
नेपाली कांग्रेसले चुनावमा पराजय बेहोरेपछि पार्टीको नेतृत्व असफल भयो भनेर एक पक्षले सभापति शेरबहादुर देउवाको आलोचना गरेको छ । अर्को पक्षले हारको दोष एक जनालाई मात्र लगाउन नमिल्ने भनिरहेको छ । युवा नेताहरुले भने एक अर्कालाई दोष लगाउने प्रवृत्ति हटाएर केन्द्रीय समिति र महासमिति बैठक बसेर गम्भीर समीक्षा गर्नुपर्ने बताएका छन् । यिनै विषयमा केन्द्रीत रहेर कांग्रेस युवा नेता विश्वप्रकाश शर्मासँग गरिएको कुराकानी :
अब नेपाली कांग्रेसको बाटो के हुन्छ ?
नेपाली कांग्रेस लोकतन्त्रलाई समृद्ध र बलियो बनाउने अभियानमा लाग्छ ।
सत्ता कि प्रतिपक्ष ?
नेपाली कांग्रेसलाई निर्वाचन प्रक्रियामार्फत जनताले सत्तामा जाने जनादेश दिँदा सरकार चलाएको थियो । प्रतिपक्षमा बस्ने जनादेश दिँदा प्रतिपक्षमा बसको थियो । अहिले पनि प्रतिपक्षमा बस्ने जनादेश दिएकाले प्रतिपक्षमै बस्छ ।
पुष्पकमल दाहाललाई प्रधानमन्त्री बनाएर सत्तामा जाने कुरा कांग्रेसकै नेताहरुले गरिरहेका छन् नि ?
कुन पार्टीको कुन नेताले कुन सन्दर्भमा कहाँ के भन्ने कुरा फरक कुरा हो । नेपाली जनताले कांग्रेसलाई दिएको म्यान्डेट प्रतिपक्षमा बस्ने नै हो । जनताले कांग्रेसलाई रुपान्तरित हुने म्यान्डेट दिएका छन् । वामगठबन्धनलाई सरकार चलाउने म्यान्डेट दिएका छन् । त्यसैले कांग्रेस प्रतिपक्षमा नै रहन्छ । कोही नेताले राजनीतिक खेलको रुपमा दाहाललाई प्रधानमन्त्री बनाउने कुरा गरेको हुन सक्छ । किनकि, राजनीति भनेको खेल पनि हो । सम्भावनाको खेलमा जे पनि हुन सक्छ । के गर्नु उचित हुन्छ त्यो चाहिँ मुख्य कुरा हो । अब जिम्मेवार प्रतिपक्षको उदाहरण कांग्रेस बन्नुपर्छ ।
सरकारमा बस्दा कांग्रेसले किन केही काम गर्न सकेन?
पटक पटक गरेर धेरै समय कांग्रेस सरकारमा बस्यो । तर, एउटै सरकार स्थिर हुन सकेन । हिंसा, अस्थिरता, राजाको शासनका बीचमा कांग्रेसले सरकार चलाउँदा पनि केही न केही काम भएका छन् ।
सरकार बिना कांग्रेस बस्नै सक्दैन ?
राजनीतिक दलले पनि स्वभाविक रुपमा सत्ता सञ्चालन गर्ने चाहना राख्नु सामान्य हो । तर, कांग्रेसको समग्र जीवनमा एक चौथाई समय मात्रै सरकारमा बसेको छ । त्यसैले कांग्रेस सरकार बाहिर हुनु कुनै नौलो कुरा होइन ।
कांग्रेस महामन्त्री शशांक कोइरालाले दाहाललाई प्रधानमन्त्री बनाउनुपर्छ भनेर सार्वजनिक अभिव्यक्ति दिनुभयो नि ?
महामन्त्री कोइरालाले त्यो भन्नुभयो भनेर मैले सुनेको छैन । तर, उहाँले दाहालसँग सम्वाद गर्छु भन्नुभएको हुन सक्छ । त्यसो भन्दै गर्दा वामगठबन्धन टुटाउने कुरा गर्नुभएको हो भने जिम्मेवार राजनीतिज्ञको हिसाबले त्यसो भन्नु हुँदैनथ्यो । उहाँको त्यो धारणा कांग्रेसको साझा धारणा होइन ।
यसपटकको चुनावले के सन्देश दिएको छ ?
