
दमक २५ पुसः निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) झापाले प्रतिदिन दैनिकका सम्पादक राजेन्द्र गौतमलाई सम्मान गरेको छ ।
प्याब्सनले २७ औँ स्थापना दिवसको अवसरमा सोमबार गौतमलाई शैक्षिक क्षेत्रको उन्नयनमा पत्रकारितामार्फत् पु¥याएको योगदानको कदर गर्दै सम्मान गरेको हो । गौतमलाई मन्त्री परिषद् तथा प्रधानमन्त्री कार्यालयका सचिव खगराज बरालले सम्मान पत्र प्रदान गरे । प्याब्सनका केन्द्रीय सदस्य गुरुभक्त न्यौपाने तथा प्याब्सन पदाधिकारीले गौतमलाई सम्मान गरेका थिए ।
त्यसैगरी, जिल्ला शिक्षा कार्यालय झापाका अधिकृत शालीकराम दाहाल र संस्थागत विद्यालय अभिभावक संघका झापा अध्यक्ष घनश्याम अधिकारीलाई सम्मान गरिएको छ । शैक्षिक क्षेत्रको विकासमा दाहाल र अधिकारीले पु¥याएको योगदान गर्दै सम्मान गरिएको हो । उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि समेत रहेका बराल, झापाका जिल्ला शिक्षा अधिकारी योगेन्द्र बराल लगायतले सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरेका हुन् ।
दमकको अक्सफोर्ड बोर्डिङमा दुई दिनसम्म चलेको प्याब्सन दिवस समापनको दिन सोमबार संस्थापक प्रिन्सिपलहरुका तर्फबाट बसन्तकुमार राई शिखर शिशुसदन भद्रपुर, विष्णुकुमार तिवारी काबेली आमावि बिर्तामोड, एटम प्रधान फाइभ स्टार बोर्डिङ स्कुल मेचीनगर, मोहन सुब्बा कालीका शिशुसदन अर्जुनधारा, उत्तम सुवेदी टाइनिट्स एकाडेमी झापा गाउँपालिका, कमल पौडेल सैनिक चिल्ड्रेन बाल शिक्षा शिवसताक्षी, विजयसेन थापा स्टार अंग्रेजी विद्यालय कमल गाउँपालिका र हस्तबहादुर राउत ज्ञानकुञ्ज एकाडेमी गौरीगञ्जलाई समेत सम्मान गरिएको छ । कार्यक्रममा सचिव बरालले झापा प्याब्सन देशभरकै उत्कृष्ट रहेको भन्दै शैक्षिक क्षेत्रमा निजी शिक्षण संस्थाले पु¥याएको योगदान महत्वपूर्ण भएको बताए । झापा प्याब्सनका अध्यक्ष कोषराज प्याकुरेलको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षक–शिक्षिकाको तर्फबाट चन्द्रकला सुब्बा चेतना मावि, देवेन्द्र हुमागाईं न्युटन एकाडेमीलगायतलाई सम्मान गरिएको प्याब्सनका सहसचिव टिआर गौतमले बताए ।
उपाध्यक्ष भक्त कार्कीले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव गौरीमान फागोले गरेका थिए ।
शिक्षा मन्त्रालयका सहसचिव डा. लेखनाथ पौडेलले आइतबार उद्घाटन गरेको कार्यक्रम सचिव बरालले समापन गरेका हुन् । प्याब्सन दिवसमा जुनियर, सिनियरतर्फ नृत्य तथा गायनका प्रतियोगिता सम्पन्न भएको थियो ।
क्षेत्रगत आधारमा उत्कृष्ट भएका प्रतिस्पर्धीबीच अन्तिम चरणको प्रतियोगिता भएको हो । कार्यक्रममा उत्कृष्ट सबै विद्यार्थीलाई पुरस्कृत गरिएको थियो ।
प्याब्सन झापामा २७६ वटा विद्यालय आबद्ध छन् । ती विद्यालयबाट छानिएका विद्यार्थीले सांस्कृतिक नृत्य तथा आधुनिक नृत्यमा प्रतिस्पर्धा गरेका हुन् । १२ वर्षमुनि र माथिका बीच जुनियर र ८ देखि १० कक्षाका विद्यार्थी बीच सिनियर तह छुट्याइ प्रतियोगिता गरिएको प्याब्सनले जनाएको छ ।
प्याब्सन दिवस समापनमा २३ गते निधन भएका प्याब्सनका पूर्व केन्द्रीय अध्यक्ष डा. बाबुराम पोखरेलप्रति श्रद्धाञ्जली व्यक्त गरिएको थियो । उनको शोक वक्तव्य सहसचिव गौतमले वाचन गरेका थिए । प्याब्सन झापाले मंगलबार प्याब्सन झापामा आबद्ध सबै विद्यालयहरु बन्द गरी आधा झण्डा झुकाएर पूर्वअध्यक्ष प्रति श्रद्धाञ्जली व्यक्त गर्न आह्वान गरेको छ ।
आइतबार निधन भएका पोखरेल निवर्तमान सभासद् र सांसद समेत हुन् । उनको मंगलबार दाहसंस्कार हुँदैछ ।