
इलाम, २२ पुस: इलाम नगरपालिका १० मा रहेको माईभगवती बृद्धाश्रमका बृद्धबृद्धाहरुलाई शनिबार जाडोमा लगाउने कपडा वितरण गरिएको छ । इलाम निर्वाचन क्षेत्र नम्बर २ (१) का नेपाली कांग्रेसका प्रदेश सभा सदस्यका प्रत्यासी उम्मेद्वार तथा समाजसेवी डम्बर खडकाले ज्याकेट, टोपी, बर्की, जुत्ता मोजा, फलफुल, खाद्याान्न र नगद समेत वितरण गरेका छन् ।
शनिबार श्रीमती प्रमिला, छोरा सक्षम सहित बृद्धाश्रम पुगेर उनले आश्रममा रहेका १२ जना बृद्धबृद्धाहरुलाई सो सामाग्री हस्तान्तरण गरेका हुन् । उनले विभिन्न सञ्चारमाध्यमा त्यहाँ रहेका बृद्धबृद्धालाई समस्या भएको खबर बाहिर आएकाले सहयोेग गरेको बताए । बृद्धबृद्धा समाजका मार्गदर्शक भएकाले उनीहरुलाई सम्मान गर्नु पर्छ भन्ने सन्देश प्रवाह गर्न पनि सहयोग गरेको बताए । हिजोका दिनमा पनि बृद्धबृद्धालाई सहयोग गरेको र भोलीका दिनमा पनि निरन्तर सहयोग गर्ने उनले प्रतिवद्धता जनाए । बृद्धबृद्धाको स्याहार सुसाहारका लागि एक जना कर्मचारी ब्यवस्थापन गरिएको छ । बृद्धाश्रममा हाल आठ जना बृद्धा र चारजना बृद्धहरु रहेका छन् । महिला जागरण संघ इलामद्धारा प्रवद्र्धित बृद्धाश्रम १३ रोपनी क्षेत्रफलमा फैैलिएको कमचारी दुर्गा पाठकले बताइन् ।