कलेज क्रिकेटको उपाधि नर्थ प्वाईन्टलाई

काँकरभिट्टा, २४ पुसः स्वतन्त्र विद्यार्थी युनियन काँकरभिट्टा बहुमुखी क्याम्पसको आयोजनामा भएको अन्तर कलेज क्रिकेट प्रतियोगिताको उपाधि नर्थ प्वाइन्ट माविले उचालेको छ । 
सोमबार भएको फाइनल खेलमा हिमालयन मल्टिपल कलेजलाई ४३ रनले पराजित गर्दै नर्थ प्वाइन्ट माविले उपाधि आफ्नो पोल्टामा पारेको हो । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नर्थ प्वाइन्टले १९ दशमलब ४ ओभरमा अलआउट हुँदै १ सय १५ रन मात्र बनाउन सक्यो । नर्थ प्वाइन्टका लागि नवदीप खड्काले २८ रन तथा तारा थापाले १५ रनको योगदान दिएका थिए । हिमालयनका सुशान्त पौडेलले ४ ओभरमा १२ रन खर्चेर ४ विकेट झारेका थिए । 
कसिलो बलिङ प्रस्तुत गरेको नर्थ प्वाइन्ट माविले हिमालयनलाई ७२ रनको स्कोरमा समेट्यो । हिमालयनका कुनै पनि ब्याट्सम्यानले खुलेर खेल्न सकेका थिएनन् । हिमालयनका विशाल राजवंशीले १७ तथा देवेन्द्र तिम्सिनाले १२ रन बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक समेत बटुल्न सकेनन् । खेलको म्यान अफ द म्याच समेत बनेका नर्थ प्वाइन्टका नवदीप खड्काले ३ दशमलब २ ओभरमा ८ रन खर्चेर ४ विकेट लिएका थिए ।
प्रतियोगिताको बेष्ट ब्याट्सम्यान एमिटीका नित्य खडौलिया, म्यान अफ द सिरिज हिमालयनका सुशान्त पौडेल, बेष्ट विकेटकिपर हिमालयनकै दिपेश राउत, बेष्ट क्याच हिमालयनकै सन्दिप बस्नेत, बेष्ट फिल्डर नर्थ प्वाइन्टका अर्जुन भुजेल, बेष्ट बलर नर्थ प्वाइन्टकै विवेक बिष्ट, इमर्जिङ प्लेयर मेची जनसाधारण माविका पवन पौडेल तथा अनुशासित टिम काँकरभिट्टा मावि घोषित भए । उनीहरुलाई प्रमाण तथा मेडलद्वारा सम्मानित गरिएको थियो ।
विजेता टिमलाई नगद पच्चीस हजार रुपैयाँ र उपविजेतालाई नगद पन्ध्र हजार रुपैयाँसहित ट्रफी तथा मेडल प्रदान गरिएको थियो । कार्यक्रममा महिला राष्ट्रिय क्रिकेट खेलाडीहरु सबनम राई, काजोल श्रेष्ठ, कविता राई, संगीता थापालाई मायाको चिनो प्रदान गरिएको थियो ।
पुस १६ देखि २४ गतेसम्म सञ्चालन भएको प्रतियोगितामा काँकरभिट्टा, धुलाबारी, धाइजन, चारआली र बिर्तामोडमा १४ वटा कलेजले सहभागिता जनाएका थिए । 
स्वतन्त्र विद्यार्थी युनियन काँकरभिट्टा बहुमुखी क्याम्पसका सभापति सुरज सुवेदीको सभापतित्वमा सम्पन्न भएको कार्यक्रमको सञ्चालन सदस्य भरत चौलागाई गरेका थिए । 

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता