
काठमाडौं, २४ पुस: चिकित्सा शिक्षा सुधारको माग राख्दै १३ पटकसम्म आमरण अनसन बसेका डा.गोविन्द केसी फेरि अनसन बसेका छन् । यसपटक डा.केसीको अनसन प्रधानन्यायाधीश गोपाल पराजुली विरुद्ध लक्षित छ । बर्खास्तमा परेका आइओएमका डीन डा.शशि शर्मालाई सर्वोच्च अदालतले पुर्नवहालीको आदेश दिएपछि डा.केसी अनसन बसेका हुन् । डा.केसी त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा सोमबार अपराह्न ४ बजेदेखि सत्याग्रह थालेका हुन् । यसअघि सोमबारै उनले मुख्य पाँचबुँदे माग अघि सार्दै अनसन बस्ने घोषणा गरेका थिए । न्यायालयमा न्याय किनबेच भएको आरोप लगाउँदै डा.केसीले प्रधानन्यायाधीश पराजुलीले राजीनामा गरी उनले गरेका कामहरुबारे छानबिन गर्नुपर्ने मुख्य माग गरेका छन् । अनसन सुरु गर्ने क्रममा पत्रकारालाई प्रतिक्रिया दिँदै डा.केसीले माफिया विरुद्ध सास रहुन्जेल लड्ने बताएका छन् । ’पदीय मर्यादाविपरीत न्यायालयमा भ्रष्टाचार संस्थागत गर्ने तथा न्यायलाई बिक्रीको विषय बनाउने भ्रष्ट प्रधानन्यायाधीश गोपाल पराजुलीद्वारा पदबाट तत्काल राजीनामा गरियोस् । तत्पश्चात उनका भ्रष्ट क्रियाकलापहरुमाथि छानबिन र कारबाही गरियोस्’ सत्याग्रहका पाँचबुँदे मागको पहिलो बुँदामा डा.केसीले उल्लेख गरेका छन् । यसका साथै डा.केसीले चिकित्सा शिक्षा आयोग तत्काल गर्नुपर्ने, आइओएसमका डीनमा वरिष्ठताका आधारमा नियुक्त भएका व्यक्तिलाई कायम गर्नुपर्ने लगायतका माग अघि सारेका छन् ।
डा केसीका मागहरु यस्ता छन्
१) पदीय मर्यादा विपरीत न्यायालयमा भ्रष्टाचार संस्थागत गर्ने तथा न्यायलाई बिक्रीको विषय बनाउने भ्रष्ट प्रधान न्यायाधीश गोपाल पराजुलीद्वारा पदबाट तत्काल राजीनामा गरियोस् । तत्पश्चात उनका भ्रष्ट क्रियाकलापहरुमाथि छानबिन र कारबाही गरियोस् । २) चिकित्सा शिक्षा आयोग तत्काल गठन गरियोस् । ३) आइओएमका डीनमा विधिवत रुपमा वरिष्ठताका आधारमा नियुक्त भएका व्यक्तिलाई कायम गरियोस् । माफिया डीनको पुर्नवहाली तुरुन्त खारेज गरियोस् । ४) मेडिकल माफियासितको मिलेमतोमा अवैध रुपमा खाली भवनलाई सम्बन्धन दिने, आइओएमको अधिकार नाजायज रुपमा खोसेर दुरुपयोग गर्ने तथा दलीय भागबन्डाबाट नियुक्त भएका त्रिवि पदाधिकारीहरुलाई बर्खास्त गरियोस् । ५) त्रिवि शिक्षण अस्पताल सुधार सम्बन्धी हामीले राखेका मागहरु पूरा गरियोस् ।
१) सरकारी संस्था भएकाले त्रिवि शिक्षण अस्पतालको शैक्षिक कार्यक्रम र सेवा प्रवाहको सम्पूर्ण आर्थिक भार राज्यले व्यहोर्ने व्यवस्था गर्ने । हाल १० प्रतिशत मात्र शैयाहरु निःशुल्क भएकोमा त्यसलाई बढाएर ५० प्रतिशत पु¥याइनुपर्ने । आम नागरिकहरुका लागि उपचार सस्तो र सुलभ बनाउने तथा अस्पतालका विद्यार्थी, चिकित्सक र कर्मचारीलाई विगतमा जस्तै सम्पूर्ण उपचारको व्यवस्था गर्ने । २) कार्यरत नर्स तथा विद्यार्थीहरुका लागि नयाँ आवास तथा छात्रवासको व्यवस्था गर्ने, अडिटोरियम हल र परीक्षाहलसहित उपयुक्त क्षमताका क्याम्पस भवनहरुको निर्माण गर्ने । पुस्तकालय वर्षभर चौबिसै घन्टा र सातै दिन खुला राख्ने व्यवस्था गर्ने । ३) अस्पतालको औषधि पसल विस्तार र सही व्यवस्थापन गरेर अस्पतालमा आएका सबै बिरामीलाई सस्तो र गुणस्तरीय औषधि उपलब्ध गराउने व्यवस्था गर्ने । ४) इमर्जेन्सी विभागमा आउने सबै बिरामीका लागि सुविधाजनक उपचारकालागि सेवा बिस्तार तथा बृद्धि गर्ने, बिरामी दलालहरु तथा तिनलाई प्रयोग गर्ने निजी अस्पतालहरुलाई कारबाही गर्ने । आइसियू, एनआइसियू, अपरेसन थिएटर लगायतका संरचना र क्षमता बिस्तार गरेर अधिकतम बिरामीलाई सेवादिने र अपरेशनको ’क्यू’ घटाउने । साथै संविधानमा लेखिए बमोजिम सबै खालको इमर्जेन्सी सेवा पूर्णरुपमा निःशुल्क गर्ने ।
५) चिकित्सक, नर्स र कर्मचारीहरुलाई वरिष्ठता र योग्यता अनुसार समयमा स्थायी र बढुवा गर्ने व्यवस्था गर्ने । नियम तथा मान्यता मिचेर नेता (नर्स, कर्मचारी, चिकित्सक र प्राविधिकहरु) र पदाधिकारीहरुको नातागोता तथा पार्टीका कार्यकर्ताहरुलाई नियमविपरीत पदस्थापना, स्थायी र बढुवा नगर्ने तथा गरेकालाई खारेज गर्ने । ६) थप शुल्क लिएर दिइने इएचएस सेवाअन्तर्गत शल्यक्रिया लगायतका सेवालाई तुरुन्त कार्यान्वयन गर्ने । ७) शौचालयहरु थप्ने, सरसफाइका लागि आवश्यक सामग्रीको व्यवस्था गर्ने तथा अस्पतालका बिरामीहरुलाई असर नपर्ने गरी इन्सीनरेटरको व्यवस्थापन गर्ने रहेका छन् ।