वामगठबन्धनलाई सरकार चलाउने म्यान्डेट जनताले दिएका छन् । त्यसलाई नेपाली कांग्रेसले पनि सम्मान गर्नुपर्छ । दोस्रो सन्देश भनेको जिम्मेवार प्रतिपक्ष कस्तो हुन्छ भन्ने कुरा नेपाली कांग्रेसले देखाउन सक्नुपर्छ । तेस्रो म्यान्डेट भनेको जनताले समानुपातिकतर्फ धेरै मत दिँदा दिँदै पनि प्रत्यक्षतर्फ कम निर्वाचित हुन सकियो । त्यसको अर्थ कांग्रेसप्रति जनताको विश्वास घटेको छैन भन्ने हो । विगतमा देशको परिवर्तनका लागि जनताले कांग्रेसलाई जिम्मा दिए । अहिले कांग्रेस आफैँ परिवर्तन हुनुपर्छ भन्ने म्यान्डेट दिएका छन् ।
कांग्रेस नेताहरुको स्वार्थका आधारमा चल्ने गरेको आरोप छ नि ?
हामीले हरेक कुरालाई नकारात्मक तरिकाले हेर्नु हुँदैन । जनताले हिंसामा गुज्रिएको देशलाई शान्तिमा ल्याउन दिएको जनादेश पूरा गरेको छ, कांग्रेसले । अरु दलका चारजना प्रधानमन्त्री बन्दा संविधान बनेन । कांग्रेसको नेतृत्वमा संविधान बनाउन भनेर जनताले म्यान्डेट दिए । त्यो पनि पूरा भयो । मधेशको विद्रोहलाई विश्वासमा लिएर कांग्रेसले नै समाधान गर्यो । मधेशी जनतालाई निर्वाचनबाट भाग्न बाध्य अरुले बनाए । कांग्रेसले निर्वाचनमा सहभागी गरायो । यि सबै काम कांग्रेसले जनताको म्यान्डेटअनुसार गरेको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवा किन कुर्सीमा बसिरहनुभएको ?
प्रधानमन्त्रीले राजिनामा दिनुपर्छ भन्दै गर्दा कतिपयले संविधान नबुझेको देखियो । नयाँ सरकार बन्ने प्रक्रिया धेरै छन् । प्रधानमन्त्रीको मृत्यु भएमा, राजीनामा दिएमा र अविश्वासको प्रस्ताव पास भएमा नयाँ सरकार बन्ने हो । निर्वाचनबाट म्यान्डेट लिएर आएको अर्को दलको नेतालाई प्रधानमन्त्री बन्नबाट देउवाले रोक्नुभएकै छैन । प्रधानमन्त्री देउवा लोकप्रियतातिर मात्रै जानुभएको भए राजीनामा दिएर घर गएर सुत्नुहुन्थ्यो । तर त्यो बेलामा के प्रश्न उठ्थ्यो भने चुनाव हार्यो भन्दैमा संवैधानिक र राजनीतिक उल्झन समाधान नगरी चुपचाप बस्न मिल्छ ? त्यसकारण देउवाको आलोचना गरौँ ? प्रधानन्यायाधीश विरुद्धको महाअभियोग, आइजीपी प्रकरण जस्ता कुरामा आलोचना गरौँ । तर यो बेलामा उहाँले जिम्मेवार कदम चालिरहनुभएको छ । एउटा प्रधानमन्त्रीले मार्ग प्रशस्त गर्ने भनेको सबै काम थाँती राखेर राजीनामा दिनु होइन । राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेश पारित गराउन भूमिका खेल्नुभयो । अस्थायी प्रदेश राजधानी तोक्ने र प्रदेश प्रमुख तोक्ने काम गर्नै पर्छ । नत्र प्रदेशसभा कसरी बस्छ । प्रदेशसभा बसेपछि मात्रै राष्ट्रियसभा गठन हुन्छ । त्यसपछि मात्रै प्रतिनिधिसभाको पूर्ण गठन हुन्छ । नयाँ सरकार बनाउनका लागि निर्वाचन आयोगले निर्वाचनको नतिजा सार्वजनिक गर्नुपर्छ । त्यसपछि बहुमत प्राप्त दलको नेतालाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्ने वा बहुमत प्राप्त दल नभएमा २ वा सोभन्दा बढी दल मिलेर सरकार बनाउने प्रक्रिया हुन्छ ।
इमानदारिता चाहिँदैन राजनीतिमा ?
