बहुमुखी प्रतिभाका सिपाही

मेचीनगर, २ माघः मानिसले समय व्यवस्थापन गर्न सक्यो भने सफलता एकपछि अर्को गर्दै लाम लाग्छ । यसको उदाहरण हुन् काठमाडौँका दिपक कोइराला ।
जो सशस्त्र प्रहरीमा कार्यरत छन् । धेरैले उनलाई नजिकबाट चिन्न नसकेको हुन सक्छ । किनभने उनी आफ्नो पेशालाई नै प्रमुख बनाएर काम गर्छन् । जुन ठाउँमा गएर काम गर्छन् ।  त्यसैलाई उनले आफ्नो प्रमुख जिम्मेवारी ठानेर सफलतापूर्वक सम्पन्न गर्छन् ।
कोही व्यक्तिले पाएको सानो सफलतालाई बाहिर ल्याउने चलन हाम्रो समाजमा प्रशस्त छन् । तर, बहुमुखी प्रतिभा भएर पनि आफूलाई प्रचारमा ल्याउन नचाहने व्यक्ति कमै हुन्छन् । त्यस मध्येका एक हुन् दिपक कोइराला ।
पत्रकारिता गर्दागर्दै सशस्त्र प्रहरीमा भर्ना भएका उनी गायक, अभिनेता, भिडिओ आर्टिस, उद्घोषक, शिक्षक, पत्रकार, लेखक तथा असल देशभक्त नागरिक हुन् । यति धेरै प्रतिभा भएर पनि उनी सधैँ आझेलमा रहिरहे । दुईवर्ष अघि झापाको बाहुनडाँगीमा आएका कोइराला, 
आफ्नो पेशाप्रति इमान्दार र कर्तव्य निष्ठ रहने सिपाइका एक सफल योद्धा हुन् । उनले बाहुनडाँगीमा रहँदा गरेको योगदानलाई बाहुनडाँगीबासीले इतिहासमा बिर्सने छैन् ।
जुन समयमा बाहुनडागीमा हात्ती आतङ्क थियो । दैनिकी जसो हात्तीले आतङ्क मच्चाउने, बाहुनडाँगीमा धेरैले ज्यान गुमाएका छन् । अनि दर्जनौ धाइते बनेका छन् । त्यही समयमा बाहुनडाँगीको नेतृत्व गर्न आएका कोइरालाका लागि हात्ती नियन्त्रण मुख्य चुनौति थियो । एकातिर हात्ती मार्न नपाउने अनि अर्काकातिर तिनै हात्तीले जनधनको क्षति गर्ने । यो पीडालाई कम गर्न उनका लागि फलामको चिउरा चपाउनु जस्तै थियो ।
दिनको डिउटी त छदैँ छ रातभरी पनि हात्ती खेदाउदँैमा बित्थ्यो । त्यही हात्ति खेद्ने क्रममा थुप्रै पटक हात्तीसँग जम्काभेट गरेका छन् दिपकले । अरुलाई सुरक्षा दिन अग्रपङ्तीमा रहने दिपक त्यही हात्तीको मुखबाट बचेका प्रतिभा हु्न् । उनी भन्छन, ‘मेरो यो चुनैति पनि थियो र अवसर पनि । जहाँ हात्तीबाट प्रताडित बनेका बाहुनडागीबासीलाई सुरक्षा दिनु मुख्य लक्ष्य हुन्थ्यो । त्यसमा बाहुनडाँगीबासीले पनि भरपुर साथ दिए ।’
