- नमीन ढकाल
इलाम ४ माघः सुर्योदय र चिया पर्यटनको लागी प्रशिद्ध इलाम जिल्लामा अनेकौ पर्यटकिय गन्तव्यहरु रहेका छन ति मध्ये एक हो माइपोखरी । सदरमुकाम इलाम बजारबाट १८ किलोमिटर उत्तरमा रहेको माइपोखरी, धार्मिक आस्थाको केन्द्र र जैविक विविधताले धनी क्षेत्रका रूपमा परिचित छ । २८ अक्टोबर २००८ मा विश्व रामसार सूचीअन्तर्गत नेपालको नवौँ र मध्यपहाडी क्षेत्रको पहिलो रामसार क्षेत्र घोषणापछि पर्यटक एवम दर्शनार्थीको चाप बढदै गएको छ । नौवटा कुनामा पैmलिएको माईपोखरीलाई प्रकृतिको सुन्दर सिर्जनाका रूपमा लिइने गरिन्छ । माई अर्थात् आमा र पोखरी अर्थात् तलाउ जसबाट माइपोखरी रहेको भन्ने विश्वास गरिन्छ ।
बलिप्रथा निषेध रहेको यस क्षेत्रलाई साक्षात देवीको रुपमा पुजा गरिँदै आएको छ । यस क्षेत्रमा मनोकामना पूर्ण होस् भनेर भाकल गर्ने र परेवा उडाउने प्रचलन रहेको छ ।
टङ्क सुबेदीको माईपोखरीको इतिवृत्तमा नामका पुस्तकमा मरुत राजाले यस ठाउँमा आएर नौवटा कुनामा नौवटै मन्दिर बनाई नवदुर्गाको पूजा गरी सो पूजा विसर्जन पश्चात पूजा स्थान सुरक्षित होस भनी गङ्गाजीको आराधना गर्दा जल उत्पन्न भएको जनश्रुति रहेको छ ।
कुनै समयमा पोखरी वरिपरिका रुख विरुवाबाट पोखरीमा खसेका पातपतिङ्गरहरू चराचुरूङ्गीहरूले टिपेर बाहिर फ्याँक्ने तथा पोखरीमा पञ्चेबाजा, शङ्खघण्ट बज्ने गरेको र हाल पनि पोखरीबाट अकस्मात अनौठो ज्योति निस्कने र तुरून्तै लोप हुने गरेको स्थानिय किरण राई बताउँछन । द्वापर युगको अन्त्यमा पाँच पाण्डवहरू वनबास रहने क्रममा बराहक्षेत्र, अर्जुनधारा हुँदै माईपोखरीसम्म आई फर्किएको भन्ने गरिन्छ । यसैगरी राजा मारुतका साथमा उनकी ‘इला’ नाम गरेकी छोरी पनि आएकी थिइन् र उनै ‘इला’बाट यस जिल्लाको नाम नै इलाम रहन गएको हो भन्ने जनश्रुति समेत रहेको छ ।
माईपोखरीलाई हिन्दु, बौद्ध र किराँत मुन्धुम धर्मको आस्थाका रूपमा लिइन्छ । माईपोखरी परिसरमा सत्यधुनी आश्रम, निर्मला माईआश्रम, टाँसी छोलिङ गुम्बा, शिवालय, सरस्वती मन्दिर तथा भगवती मन्दिर रहेका छन् । बैशाखे पूर्णिमा र ठूली एकादशीका दिन माईपोखरीमा विशेष पूजाअर्चना र मेला लाग्ने प्रचलन रहेको छ । सबै धर्म संस्कृतिको सङ्गम रहेको माईपोखरीले सिङ्गो इलामको सांस्कृतिक सभ्यतालाई प्रतिविम्बित गर्ने कुरा इतिहासविद्ध युद्धप्रसाद बैद्य बताउछन ।
माईपोखरी क्षेत्र जैविक विविधताका दृष्टिले समेत उत्तिकै महत्वपूर्ण रहेको छ । यस क्षेत्रमा ४ प्रजातिका लालीगुराँस, ३ प्रजातिका चाँप, कटुस, लौठसल्ला, भद्रासे, सल्ला, १६ प्रजातिका सुनाखरी, ६२ प्रजातिका जडिबुटीसहित ३०० प्रजातिका पूmल पूmल्ने र नेपालमा मात्र पाइने गलैँचे झ्याउ, लेउ, उन्यू लगायतका वनस्पति पाइन्छन् । लोपोन्मुख पानीगोहोरो, लोखर्के, ओत, भ्यागुता, पाहा, चमेरो, मृग, सर्पलगायत १२ प्रजातिका जलचर, ६ प्रजातिका उभयचर, ३ प्रजातिका माछा, १४ प्रजातिका स्तनधारी र २०० भन्दा बढी प्रजातिका चराचुरूङ्गीहरू रहेका छन् ।
माईपोखरीमा खास गरी तीन थरिका पर्यटकहरू आउने गर्दछन् । पहिलो धार्मिक आस्थाका आधारमा आउने, दोस्रो यहाँको प्राकृतिक सुन्दरता र सम्पदाको अवलोकन गर्न आउने र तेस्रो यहाँको सामाजिक, आर्थिक, सांस्कृतिक तथा वातावरणीय पक्षको अध्ययन अनुसन्धान, संरक्षण र विकासमा लागि पर्ने मानिसहरू रहेका छन् । इलामको उत्तरी क्षेत्र प्रवेशको लागि एउटा सजिलो मार्ग भएका कारण समेत यस क्षेत्रमा पर्यटकहरू धेरै संख्यामा वर्षैभरि आउने गर्दछन् । यातायातको सुविधाले समेत यस क्षेत्रमा आउने जाने पर्यटकहरूलाई सजिलो भएको छ ।