नैतिकता र इमानदारिता कहाँ भएन, मलाई बुँदागत रुपमा भन्नुस् त । मैले भनिसकेँ त । त्यसरी राजीनामा दिएको भए जिम्मेवारी पूरा नगरी छोडेर गयो भन्ने आरोप लाग्थ्यो ।
नयाँ सरकारले बाँकी काम गरिहाल्थ्यो नि ?
प्रदेशसभाको प्रमुख नतोकि राजीनामा दिएको खण्डमा नयाँ सरकार कसरी बन्छ ? प्रदेशसभा गठन भएपछि राष्ट्रियसभा गठन हुन्छ । त्यसपछि बल्ल प्रतिनिधीसभाले पूर्णता पाउँछ । अनि बल्ल नयाँ सरकराको बाटो खुल्छ । संविधान अनुसार त चल्नुपर्यो नि ।
काम चलाउ प्रधानमन्त्रीको रुपमा पनि त काम गर्न सकिन्थ्यो नि ?
अहिलेको सरकार त काम चलाउ बनिसकेको छ । राजीनामा दिएपछि मात्रै काम चलाउन बन्ने होइन । निर्वाचनको प्रक्रिया सकिएपछि देउवाले राजीनामा दिनै पर्दैन । उहाँ स्वतः काम चलाउ बनिसक्नुभएको छ । तर जाँदाजाँदै गर्नुपर्ने कर्म पूरा नगरेर त समाधान हुँदैन नि । प्रदेशसभाका सदस्यलाई बाटोमा पेडा बेच्न बसेको मान्छेले सपथ खुवाएर त हुँदैन नि ।
कांग्रेसका युवा नेताहरुले नेतृत्व परिवर्तनको कुरा उठाएका छन् नि ?
अरुले जनाएको प्रतिक्रियामाथि प्रतिक्रिया जनाउने कुरामा म सहमत छैन । कुन बेला कसले के भन्यो भन्नेतिर म जान चाहन्न । मेरो प्रिय भाइ गगन थापा र म सहित सात जनाले साझा विज्ञप्ति निकालेका हौँ । हामीले ७० वर्ष नाघेकाले नेतृत्व छोड्नुपर्छ पनि भनेका छैनौँ । विशेष महाधिवेशन बोलाउनुपर्छ पनि भनेका छैनौँ । हामीले चुनावमा हारेको कुरालाई गम्भीरतापूर्वक लिनुपर्छ भनेका छौँ । पार्टी रुपान्तरित भएर अघि बढ्नुपर्छ भन्ने हाम्रो धारणा हो । केन्द्रीय समिति र महासमिति बैठक बसेर समीक्षा गर्नुपर्छ भनेका हौँ । समाधानका उपाय खोज्ने बाटो हामीले स्पष्ट पारेका छौँ ।
युवा नेतृत्व अगाडि आउनुपर्छ कि पर्दैन ?
म एज (उमेर) होइन एजेण्डालाई प्राथमिकता दिन्छु । ७० वर्षकाले छोड्ने बित्तिकै कांग्रेस तङ्ग्रिने छ भन्ने कसैलाई लाग्यो भने त्यो उसको विचार हो । ८६ वर्षका गिरिजाप्रसाद कोइरालाले ५६ वर्षका दाहाललाई कुनैबेला डो¥याएका थिए । ४७ वर्षका बाराक ओबामाले ६५ वर्षका जोन लकिमलाई हराएका थिए । राहुल गान्धी युवा छन, तर एजेण्डाले जितेर अघि बढिरहेका छन् । एजेण्डाकै कारण नरेन्द्र मोदी बुढो भए पनि चुनाव जितेर आए । त्यसकारण राजनीतिमा उमेरभन्दा एजेण्डा र पुस्ताभन्दा प्रवृत्तिलाई जोड दिनुपर्छ भन्ने मेरो धारणा हो ।
कांग्रेसमा नेतृत्व परिवर्तन जरुरी छैन ?
कालो कपाल हुँदैमा योग्य हुने र सेतो कपाल हुँदैमा अयोग्य हुने भन्ने होइन ।
तपाई देउवाको पक्षमा उभिनुभएको हो ?
म नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको पक्षमा छु । म कांग्रेसको पक्षमा छु ।