
बिर्तामोड, २ चैतः इलाका प्रहरी कार्यालय बिर्तामोडले चोरीका २ वटा मोटरसाइकल नियन्त्रणमा लिएर सम्बन्धित धनीलाई बिहीबार हस्तान्तरण गरेको छ । बिर्तामोड नगरपालिका –४ का विनोद उप्रेतीको फागुन १५ गते घरको प्यासेजमा राखेको मोटरसाइकल हराएको थियो ।
फागुन १६ गते उनले प्रहरीमा उजुरी दिएका थिए । मे.१ प ७३४५ नम्बरको उक्त मोटरसाइकल २६ गते इटाभट्टामा व्यावारीसे अवस्थामा फेला पारेको इप्रका बिर्तामोडका प्रहरी निरीक्षक नवीनकुमार घिमिरेले बताए ।
इप्रकाले इलाम रोङ् गाउँपालिकाका देवकुमार राईको मोटरसाइकल पनि हस्तान्तरण गरेको छ । मे। ७ प ६७१५ नम्बरको उक्त मेटरसाईकल फागुन २८ गते हराएको थियो । राईले भने,‘झापा गोल्डकपको तेस्रो संस्करणको फाइनल हेर्न आएको थिएँ, खेल मैदान अगाडि पार्किङ् गरेर राखेकै स्थानबाट मोटरसाइकल हरायो ।’ इप्रकामा दिएको उजुरीको आधरमा मोटरसाइकल २९ गते बिर्तामोड नगरपालिका नजिकै व्यावारीसे अवस्थामा फेला परेको प्रनि घिमिरेले बताए । १५ दिन यता फेला परेका दुई मोटरसाइकल इप्रका बिर्तामोडले सम्बन्धित धनीलाई हस्तान्तरण गरेको हो ।
साउनदेखि यता फागुनसम्ममा इप्रकाले १२ वटा मोटरसाइकल फेला पारी धनीलाई हस्तान्तरण गरेको छ । झापाका विभिन्न स्थानबाट मेटरसाइकल फेला पारेको प्रहरी निरीक्षक ज्ञानबहादुर विष्टले जानकारी दिए । विष्टले भने, ‘मोटरसाइकल चोरी गर्ने र कुदाउन गाह्रो भएपछि त्यही स्थानमा मोटरसाइकल छाडेर चोर भाग्ने गरेको पाइएको छ ।’
पछिल्लो समय मोटरसाइकल चोरीका घटना बढको छ । चोरी न्यूनीकरण गर्र्न प्रहरी निरन्तर लागि परेको प्रनि घिमिरेले बताए । मोटरसाइकल चोरीमा संग्लग्न ३ जनालाई प्रहरीले मोटरसाइकल सहित पक्राउ गरी कारवाही अघि बढाएको छ ।