कन्यामलाई व्यवस्थित बनाउन शुरु

इलाम, ३० फागुनः इलामको सुर्योदय नगरपालिकामा रहेको पर्यटकिय क्षेत्र कन्यामलाई व्यवस्थित बनाउने कार्य नगरपालिकाले सुरु गरेको छ । कन्याममा वर्षको बाह्रै महिना आन्तरिक पर्यटक आउने भएकाले यसको सुन्दरतामा कायम राख्न ब्यवस्थित बनाउन थालिएको हो । पिकनिक खाने र फोटो मात्र खिच्नका लागी भए पनि आन्तरिक पर्यटकको दैनिक घुईंचो लाग्ने गरेको छ । यस क्षेत्रलाई बाह्य पर्यटकका लागी समेत मूख्य क्षेत्र बनाउन थप व्यवस्थित बनाउन सुरु गरिएको सुर्योदय नगरपालिकाले जनाएको छ । चालु आर्थिक वर्षमा मात्र कन्याम क्षेत्रको मेची राजमार्ग विस्तार गर्ने, पैदल मार्ग र घोड चडी मार्ग बनाउनका लागि एक करोड ५० लाख लगानी गर्ने योजनाका साथ काम सुरु गरेको नगरपालिकाका प्रशासकिय अधिकृत राजेन्द्र भट्टराईले जानकारी दिए । 
उनका अनुसार, नगरपालिकाले कन्याम क्षेत्रमा सडक सुधार, सौन्दर्यीकरण योजना अनुसार रात्री पर्यटन स्थल, सबै मौसमका लागि सुुरक्षित पदमार्ग निर्माण, साइक्लिङ मार्ग समेत निर्माण गर्ने योजना रहेको छ । यस्तै एक हजार अटाउने सामुदायिक भवन निर्माण, सडक बत्ती, फुड स्टेशन, व्यवस्थित पार्किङस्थल, आकर्षक अर्किड बगैँचा निर्माण गर्ने योजना रहेको नगरपालिकाका प्रशासकिय अधिकृत भट्टराईले बताए । 
यसैगरी पर्यटकका लागि आरामस्थल, सार्वजनिक शौचालय, वाइनाकुलर सहितको दुरदृक्ष्य हेर्ने स्थान समेतको निर्माण गरी पर्यटकिय क्षेत्र कन्यामलाई पर्यटकिय पकेट क्षेत्रका रुपमा व्यवस्थित बनाउन नगरपालिका लागी परेको जनाइएको छ । विगतबाटै पर्यटकहरुका लागी व्यवस्थित स्थानको खोजी भइरहेको अवस्थालाई सुधार्नका लागी नगरपालिकाले यस्तो गुरुयोजना बनाई निर्माणको काम प्रवक्ता पेमा उगेन लामाले बताए । पर्यटकका लागी कन्याममा विविध आकर्षणहरु थपिएपछि इलाम आउने पर्यटकमा बृद्धि हुने अपेक्षा गरिएको छ । नगरपालिकाले तीन वर्ष भित्रमा करिब सात करोडको लागतमा सम्पूर्ण काम सम्पन्न गर्ने योजना बनाएको छ । 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता