जिम्मेवारी नतोकिँदा जिससका कर्मचारी काम बिहीन्, २८ वटा वडामा कर्मचारी नै छैनन्

इलाम, १७ पुषः स्थानीय तह चुनावपछि सामान्य संयोजनकारी भूमिकामा खुम्चिएको जिल्ला समन्वय समिति (जिसस) का कर्मचारीलाई कामको जिम्मेवारी नतोकिएकाले दिन कटाउनै मुस्किल हुन थालेको छ । जिससमा अहिले आठजनाको दरबन्दि कायम भएपनि कायम भएपनि निजामती, स्थानीय विकास र साविक जिविसका कर्मचारी सहित १७ जना कर्मचारी छन् । 
स्थानीय शासन सञ्चालन ऐनले स्थानीय तहलाई स्वायत्त बनाई जिससको भूमिकालाई खुम्च्याएपछि जिम्मेवारी विहीन जस्तै भएको जिल्ला समन्वय अधिकारी झरेन्द्र चापागाइँले बताउनुभयो । स्थानीय निकायबाट नियुक्ति पाएर कार्यक्रम हेर्ने कति कर्मचारी आएका छैनन्, आएका कर्मचारी पनि काम बिहिन् जस्तै बनेका छन् । प्रदेशसभा गठन र प्रदेश कानुन नभएको अवस्थामा कर्मचारीहरु भूमिका बिहन् नै बनेको चापागाइँको भनाई छ ।  अघिल्ला वर्षका क्रमागत ४÷५ वटा योजनाबाहेक कुनै कार्यक्रम नै नभएको उहाँले बताउनुभयो । जिससलाई संविधानले स्थानीय तह, प्रदेश र केन्द्र सरकारबीच समन्वय र स्थानीय तहका योजना अनुगमनको भूमिकामा सीमित गरेको छ । 
तर, स्थानीय शासन सञ्चालन ऐनले जिससलाई सामाजिक सुरक्षा, आन्तरिक आय, स्थानीय तहका विकास योजना अनुगमन गर्ने अधिकार भने दिएको छर । जिससमा निजामतितर्फ आठजना कर्मचारीको दरबन्दि भएपनि हाल तीनजना कर्मचारी मात्र कार्यरत छन् । कोष तथा लेखा नियन्त्रक कार्यालयबाट लेखापाल काजमा छन् भने प्राबिधिक तर्फको दरबन्दि पनि खालि छ । तर स्थानीय बिकास तर्फका ६ जना कर्मचारी भने कार्यरत नै रहेका छन् । सामान्य प्रशासन मन्त्रालयले कर्मचारी सरुवा भइसकेर रमाना लिएर गइसकेको जनाउँदै आएपनि सरुवा भएर आउने कर्मचारी हालसम्म नआइपुगेको जिल्ला समन्वय समिति इलामले जनाएको छ । चापागाइँका अनुसार साविक जिल्ला बिकास समितिका आठजना कर्मचारी पनि रहेका छन् । उनीहरुलाई स्थानीय निकायमा पठाउनका लागि मन्त्रालयबाट कामको जिम्मेवारी सहित कर्मचारीको संरचना नै नभएकाले समायोजन गर्न नसकेको बताइएको छ । 
शाखा अधिकृत लगायत पदका कर्मचारीलाई वडा कार्यलयमा नासु तथा खरदारको कामकाज गर्न पठाउन नसकिएकाले साबिक जिविसका आठ कर्मचारी पनि जिससमा कार्यरत रहेको चापागाइँले बताउनुभयो । स्थानीय तहको कर्मचारी संरचना बन्नसाथ ती कर्मचारी पनि समायोजन हुने बताइएको छ । एकातिर जिससमा डेढ दर्जन कर्मचारीको जिम्मेवारी नभएकाले कामविहीन छन्m अर्कातिर अधिकांश स्थानीय तहमा कर्मचारी अभाव छ । गाउँपालिकाहरूमा लेखापाल र प्राविधिकका दरबन्दीअनुसार कर्मचारी नहुँदा काम प्रभावित बन्दै गएका छन् ।
जिससमा रहेका कतिपय पद र दरबन्दी गाउँपालिका, नगरपालिकामा नभएकाले कर्मचारी व्यवस्थापनमा समस्या भएको बताइएको छ । चार नगरपालिका, ६ वटा गाउँपालिका र ८१ वटा वडा रहेको इलाममा अझैपनि २८ वटा वडामा खरीदार र नासु स्तरका कर्मचारी नै छैनन् । कर्मचारी अभावमा वडा सचिब आफैले सबै काम भ्याइरहेको र दुईवटा वडा सम्मको काम गर्न बाध्य भइरहेको जिल्ला समन्वय अधिकारी चापागाइँले बताउनुभयो । गाउँपालिका तथा नगरपालिकामा पनि आवश्यक मात्रामा कर्मचारी पूर्ती हुन सकिरहेको छैन । 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता