
इलाम, १७ पुसः पछिल्लो समय इलामका कृषकहरु ब्यबसायिक कफि खेतीतर्फ उन्मुख बन्दै गइरहेका छन् । कफिको बजार तेस्रो मुलुक, अमेरीका, जर्मनी, फ्रान्स लगायतका मुलुकमा बढेको मूल्य पनि उचित पाउन थालेपछि यसको खेतीतर्फ कृषकहरु ब्यबसायिक रुपले लागेका हुन् । इलामका बिभिन्न गाउँपालिका तथा नगरपालिकाका गाउँहरुमा कफि खेती गर्ने कृषकको सङख्यामा बृद्धि समेत भइरहेको छ ।
नामसालिङ्ग, सोयाक, एकतप्पा, धुसेनी, इलामनगरपालिका सुम्बेक, बरबोटे, गजुरमुखि लगायतका दर्जन बढि गाउँमा कफि खेती गर्ने कृषकको सङख्या बढ्दै गएको हो । इलाममा उत्पादित कफि इलामनगरपालिका १० सिथ्त गोदकमा रहेको कुम्भकर्ण एग्रीकल्चर फार्मले खरीद गर्ने गरेको छ । फार्मका सञ्चालक भोजराज प्रधानले पाकेर रातो भएको कफिको मूल्य प्रतिकेजि ८० रुपैंयाँमा खरीद गर्दै आएको र सुख्खा अर्थात (पार्सपाट) कफि प्रतिकेजि चारसय देखि पाँचसय रुपैंयाँमा खरीद गर्दै आएको बताउनुभयो । एकबर्षको अवधिमा इलामबाट ३३ क्विटल कफि खरीद गरीसकेको उहाँको भनाई छ । कफि खेती आठसय मिटर समुद्रि सतहदेखि सोह«सय मिटरको उचाइसम्म हुने कृषि प्राबिधिकहरु बताउँछन् । कुम्भकर्ण एग्रीकल्चर फार्मको सक्रियतामा ब्यबसायिक रुपमा कफि खेतीमा लागेका तथा कफि खेती गर्न चाहने कृषकहरुका लागि प्राबिधिक ज्ञान सहितको कफि खेती सम्बन्धि तालिमहरु पनि गाउँगाउँमा दिँदै आएको छ ।
यसैक्रममा इलामकै माइजोगमाई गाउँपालिका वडा नम्बर ४ नामसालिङ्ग स्थित हात्तिटारमा कफिचक्र सम्बन्धि दुइदिने तालिम सो क्षेत्रका अगुवा कफि कृषकहरुलाई दिएको छ । राष्ट्रिय चिया तथा कफि बिकास बोर्ड अन्तर्गत चिया बिस्तार योजना फिक्कलको आयोजना तथा हात्तिटार प्राङ्गगारीक कफि उत्पादन तथा प्रशोधन केन्द्र नामसालिङ्ग ४ को संयोजनमा कृषकहरुलाई कफि खेती कसरी गर्ने, त्यसमा रोग लाग्दा कसरी नियन्त्रण गर्ने लगायतका बिषयमा जानकारी गराएको छ । २५ जना अगुवा कफि कृषकहरुलाई कृषि प्राबिधिक बिबेक भण्डारीले जानकारी गराउनु भएको हो । दुईदिनसम्म चलेको तालिममको समापन फिक्कल चिया बिस्तार योजना प्रमुख सुमन तिखत्रीको अध्यक्षता तथा राष्ट्रिय चिया तथा कफि बिकास बोर्डका सदस्य भोजराज प्रधानको प्रमुख आतिथ्यमा भएको थियो । तालिम समापनमा वडानम्बर ४ का वडाध्यक्ष गणेशकुमार राई सहित कफि कृषक गञ्जु प्रधान लगायले बोल्नुभएको थियो ।