
काँकरभिट्टामा, २४ पुसः काँकरभिट्टामा सञ्चालित दिव्य ज्योति आइ एण्ड ईयर केयर सेन्टर प्रालिको सोमबार सम्पन्न एक भेलाले समाजसेवी बन्धनकुमार मुण्डाको संयोजकत्वमा प्रालिको संरक्षण समिति गठन गरेको छ ।
सेन्टरका मेडिकल डाइरेक्टर डा. मोनिका कर्माचार्यको अध्यक्षतामा प्रालि परिसरमा आयोजित छलफलले मेचीनगर क्षेत्रका सामाजिक अगुवा मुण्डाको संयोजकत्वमा ७ सदस्यीय दिव्यज्योति संरक्षण समिति गठन गरेको हो ।
उक्त समितिको सदस्य सचिवमा डा. मोनिका कर्माचार्य, सदस्यहरुमा सामाजिक क्षेत्रमा क्रियाशिल रामप्रसाद ओली, गीता खड्का, मीना दवाडी, सुमन थापा र दिवाकर कार्कीलाई चयन गरिएको छ । समितिको कानूनी सल्लाहकारमा अधिवक्ता हरि अधिकारी छन् ।
नगर क्षेत्रमा सञ्चालित स्वास्थ्य संस्थाहरुबीचको आपसी सौहार्दतालाई सुदृढ बनाउने, समान उद्धेश्यले स्थापना भई सञ्चालनमा रहेका स्वास्थ्य संस्थाबीचको स्वस्थ प्रतिष्पर्धामा सघाउ पुर्याउने, सेवाग्राहीलाई प्रवाह गरिँदै आइएको सेवा सुविधालाई समय सापेक्ष थप गुणस्तरीय बनाउन आवश्यक सुझाव संकलन गर्नेलगायतका विविध स्वास्थ्य मैत्री उद्धेश्यले संरक्षण समिति गठन गरिएको बताइएको छ ।
दिव्यज्योतिले पूर्वी नेपालको काँकरभिट्टामा कार्यालय स्थापना गरी सीमा वारि र पारीका सेवाग्राहीलाई गुणस्तरीय एवँ सर्वसुलभ शुल्कमा आँखा र कान सम्बन्धि उपचार सेवा पुर्याउँदै आएको छ ।
नगर क्षेत्रका विभिन्न संघ संस्थाले यसअघि आयोजना गरेका आँखा तथा कान सम्बन्धि निशुल्क स्वास्थ्य शिविरमा दिव्यज्योतिले प्राविधिक रुपमा सहयोग गर्दै आएको छ ।