मेचीनगरका ४ का वडाध्यक्ष नविन बराल भन्छन, दिपक सर एक कुशल , इमान्दार, लगनशिल र कर्तव्यनिष्ठ राष्ट्र सेवक मात्र हैन बहुप्रतिभा भएका राष्ट्रिय सम्पति पनि हुन । जसलाई जति धेरै प्रसंशा गरे पनि कमै हुन्छ । बराल थप्छन्,–‘बाहुनडाँगीमाबासीमा माझ अभिभावको भूमिका निर्वाह गर्नुभयो । जसले सशस्त्र प्रहरी र जनताबिचको सम्बन्धलाई सुमधुर बनाउनुभयो । बाहुनडाँगीमै पहिलो पटक आम जनतालाई सुचना दिनका लागि टोल टोलमा सशस्त्रको फोन नम्बर र माइकिङ गरेरै सबै किसिमका सुचना दिन आग्रह गर्नुभयो ।’०३७ बैशाख १ गते बुबा देवीप्रसाद कोइराला र आमा देवकुमारी कोइरालाका जेठा छोराका रुपमा दोलखा जिल्लामा जन्मिएका दिपक ६ वर्षको उमेरमा काठमाडौँ बसाइ सरेर गएका थिए । 
। उनको सम्पूर्ण शिक्षा काठमाडौँमा भयो । कोइरालाले २०५२ सालमा काठमाडौँ रत्न राज्यलक्ष्मी माविबाट एसएलसी उत्तीर्ण गरेका हुन् । विद्यालय पढ्दै गीत गाउने गरेका कोइराला गीत लेखन, टेलिचलचित्र लेखन, वृत्तचित्र लेखन, उदघोषण, अभिनयलगायतका क्षेत्रमा काम गरेका छन् । उनले दर्जनाँै गीत लेखेका छन् । टेलिचलचित्रमा अभिनयन गरेका छन् । त्यसमा पनि उनी नायकको भूमिका निर्वाह गर्छन् । विशेष गरेर उनका गीतमा सुरक्षाकर्मीका पीडा र वेदनाले भरिएका हुन्छन् ।
धानकै बाला झुलाँैला‘.. बर्षमा दिनको यो बडादशैँ‘‘‘, फौजीलाई कुन हो, दशैँ कुन हो चाड तिहार । ‘. राइफलको सिरानी‘., घरदेश परदेश‘..जस्ता कर्ण्प्रिय तथा लोकप्रिय गीतको रचना मात्र होइन, आफ्नै आवाज र अभिनय समेत गरेका छन् ।
उनका गीत संगीतमा राष्ट्रियता र नागरिक प्रतिको उत्तरदायित्वगत झल्को त हुन्छ नै । त्यो भन्दा बढी चाडपर्वमा पनि छुट्टी नपाउने सुरक्षाकर्मीलाई उत्साह र प्रेरणा भने अवश्य हुन्छ ।
अम्मरेको पुकार, नारी जस्ता चर्चित र लोकप्रिय टेलिसिरियलमा अभिनय गरेका कोइराला सफल कलाकार हुन् । उनले दर्जनौँ टेलिसिरियलमा अभिनय गरेका छन् । उनको अभिनयमा मिठास मात्र होइन, यथार्थ चित्रण पाइन्छ ।
२०७२ सालमा गएको भूकम्पका समयमा काठमाडौँमा थिए उनी । भाग्यले बाचेकाहरुलाई दिनरात उद्धार गरेका कोइरालाले उद्धार मात्र गरेनन् । त्यो दर्दनाक, कहालीलाग्दो दृष्यलाई कैद गरेर वृत्त चित्र छायाङ्कन तथा निर्माण गरे । जुन धेरै चुनौतीपूर्ण थियो ।
गणेश पाण्डेले निर्देशन गरेको भाग्यले बाँचेकाहरु बृत्तचित्र विश्वका १४ वटा देशमा प्रदर्शन भएको छ । जसले ३० वटा भन्दा बढी उत्कृष्ट अवार्ड प्राप्त गरेको छ । त्यो बृत्तचित्रको लेखक र त्यसमा आवाज दिने काम पनि उनी कोइरालाले गरेका थिए ।
उनी आफ्नो काममा जति कर्तव्यनिष्ठ छन् । त्यति नै सरल र मिजासिलो भावनाका पनि । सबैसँग समान व्यवहार गर्नु नै उनको खुबी हो । जसले उनका हरेक चुनौतीलाई सहजै सफल बनाउन सहयोग पुग्छ ।
