
बिर्तामोड, २८ पुसः चुरेक्षेत्र संरक्षणका लागि एकीकृत बजेटको आवश्यकता रहेको सरोकारवालाहरुले बताएका छन् । बिहीबार झापाको कनकाई नगरपालिकामा आयोजित छलफल कार्यक्रममा सरोकारवालाले चुरेक्षेत्र संरक्षणका लागि यस्तो आवश्यक्तामा जोड दिइएका हुन् । चुरेक्षेत्रबाट हुने विभिन्न क्षति नियन्त्रणका विभिन्न निकायमा छुट्टिएको बजेट अपुग भएका कारण सबै बजेटलाई एकीकृत गर्नु पर्नेमा जोड दिइएको हो ।
जिल्ला वन कार्यालय भुसंरक्षण कार्यालय, जल उत्पन्न प्रकोप नियन्त्रण कार्यालयबाट चुरेक्षेत्र संरक्षण तथा क्षति नियुनिकरणका लागि विभिन्न शीर्षकमा बजेट छुटिट्ने गरेको छ । छलफलमा उक्त बजेटलाई संयुक्त गरी कार्य गर्न सके चुरेक्षेत्र संरक्षण हुने र यसबाट हुने क्षति पनि नियन्त्रण गर्न सकिने कार्यक्रममा बताइयो । कार्यक्रमको अध्यक्षता समेत गरेका झापा क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्य एलपी सावाँले चुरेक्षेत्र संरक्षणका लागि सबै मिलेर कार्य गर्नु पर्नेमा जोड दिए ।
यस्तै कार्यक्रमका संयोजक एवम् झापा ४ का प्रदेशसभा सदस्य हिरा थापाले चुरेक्षेत्र संरक्षणकै लागि छुट्टिएको बजेट एकीकृत गरी प्रयोग गर्ने विषयमा भुसंरक्षण कार्यालय र जल उत्पन्न प्रकोप नियन्त्रण कार्यालले आनाकानी गरेको दुखेसो गरे । छलफलमा बिरिङ कनकाई चुरेक्षेत्रको एउटा ब्लक बनाइ सर्वप्रथम त्यसका लागि कार्य गर्ने समझदारी समेत बनेको छ । यसका लागि पर्शुराम गिरीलाई संयोजक तोकी कनकाई नगरपालिका, जिल्ला वन कार्यालय , भुसंरक्षण कार्यालय र जल उत्पन्न प्रकोप नियन्त्रण कार्यालय सम्मिलित समितिको प्रस्ताव गरिएको छ । रुख कटानी, फडानी , चोरी निकासी, आगलागी लगायतका कारण चुरेक्षेत्र संकटमा पर्दै आएको छ । वर्षाको समयमा खोला तथा खहरेबाट चुरेक्षेत्रको बालुवा , गिटी , ढुङगा बगेर आउने कारण खोला अनियन्त्रित भएर बग्ने गरेको छ । कार्यक्रममा जिल्ला वन कार्यालय इलामका उपप्रमुख गोपालप्रसाद भट्टराई , कनकाई नगर प्रमुख राजेन्द्र पोखरेल लगायतले बोलेका थिए ।