने मेयर बस्नेतले उक्त कार्यक्रममा जानकारी दिए ।
सरोकार समितिले आयोजना गरेको छलफल कार्यक्रममा इलामका इतिहासकार युद्धप्रसाद वैद्यले पर्यटन भनेको मन र मस्तिष्कको पुर्नजागरण भएको बताएका छन् । जसरी मोबाइलमा रिचार्ज गरी शक्ति पुर्नस्थापित गरिन्छ त्यसरी नैं मानिसहरु पनि पर्यटनको माध्यमबाट रिचार्ज हुने बताए । यसको लागि इलाममा प्रशस्त भौगोलिक स्थान तथा संस्कृतिहरु रहेको उनले बताए । इलाम जिल्ला समुन्द्र सतहको १ सय ४० मिटरदेखि ३ हजार ६ सय ३६ मिटरसम्मको उचाईमा अवस्थित भएकोले यहाँ थुप्रै भौगोलिक अवस्थाहरु रहेको र यसको सदुपयोग गर्न सकिने सम्भावनाहरु रहेको छ । छलफल कार्यक्रममा आफ्नो विचार राख्दै वैद्यले अगाडि भने यसअघि तत्कालिन इलाम जिल्ला विकास समितिले तयार गरेको जिल्लाको पर्यटन गुरु योजना केवल कागजमा मात्र सिमित भएकोले पनि इलामको पर्यटनमा विकास हुन नसकेको बताए । इलामको माईस्थान मन्दिर बाहेक हालसम्म अन्य कुनै पनि ठाउँमा हिन्दु धर्म अनुसार शिकारी, डंकिनीको मन्दिर एवम पुजाआजा गरिने चलन नरहेकोले यसलाई पनि पर्यटनसँग जोड्न सुझाव दिए ।
सरोकार समितिका अध्यक्ष विजय राईको अध्यक्षतामा संचालन भएको कार्यक्रममा इलाम जिल्ला निर्वाचन क्षेत्र नं. २ को प्रदेश नं. क र ख का प्रदेश सभासद राम राना, धिरेन शर्मा रमण, उद्योग वाणिज्य संघका अध्यक्ष आनन्द कट्टेल, नेपाल अलैंची व्यवसायी महासंघ इलामका अध्यक्ष विजय खाकी, होटल एशोसिएसन इलामका अध्यक्ष देवी पौड्ेल, प्रदेश नं. १ स्तरीय होटल व्यवसायी संघका सदस्य राजन प्रधान, सेतिदेवी मन्दिर संरक्षण समितिका देवीमाया खडका, ओडारेभालु ढुंगा वन समितिका कृष्णप्रसाद कडेल, बालन गाउँ होमस्टेका उमा श्रेष्ठ, हरित महिला समुहकी नानुका खत्री, गुम्बाडाँडा सामुदायिक वन समितिका निरुमाया राई, इलाम क्याम्पसका उपप्राध्यापक राजेन्द्र बराल, नेकपा एमालेका कृष्णप्रसाद श्रेष्ठ, एकिकृत ओडारेभालुढुंगा पर्यटन समितिका हरी गुरुङ लगायतले कार्यक्रममा आ–आफ्नो विचार राखेका थिए । सरोकार समितिको अधिवेशन आगामी माघ २१ गते हुने जनाईएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता