
इलाम २९ पुषः इलाममा स्थापना भएको ‘दलबहादुर बस्नेत स्मृति पत्रकारीता पुरस्कार’ बाट रेडियो नेपालकी इलाम संवाददाता सविता पाण्डे पुरस्कृत हुनु भएको छ । जुनतारा सामाजिक विकास केन्द्र इलामको २० औँ साधारण सभाको अवसरमा आज उहाँ सम्मानित हुनु भएको हो ।
पत्रकार पाण्डेलाई जिल्ला कृषि सहकारीका अध्यक्ष जोति भट्टराईले दोसल्ला, अग्रज पत्रकार सोम सुशेलीले र अध्यक्ष तिर्थ गुरुङले नगद प्रदान गर्दै गर्नु भएको थियो । पत्रकारीताको माध्यमबाट सहकारी क्षेत्रमा कलम चलाए वापत यो पुरस्कार प्रदान गर्ने गरिन्छ । सहकारीको क्षेत्रमा जनचेतना अभिवृद्धि गर्न योगदान पु¥याएको भन्दै उहाँलाई सो पुरस्कार प्रदान गरिएको अध्यक्ष लिला थापाले जानकारी दिनुभयो ।
पाण्डे इलामको रेडियो नेपालवाणी एफएमकी कार्यक्रम प्रस्तोता, क्रियाशील महिला पत्रकार धधव इलाम अध्यक्ष तथा नेपाल प्रेस युनियन इलाम शाखा कोषाध्यक्ष समेत हुनुहुन्छ ।
समाज सेवी दलबहादुर बस्नेतको स्मृतिमा बस्नेत परिवारले अक्षय कोष स्थापना गरी हरेक वर्ष एक जना सहकारी क्षेत्रमा कलम चलाउने क्रियाशिल पत्रकारलाई पुरस्कृत गदै आएको छ ।