आफ्नो कामका कारण चाडपर्वमा घर जान नपाएका सुरक्षाकर्मीको भावनालाई विशेष उनका गीतले सम्बोधन गर्छ । जुन समयमा दशैँ र तिहारको चटारो हुन्छ । त्यही समयमा आफ्नो जिम्मेवारी बढ्ने गरेकाले बेश क्याम्पमै चाडपर्व मनाएको दृष्यलाई कैद गर्दै शब्दद्वारा बाहिर ल्याउँछन् कोइराला ।
यसो त उनको परिचय यतिमा सीमित हुँदैन । उनले नेपाली पत्रकारितालाई नजिकबाट नियालेका छन् । ८ वर्ष पत्रकारिताको अनुभव बोटुलेका उनी परेर होइन, पढेर पत्रकारिता गर्ने व्यक्ति हुन् ।
रत्नराज्य लक्ष्मी क्याम्पसबाट पत्रकारिता विषयमा स्नातकोत्तर गरेका कोइरालाले २०५२ सालदेखि पत्रकारिता पेशामा काम गर्न थालेका थिए । नेपाली पत्रबाट सुरु पत्रकारिता गरेका उनले गोरखापत्र, सिमल मासिक, मधुमासलगायतका पत्रिकामा काम गरे । त्यस समयमा आफ्नो समाचार लेखेर सबै पत्रिकामा हाल्ने र पैसा लिने प्रचलन थियो । जुन उनले पनि त्यसै गरे ।
उनले पत्रकारिता गरेनन् मात्र । उनी जस्तै पत्रकारहरु जन्माए पनि । उनले पढाउका विद्यार्थीहरु अहिले राम्रै पत्रकारिता गरेर जीविकोपार्जन गरिरहेका छन् । जसले उनलाई गर्व लाग्ने गरेको बताउँछन् कोइराला ।
उनीसँग शिक्षक पेशाको पनि राम्रै अनुभव छ । उनले इन्टरनेसनल ट्रेनिङ सेन्टर डिल्लीबजारमा ५ वर्ष पत्रकारिता विषय अध्यापन गराएका थिए ।
सानैदेखि सरकारी जागिरप्रतिको मोह थियो रे कोइरालालाई । ‘कुनै समय सरकारी जागिर खाएर छोड्छु भन्ने थियो,’ कोइरालाले भने, ‘त्यसमा पनि बुबा सेनाको सुविधार मेजर भएकाले मलाई पनि बुबाले अँगालेको पेशातर्फ रुची बढ्यो र म पनि यही पेशामा लाग्ने अठोट गरे । सानामा जुन सपना देखेको थिएँ । त्यो पूरा भयो ।’
२०६० सालमा काठमाडौँमा सशस्त्र प्रहरीका लागि भर्ती खुल्यो । उनले सोझै असइमा नाम निकाले । त्यसपछि सुरु भयो उनको देश सेवाको कर्म । करिव ४ वर्ष असइ पदमा काम गरेका कोइरालाले २०६४ सालमा खुल्ला प्रतिस्पर्धाबाट इनिस्पेक्टरमा नाम निकाले ।
अहिले जनकपुरको जलेश्वरस्थित राजश्व तथा भन्सार सुरक्षा गुल्ममा काम गरिरहेका उनी पेशा मात्र होइन, आफ्नो मुख्य कर्तव्य अनि देशको रक्षाका लागि सधैँ लडिरहने बताउँछन् । ‘देशको सेवा गर्न पाएको छु,’ कोइरालाले भने, ‘अब जति समय बाँच्छु देशकै लागि बाँच्ने छु ।’ उनकी श्रीमती लीला कोइराला, २ छोरी र १ छोरा छन् ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता