
इलाम, पुस २४ – इलाम नगरपालिका ५ मा बौद्धिक अपाङ्गता भएका २३ जना विद्यार्थीहरुलाई जाडो छल्न न्यानो कपडा सोमबार वितरण गरिएको छ । जिल्लाको अमर उच्च मावि बरबोटे स्कूलमा रहेको बौद्धिक अपाङ्गता स्रोत केन्द्रमा रहेका विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको प्रवासी इलामेली जनसम्पर्क मञ्च मलेसियाले जनाएको छ ।
प्रवासी इलामेलीहरूको बाँच र बचाऔ भन्ने नाराका साथ ३५ हजार बराबरको जम्पर , ट्रयाक , मोजा र पञ्जा वितरण गरिएको मञ्चका सल्लाहकार बुद्धिमान राईले जानकारी दिनुभयो ।
कपडा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गाविन्द पौडेलको अध्यक्षतामा मञ्चका सदस्य होम प्रसाद भट्टराईले विद्यार्थीहरुलाई हस्तान्तरण गरेको बताइएको छ । काठमाण्डौ बाट अमित कुमार श्रेष्ठ, केसाङ लामा (यल्मु)ले कपडा इलामसम्म ल्याउन सहयोग गर्नुभएको हो ।
विगत लामो समयदेखि मञ्चले मलेसियामा दुःख पाएका श्रमिकलाई सहयोग , जेलमा परेकाको उद्धार , रकम नभएकाले स्वदेश फर्कन नसकेका नेपालीहरुलाई प्लेन टिकट उपलब्ध गराउने लगाउतका सहयोग गर्दै आएको छ ।