- राजेश पराजुली

इलाम, 21 पुस: सन् २००४ देखि इलाम सदरमुकाममा संचालनमा आएको जिल्लाकै पहिलो र एकमात्र सामुदायिक अस्पताल डा.मेघबहादुर पराजुली सामुदायिक अस्पताललाई निरन्तरता दिनको लागि स्थानीयबासी तथा सरोकारवाला निकायहरु अग्रसर हुन थालेका छन् । यथेष्ट तथा अत्याधुनिक उपकरणहरुबाट सुसज्जित यस अस्पताल कुनै समय मेची पहाडी जिल्लाहरुको स्वास्थ्य क्षेत्रमा नाम चलेको अस्पतालमा दरिएको थियो ।
हिमालयन हेल्थ केयर नामक अमेरिकी संस्थाको आर्थिक तथा प्राविधिक सहयोगमा स्थापना भएको यस अस्पताललाई निरन्तरता दिन इलाम लगायत अन्य जिल्लाका बासिन्दाहरुबाट वार्षिक एकसय रुपैंयाँ सहयोग उठाएर दिगोपनाको लागि पहल गरिए पनि विगत ४÷५ वर्ष अघिदेखि अस्पतालको व्यवस्थापन तथा उपचार प्रणाली खस्कदै गएको थियो । कुनै समय जिल्लाका विभिन्न गाउँठाउँहरुमा विदेशी विशेषज्ञ स्वास्थ्यकर्मीहरु सहित स्वास्थ्य शिविर संचालन गरी समुदायमा छाप छोड्न सफल अस्पतालको अवस्था दयनिय बनेपछि यसलाई पुनःसंचालन गर्नको लागि स्थानीयबासीहरुको सक्रियतामा जिल्ला तथा स्थानीय तहहरुसँग समन्वय गर्नको लागि एक समन्वय समिति पनि गठन भएको छ ।
नागरिक समाजका अगुवा धर्म गौतमको संयोजकत्वमा नौ सदस्यीय समन्वय समिति गठन भएको हो । समितिका अन्य सदस्यहरुमा तिलक ठकुरी, सुनिल गौतम, रविन राया, निरोज राउत, सन्दीप बुढाथोकी, मणीराम निरौला, टिका भारद्धाज, खेम घिमिरे खत्री सम्मिलित समितिले स्थानीयबासीहरुसँग अस्पताल संचालन हुन नसक्नुको कारण खोजी गर्ने, जिल्लाका सरोकारवाला निकाय जिल्ला समन्वय समिति इलाम, इलाम नगरपालिका, जिल्ला जनस्वास्थ्य कार्यालय इलामसँग संवाद गरी अस्पताललाई दिर्घकालिन रुपमा संचालन गर्नको लागि पहल गरी दुई महिनाभित्र प्रतिवेदन तयार गरिने भएको छ । हिमालयन हेल्थ केयरका संस्थापक अनिल पराजुली तथा सल्लाहकार भरत बुढाथोकीको उपस्थितिमा भएको समिति गठन तथा अस्पताल संचालन सम्बन्धि परामर्श आदन प्रदान समेत भएको थियो ।
कुनै समय वार्षिक ५६ लाख रुपैंयाँ सम्मको कारोवार गर्ने गरेको यस अस्पताल त्यसबेला समेत बीसलाख रुपैंयाँ घाटामा रहेको स्रोतले जनाएको छ । यस्तै नेपालका केही सामुदायिक अस्पताल राजनैतिक तरिकाले खोलिने र त्यसलाई सरकारले आर्थिक सहयोग गर्ने तर विशुद्ध रुपमा खोलिएका सामुदायिक अस्पताल आफ्नो मात्र स्रोतबाट संचालन गरिनु पर्ने, देशमा राजनैतिक स्थिरता नभएको, सामुदायिक अस्पताल संचालन गर्ने निर्देशिका नभएको जस्ता कारणहरुले पनि अस्पताललाई निरन्तरता दिन कठिनाई भएको समन्वय समितिका सदस्य सुनिल गौतमले बताए । उनले भने– ‘यस्तै अवस्था रहेमा दुई महिना भित्रमा अस्पताल बन्द गर्ने हिमालयन हेल्थ केयरको सोच रहेको छ ।’ यता स्थानीयबासीहरु इलामका ठुला–ठुला राजनैतिक नेताहरुले अस्पताललाई सहयोग गर्ने वचन दिएका थिए तर केही नभएको गुनासो छ । उनीहरु भन्छन्– ‘यस्ता पहल कति भए कति ? तर जुन नेता आएपनि कानै चिरे जस्तो भएको छ । तर अब बनेको समन्वय समितिबाट झिनो आशा लिएका छौं ।’ यता हिमालयन स्वास्थ्य सेवा मार्फत प्रोजेक्टका रूपमा संचालित अस्पताल डा.मेघ बहादुर सामुदायिक अस्पताल हो । हिमालयन स्वास्थ्य सेवाको करोडौंको लगानीलाई रहेको यस प्रोजेक्ट अब उक्त गैरसरकारी संस्थाको आर्थिक स्थितिले धान्न नसकेर बन्द गर्ने अवस्था नजिक पुगेको छ ।
