साविक चकचकी गाविस खुल्ला दिशामुक्त घोषण

चकचकी, ३ माघः गाउँमा खुल्ला दिसामुक्त अभियान शुरु भएपछि अभियानकर्ताहरुले सबै घरमा पुगेर चर्पीको महत्व बुझाउन थाले र चर्पी बनाउन अनुरोध गरे । तर, अर्काको जग्गामा अस्थायी घर बनाएर बसेकी झापाको बाह्रदशी गाउँपालिका, वडा नं. ४ चकचकीकी ललिता राजवंशीका लागि चर्पी बनाउनु पनि निकै कठिन थियो । न आफ्नो जग्गा, न चर्पी बनाउने पैसा । दैनिक मजदूरी गरेर चार जनाको परिवार पाल्नुपर्ने वाध्यता थियो ललिताका लागि । संसार हेर्ने आँखा पाकेर धमिलिंदा समेत उपचार गर्ने पैसा थिएन ललितासँग । यही वाध्यताको बीचमा पनि उहाँले मजदूरी गरेको पैसा जम्मा गरेर चर्पी बनाउनुभयो आफू बसिरहेको जग्गामा । नपुगेको पैसा कर्जा लिनुभयो ।
“पहिलो त जग्गाधनीले चर्पी बनाउन दिनुभएन”, ललिताले भन्नुभयो, “ज्यादै अनुरोध गरेपछि बनाउन दिनुभयो, र बनाएँ ।” चर्पी त बनिसक्यो, तर चर्पी बनाउनका लागि लिएको कर्जा तिर्नुपर्ने वाध्यता एकातर्फ, अर्कोतर्फ आँखाको उपचार गर्ने पैसाको अभाव । “चर्पी नबनाएको भए पनि हुनेरहेछ कि जस्तो लागेको थियो”, उहाँले भन्नुभयो, “म गरिबले पैसा खोजेर चर्पी बनाएँ, तर अरु धनीमानीहरुले पनि बनाएका थिएनन् ।”
समुदायले चन्दा उठाएर उहाँको आँखाको उपचार गराइदिए । “उनको चर्पी बनाउने सामथ्र्य त छँदैथिएन, साँझ विहान छाक टार्न समेत मुस्किल थियो”, वडा सदस्य सामप्रसाद ताजपुरियाले भन्नुभयो, “तर पनि हाम्रो अनुरोधलाई स्वीकार गरेर उनले चर्पी बनाइछाडिन् ।”
माघ २ गते चकचकी गाउँ खुल्ला दिसामुक्त हुँदैछ भन्ने खवर गाउँमा फैलियो । “के रहेछ, हेरौं न त भनेर आएकी थिएँ”, खुल्ला दिसामुक्त घोषणा समारोहमा उहाँले भन्नुभयो, “मैले चर्पी बनाएको काम ज्यादै राम्रो रहेछ भन्ने कुरा आज सम्मानित भएपछिमात्र थाहा पाएँ ।”
आफ्नै लगानीमा चर्पी बनाउने अति विपन्न ललिता राजवंशीका साथै कालु राजवंशीलाई समेत गाउँपालिकाले मंगलबार साविक चकचकी गाविस खुल्ला दिसामुक्त घोषणा समारोहको अवसर पारेर सम्मान ग¥यो । जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति झापाका अध्यक्ष सोमनाथ पोर्तेलले नगद पुरस्कार सहित उहाँहरुलाई सम्मानित गर्नुभएको हो । “मैले पाँच हजार खर्च गरेर चर्पी बनाएको थिएँ । पहिले त चर्पी किन बनाएछुजस्तो लाागेको थियो”, सम्मानित भएपछि कालु राजवंशीले प्रफुल्ल मुद्रामा सुनाउनुभयो, “आज म सम्मानित भएँ । अरुले नपाएको पुरस्कार मैले पाएँ ।” कालुले यसो भनिरहँदा छेवैमा रहेकी ललिताले थप्नुभयो, “तिमी र म नै रहेछौं गाउँपालिकाको अनुरोधलाई मानेर बेलैमा चर्पी बनाउने । त्यसैले त हामी दुई जनालेमात्र यो सम्मान पायौं ।”
२३८३ घरधुरी रहेको साविक चकचकीमा ग्र्रामीण खानेपानी तथा सरसफाइ कोष विकास समितिको सहयोगमा सहारा नेपालले खुल्ला दिसामुक्त अभियान सहजीकरण गरेको हो । अभियान सहजीकरण गर्नुअघि १७०७ घरधुरीमा चर्पी रहेकोमा अभियानपश्चात् बाँकी ६७६ घरधुरीमा सुरक्षित शौचालयको निर्माण भएको जानकारी कार्यक्रमका अध्यक्ष भुपेन्द्र कटुवालले दिनुभयो ।
चकचकी खुल्ला दिसामुक्त घोषणा समारोहको अवसरमा कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति झापाका प्रमुख एवम् जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति झापाका अध्यक्ष सोमनाथ पोर्तेल, बाह्रदशी गाउँपालिकाका अध्यक्ष खड्ग राजवंशी, लगायतले खुल्ला दिसामुक्त अभियानमा सहयोग गर्ने व्यक्ति तथा संस्थाहरुलालाई सम्मानित गर्नुभयो ।
घोषणा समारोहका सहभागीहरुले खुल्लामा दिसा नगर्ने र चकचकीलाई पूर्ण सरसफाइउन्मुख गाउँ बनाउने प्रतिवद्धता समेत सो अवसरमा व्यक्त गर्नुभएको थियो ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता