
इलाम, २८ पुसः इलामको माइजोगमाई गाउँपालिका ५ स्थित सोयाङमा पिकअप दुर्घटना भएको छ । दुर्घटनामा परी सोयाङका तीनजना घाईते भएका छन् । एकजनाको अवस्था गम्भिर रहेको जनाइएको छ । घाईते हुनेमा माइजोगमाई गाउँपालिका ५ सोयाङ्गकि २३ बर्षिया लिला कट्टे, २६ बर्षिय कमलप्रसाद भण्डारी र २३ बर्षिया चन्द्रकला खड्का रहेका छन् । उनीहरुको इलाम अस्पतालमा उपचार भइरहेको छ । इलाम बजारबाट नयाँबजारतर्फ जाँदै गरेको मे१ज १९७२ नम्बरको पिकअप आज दिउँसो करिब साडे ३ बजे सडकबाट करिब ५० मिटर तल खसेको प्रहरीले जनाएको छ । यता पूर्वपश्चिम राजमार्ग अन्तर्गत झापा सुरुङ्गा नगरपालिका–४ स्थित कदमहामा आज टिपर र बस ठोक्किँदा १६ जना घाइते भएका छन् । सिन्धुलीबाट काँकडभिटातर्फ जाँदै गरेको मे १ ख १९९४ नंम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको ना १ क ५८१८ नंको टिपर बाक्लो हुस्सुका कारण ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ । घाइते सबैलाई लहानस्थित सप्तऋषि अस्पताल लहानमा उपचारका लागि पठाइएको र सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।