नाममा सामुदायिक भएता पनि सामुदायिक अस्पताल सम्बन्धि उचित नियमावलीको अभावले अस्पताल अहिलेसम्म हिमालयन स्वास्थ्य सेवाको आफ्नै पहलमा चलेको छ । अस्पतालको स्थिति सुदृढ भएर गएको र समुदाय अस्पताल चलाउन सक्षम भएको खण्डमा समुदायमा हस्तान्तरण गर्ने उद्देश्यले १३ वर्ष अघि देखि पटकपटक प्रयास गर्दा र अनेक समिति बनाउँदापनि राजनैतिक खिचातानी र उपयुक्त कानुनको अभावका कारण अस्पताल हिमालयन स्वास्थ्य सेवाकै मातहतमा संचालन रहि आएको छ ।
संचालनकै क्रममा केहि वर्ष अगाडि अस्पताललाई इलाम जिल्ला अस्पतालसँग समायोजन गरेर लान अनेक कसरत नभएको होइन, समायोजनमा प्रतिबद्धता जनाउँदै हिमालयन स्वास्थ्य सेवाले इलाम अस्पताललाई एम्बुलेन्स गाडी समेत निःशुल्क उपलब्ध गराएको थियो । कानुनको अभाव र जिल्ला अस्पताल स्वयमपनि क्षमता अनुरुप संचालन नहुनुले समायोजनको व्यावहारिकता माथी नै प्रश्न चिन्ह खडा हुँदै उक्त पहल विफल भएको हाल सो सामुदायिक अस्पतालमा कार्यरत डाक्टर रामकृष्ण आचार्यले बताए ।
डाक्टर आचार्यले अगाडि भने– ‘अस्पताल संचालनका क्रममा मुनाफा कहिल्यै नभएको र भएको घाटा मध्ये सबैभन्दा कम घाटा भनेको एउटा वर्ष खर्चको २२ प्रतिशत रहेको र अन्य वर्ष घाटा प्रतिशत त्यो भन्दा दोब्बर तेब्बर सम्म भएको र पछिल्लो केहि वर्ष त अस्पतालले खर्चको ५ प्रतिशत भन्दापनि कम आम्दानी गरेको छ । पटक–पटक राजनैतिक व्यक्तित्व मन्त्रीहरूले आएर अनेक आश्वासन दिए पनि अहिलेसम्म कुनै सरकारी तवर र स्थानीय निकायबाट आर्थिक सहयोग नभएकोले सम्पूर्ण खर्च हिमालयन स्वास्थ्य सेवाले बेहोर्ने गरेको छ । स्थानीय तहमा धेरैलाई रोजगार सृजना गरेपनि अहिले आएर धेरै कर्मचारी कटौती गरेर अत्यावश्यक कर्मचारीहरुमात्र राखेको र अब भएका कर्मचारी धान्नपनि हिमालयन स्वास्थ्य सेवा असमर्थ हुँदै गएको छ ।’
भएका पुराना सामानहरु प्रयोगमा नआएकोले र समयसँगै अत्याधुनिक बन्दै गएको पछिल्लो दशकको मेडिकल प्रविधिलाई आत्मसात गर्ने हो भने अब पुनः अस्पताललाई पहिलेकै ढंगले चलाउन नयाँ सामान र प्रविधि जुटाउने चुनौती स्पष्ट देखिन्छ । अहिलेसम्म गफ र हल्लामा मात्र सिमित भएका अनेक योजना र परियोजनालाई नियाल्दा र भएको एउटा इलाम जिल्ला अस्पताल मै दक्ष जनशक्तिको अभाव र आधुनिक सेवाको प्रणाली अवलम्बन गर्न नसकी रहेको हाम्रो वर्तमान सरकरी संरचनाले अब अर्को अस्पताललाई चलाउन कस्ता जटिलताहरुको सामना गर्ने छ हेर्न बाँकी रहेको डाक्टर आचार्य बताउँछन् ।