बिर्तामोडमा सिसी क्यामेरा राखिने

  • मनिषा चम्लागाई 

बिर्तामोड, २६ पुसः बिर्तामोड नगरपालिकालाई स्मार्ट सिटी बनाउने योजना अघि सारिएको केही समय बितिसकेको छ । यसलाई मुर्तरुप दिन मंगलबार प्रारम्भिकचरणको औपचारिक छलफल भएको छ । छलफलमा सिसी क्यामेरा जडान गर्ने विषयले प्रवेश पायो । 
बिर्तामोडको शान्ति सुरक्षाका लागि विभिन्न स्थानमा सिसी क्यामेरा जडान गर्ने सम्बन्धमा बिर्तामोड उद्योग वाणिज्य संघको संयोजनमा भएको छलफलमा बिर्तामोड नगरपालिकाको विकासका लागि सिसी क्यामेरा पहिलो आवश्यकता भएकोमा जोड दिइएको छ । 
प्रविधिको विकाससँगै नगरपालिकालाई विकसित बनाउनका लागि सुरक्षा अत्यावश्यक रहेको कार्यक्रममा सहभागीले बताए । सिसी क्यामेरा जडानसँगै सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउन सकिने उनीहरुको तर्क छ । 
कार्यक्रममा इलाका प्रहरी कार्यलय बिर्तामोडका प्रमुख कृष्णप्रसाद  कोइरालाले सुरक्षा व्यवस्था मजबुत बनाउनका लागि सरोकारवाला निकायसँग सहकार्य गर्दै अभियानलाई सफल बनाउने बताएका छन् । कोइरालाले सिसी क्यामेरा जडान सम्बन्धि कार्ययोजना पेस गरे । बिर्तामोडको मुक्तिचोकदेखि पूर्वमा बसपार्क, पश्चिममा चारपानेचोक , उत्तरमा महानन्दचोक र दक्षिणमा बिर्ताबजारसम्मलाई केन्द्रित गरी सिसी क्यामेरा जडान गरिने बताइएको छ । प्रारम्भिक चरणमा ४५ दिन भित्रमा चारपानेलाई केन्द्रित गरी १५ वटा क्यामेरा जडान गरिने कार्य योजना रहेको छ । 
कार्यक्रममा सहभागीले क्यामेरा जडानमा लाग्ने लागतको ६० प्रतिशत स्थानीय सरकार र ४० प्रतिशत स्थानीय व्यवसायीले जुटाउने भएका छन् । 
छलफलमा बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराईले सिसी क्यामेराको जडानले अपाराधिक घटना न्युनीकरण हुने बताए ।  क्यामेरा जडानलाई नतिजामुखी बनाउन उद्योग वाणिज्य संघ लागि पर्ने बताए । 
कार्यक्रममा नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष तारामणि सापकोटा,  नेपाल रेडक्रस सोसाइटी बिर्तामोड उपशाखाका सभापति सजेश शिवाकोटी, रोटरी क्लव अफ बिर्तामोडका अध्यक्ष बिनोद बस्नेत, विरता जेसीजका अध्यक्ष सञ्जु भारती लगायतले  छलफलमा आ-आफ्नो भनाई राखेको थिए ।  
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता