काठमाडौं, ३ माघ : सरकारले सात प्रदेशको प्रदेश प्रमुख तोकेको छ । मन्त्रिपरिषदको बुधबारको बैठकले प्रदेश प्रमुखहरु तोकेको हो । प्रदेश प्रमुखमा कांग्रेस र मधेसवादी दुई दलले भागवण्डा गरेका छन् । ५ मा राजपा र १ मा फोरमको सिफारिसमा प्रदेश प्रमुख नियुक्त गरिएको छ भने ५ जना कांग्रेसको सिफारिसमा हुनेछन् । प्रदेश १ मा गोविन्द सुब्बा, २ मा रत्नेश्वर लाल कायस्थ, ३ मा अनुराधा कोइराला, ४ मा बाबुराम कुँवर, ५ मा उमाकान्त झा, ६ मा दुर्गाकेशर खनाल र ७ मा मोहनराज मल्ललाई प्रदेश प्रमुख नियुक्त गरिएको छ । त्यस्तै बुधबारकै दोस्रो पटक बसेको मन्त्रिपरिषद बैठकले सात प्रदेशका अस्थायी केन्द्र तथा प्रदेश प्रमुखहरु तोकेको छ । कानुनमन्त्री यज्ञबहादुर थापाका अनुसार एक नम्बर प्रदेशको केन्द्र विराटनगरलाई तोकिएको छ । दुई नम्बरको जनकपुर, तीनको हेटौंडा र चारको पोखरा तोकिएको छ । यसैगरी ५ नम्बर प्रदेशको रुपन्देही, ६ नम्बरको सुर्खेत तथा ७ नम्बरको राजधानी धनगढी तोकिएको छ ।
बुधबार बिहान १० बजे बसेको मन्त्रिपरिषद बैठकमा सहमति जुट्न नसक्दा निष्र्कषविहीन भएको थियो । अहिले सरकारले तोकेका प्रदेश राजधानीहरु अस्थायी हुन् । प्रदेश सभाले दुई तिहाई बहुमतका आधारमा प्रदेश राजधानी रहने स्थान फेर्न सक्नेछ ।
प्रतिकृया दिनुहोस्
माइपोखरी न्यूज डटकम सम्बाददाता