
इलाम (गोदक), १७ पुस : इस्वी संवतको नयाँ वर्षको दिन बिहान इलामको एकमात्र गोदक राजदुवालीमा अवस्थित माईभगवती बृद्धाश्रममा दर्जनका हाराहारीमा युवाहरुको जमघट भएको थियो । उनीहरुसँगै बृद्धाश्रममा आश्रित त्यति नैं संख्यामा रहेका जेष्ठ नागरिकहरु वरिपरि बसेका थिए । केही क्षणमा त्यहाँ भेला भएका युवाहरुले आफुसँग ल्याएको ‘बर्थ–डे केक’ निकाले अनि मैनबत्ती बालेर र केक काट्न शुरु गर्दा त्यहाँ सबै उपस्थितहरुले ‘ह्याप्पी बर्थ–डे टु यु’ भन्दै ताली बजाए । हो त्यो जन्मदिन इलाम सदरमुकामका युवा व्यवसायी प्रज्वल ताम्राकारको नैं थियो ।
उनले नयाँ वर्षको दिन पर्ने आरुनो जन्मदिन बृद्धाश्रममा रहेका जेष्ठ नागरिकहरुसँग मनाउने अभिलाषाले नैं उक्त कार्यक्रमको आयोजना गरेका हुन् । संयोगले सोही दिन प्रज्वलकी काकी यश्वीन ताम्राकारको पनि जन्मदिन परेकोले उनीहरुले संयुक्त रुपमा आश्रममा जन्मदिन मनाए । ‘बर्थ–डे केक’ काटेर सबै बृद्धबृद्धाहरुलाई खुवाउँदै प्रज्वलले भने– ‘फरक शैली अपनाए ।
हजुरबा–आमासँगको सामिप्यता र आर्शिवचन लिन पाउँदा खुसी लाग्यो ।’ केक खुवाउने कार्यक्रम पश्चात उनीहरुले बृद्धाश्रमको लागि ग्याँस चुला र जाडोमा पानी तताउने विद्युतिय जग समेत हस्तान्तर गरे । प्रज्वलकी काकी यश्वीनले चियाबारी दैनिकसँग भनिन्– ‘मनमा एक प्रकारको हर्ष छाएको छ । बृद्धाश्रम पहिलो पटक आए र यहाँ बृद्धबृद्धारुलाई संरक्षण गरेको देखेर भावविभोर भए ।’ यता आश्रमकी हेरालु दुर्गा पाठकलाई यस्तो शैलीले आश्रममा जन्मदिन मनाएको पहिलो पटक भएको बताईन् । उनले भनिन्– ‘हो जन्मदिनको अवसर पारेर यहाँ प्रायः दाताहरुले आश्रमका आमा बुबालाई विभिन्न सामाग्रीहरु दिनुहुन्छ तर यसरी केक नैं काटेर जन्म दिन मनाएको चाही पहिलो पटक नैं हो ।’