नेपाल भारत सिमाको पशुपतिनगरमा पुनःनिर्माण गरिएको इलाका भवन उदघाटन

सुर्योदय (पशुपतिनगर), २ माघ : प्रदेश नम्बर १ का प्रहरी प्रमुख प्रहरी एआइजी पशुपती उपाध्यायले प्रहरी कार्यालयहरु पुनःनिर्माण गरिएपछि इलाका र प्रहरी चौकीले प्रदान गर्ने सेवामा आत्माबल समेत थपिएको महसुस भएको बताए । नेपाल भारत सिमाको पशुपतिनगरमा पुनःनिर्माण गरिएको इलाका भवन उदघाटन गर्दै उनले भने “अब कार्य क्षमतामा पनि सुधारको महसुस हुनेछ ।” उनले प्रहरीमा पनि प्रविधि अनुसार अनुसन्धानको विधि परिवर्तन हुँदै गएकाले नागरिकमा परिवर्तनको महसुस हुने धारणा राखे । 
२०६० साल चैत्र २५ गते क्षतिग्रस्त भएको पशुपतिनगरको भवन निर्माणको लागी नेपाल सरकार शान्ति तथा पुनःनिर्माण मन्त्रालय शान्तिकोष सचिवालयबाट १ करोड ६४ लाख ३१ हजार ८४० रुपैयाँ प्राप्त भएकोमा १ करोड ४३ लाख ४० हजार ८१९ रुपैयाँमा इलाका भवन निर्माण सम्पन्न गरिएको प्रहरी नायब उपरिक्षक इश्वर थापाले जानकारी दिए । भवनको भुई तलामा सुविधा युक्त पुरुष तथा महिला हिरासत कक्षहरु, गार्ड कक्ष, प्रशासनकि कक्ष, कार्यालय प्रमुख, अपराध अनुसन्धान कक्ष, महिला तथा बालबालिका सेवा केन्द्र, बैठक कक्ष र सञ्चार कक्ष लगायत १४ वटा कोठा रहेको उनले बताए ।  
भवन उद्घाटन गर्दै एआइजी उपाध्यायले अपराधको स्वरुप बद्लिएको भन्दै प्रहरीले पनि अनुसन्धानको दायरा फराकिलो पारेको बताए । उनले अपराधको गहिराईमा पुगेर मात्र अपराधीको पहिचान गर्नुका साथै सामाजिक दवावको भरमा अनुसन्धानलाई कसैप्रति केन्द्रित गर्नु नहुने समेत बताए । संघिय इकाई प्रहरी कार्यालय चन्द्रगढी झापाका प्रहरी प्रमुख वरिष्ठ प्रहरी उपरिक्षक पिताम्बर अधिकारीले कर्तव्य पालनका क्रममा सबै तहले अग्रसरता लिनुपर्ने बताए । प्रहरीको संरचनाले जनतालाई राहतको आभाष भएको निर्माण समितिका अध्यक्ष सवित्री सिवाले बताईन् । 
दरबन्दीभन्दा कम छन पशुपतिनगर मातहतका चौकीमा
भारतको दार्जिलिङ र इलाम सुदुरपुर्वी क्षेत्रको नाकामा पशुपतिनगरमा वि.सं.२०२२ साल भदौ ४ गते स्थापित इलाका प्रहरी कार्यालयको मातहतमा ११ वटा प्रहरी चौकी र एउटा सिमा प्रहरी चौकी रहेका छन् । 
जसमा प्रहरी निरिक्षक देखि लिएर सिपाहीसम्म गरेर २२६ जनाको दरबन्दी रहेपनि हाल १३६ जना मात्र कार्यरत रहेको इलामका प्रहरी प्रमुख एसपी विपिन कर्मचार्यले बताए । पशुपतिनगर इलाका प्रहरीले सुर्योदय नगरपालिका, रोङ र माइजोगमाई गाउँपालिकाका ९६ हजार ८७० जनसंख्यालाई सुरक्षा दिदै आइरहेको छ । दरबन्दीभन्दा कम प्रहरी भएपनि मौजुदा जनशक्तिहरुलाई अधिकतम परिचालन गरी शान्ति सुरक्षा र सिमा अपराधिक गतिविधी नियन्त्रणमा प्रत्यक्ष संलग्न रही सक्रिय भुमिका निर्वाह गर्न सफल भएको कर्मचार्यले बताए ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता