इलाम बजारमा खानेपानी हाहाकार, सडक निर्माणको क्रममा ३०० मिटर पाइप लाईन टुट्यो

इलाम, २३ पुसः खानेपानीको पाइपमा क्षति पुगेपछि इलाम सदरमुकाममा खानेपानीको आपूर्ति ठप्प भएको छ । सन्दकपुर गाउँपालिका माइमुझवाको गिताङ खोलाबाट ल्याईएको खानेपानीको मुहानमा स्थानीयले सडक निर्माण गर्ने क्रममा शुक्रबार माथिबाट खसेको ढुङ्गाले पाइपमा क्षति पुगेपछि पानीको आपूर्ति बन्द भएको हो । पानीको आपूर्ति बन्द भएपछि बजारमा पानीको हाहाकार सुरु भएको छ ।
सदरमुकामबाट ३१ किलोमिटर टाढाको मुहान क्षेत्रमा पाइप लाइन बिग्रिएर आपूर्ति बन्द भएपछि इलाम नगरका ३ हजार सात सय २० धाराका करिब ५० हजार उपभोक्तामा पिउने पानीबाट वञ्चित भएका छन् । सडक निर्माणका क्रममा खसेको ढुङ्गाले खानेपानीको तीन सय मिटर पाइप क्षतिग्रस्त भएको छ । १ सय १० मिलिमिटरको ३ सय मिटर जीआई पाइपमा क्षति पुगेको इलाम नगरपालिकाका सव इन्जिनियर मेघनाथ ढुङ्गानाले जानकारी दिए । पाइपमा निकै क्षति पुगेकाले मर्मत गर्न केही दिन लाग्न सक्ने सवइन्जिनियर ढुङ्गानाले बताए । ‘पाइप खरिद गर्न, ढुवानी गर्न र मर्मत गरिसक्न केही दिन लाग्न सक्छ’ उनले भने ।
उपभोक्ता समितिको लापारवाहीको कारण मानिसले पानी पिउने अधिकारबाट समेत वञ्चित हुनुपरेको इलाम नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेन्द्रकुमार खाम्याहाङले बताए । ‘विकास गर्दा भोलिका लागि संरचना जोगाएर गर्नुपर्ने हो । दिगो विकासको रणनीति अपनाएर विकास गर्नुपर्ने हो’ खाम्यहाङले भने, ‘जथाभावी लापरवाही गरियो । नत छलफल भयो, नत नगरपालिकालाई जानकारी दिईयो । यो त गैरमानवीय काम भएको छ ।’
खानेपानी सुचारु गर्न सो क्षतिग्रस्त क्षेत्रमा शुक्रबारदेखि नै पाँच जनाको टोली कार्यरत छन् । शनिबार प्राविधिक सहितको थप टोली परिचालन गरिएको प्रमुख प्रशासकीय अधिकृत खाम्याहाङले बताए । यता उपभोक्ता समितिले भने इलाम नगरपालिकालाई जानकारी गराएर नै आफूहरुले सडक निर्माण सुरु गरेको भन्दै पाइप क्षति गर्ने नियत नभएको दाबी गरेको छ । ‘पाइप जोगाउन नसकिने अवस्थाले सामान्य केही क्षति पुगेको होला’ उपभोक्ता समितिका सचिव मुकेश राईले भने, ‘बाटो खोलिसकेपछि पुन पाइप जोड्न मिल्छ । त्यसका लागि आवश्यक समन्वय र छलफल गरौंला ।’ 
सो बाटो खुल्न अझै ३ दिन जति लाग्ने उनले बताए । सो क्षेत्रमा देउराली हुँदै जीतपाले गोरुवाले सन्दकपुर जोड्ने मोटरबाटो निर्माण भईरहेको छ । सन्दकपुर गाउँपालिकाबाट विनियोजित ५० लाख रुपैयाँको सडक निर्माण भईरहेको हो । त्यस क्षेत्रका बासिन्दाको लापावाहीका कारण वर्षेनी इलाम नगरवासीले खानेपानीमा सास्ती भोग्दै आएका छन् । मुहान आसपासमा स्थानीयले गर्ने विभिन्न विकास निर्माणका कार्यमा लापरवाहीले नगरवासीलाई सास्ती व्यहोर्न बाध्य भएको इलाम नगरबासीको गुनासो छ । नगरपालिकाले उपभोक्ताहरुलाई मर्मतको काम भईरहेकाले तत्काल नगरवासीलाई पानीको आपूर्ति गर्न नसकिने सूचना स्थानीय सञ्चार माध्यममार्फत प्रशारण गरिरहेको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता