शैक्षिक गुणस्तर सुधारका लागि गाउँपालिका स्तरीय परीक्षा

इलाम, २ चैत ः शैक्षिक गुणस्तर बृद्धिकालागि सन्दकपुर गाउँपालिकामा परीक्षा प्रणालीलाई एकरुपता ल्याउने प्रयास थालिएको छ । गाउँपालिका क्षेत्रका ५ वटा वडाका विद्यालयहरुमा जिल्लामै पहिलो पटक यो गाउँपालिकामा परीक्षा प्रणालीलाई सधार गर्ने प्रयास थालिएको हो । गाउँपालिकाका कार्यकारी अधिकृतसहित स्रोत व्यक्तिको उपस्थितमा भएको प्रधानाध्यापकको भेलाले यस्तो निर्णय गरेको हो । 
परीक्षा सञ्चालनका लागि दिवाकार रिजालको संयोजकत्वमा १३ सदस्य प्राविधिक समिति गठन गरिएको छ । १, २ र ८ कक्षा बाहेकका परीक्षा यो समितिले गराउने छ । ८ कक्षाको परीक्षा संञ्चालनका लागि फरक समिति बनेको छ । ३ देखि ९ कक्षासम्म लिइने परीक्षामा स्थानीय विषय र ऐच्छिक विषयको परीक्षा पनि विद्यालय तहबाटै सञ्चालन हुनेछ । कक्षा ९ मा ६ विषय, ६ र ७ मा ८ विषय र ३ र ४ का ५ वटा विषयको परीक्षा गाउँपालिका स्तरीय हुनेछ । यो पटकका लागि उत्तर पुस्तिका परीक्षण गर्ने र नतिजा प्रकाशन गर्ने जिम्मा विद्यालयलाई दिइए तापनि आगामी वर्षहरुमा भने साटासाट गरेर उत्तर पूस्तिका परिक्षण गर्ने योजना समितिको छ ।
‘कोर्स पूरा नगर्ने र मूल्यांकनमा लापरवाही गर्ने विथितीको अन्त्यका लागि यो प्रयास गरेका हौं,’ संमितिका संयोजक रिजालले भने, ‘पहिलो अभ्यास भएकाले यो पटकको प्रतिकृया बुझेर आगामी वर्षमा सुधार गर्दै लगिने छ ।’ फागुन २९ गतेदेखि सञ्चालन हुने परीक्षामा निरिक्षणको व्यवस्था पनि मिलाइने रिजालले जानकारी दिए । सामुदायिक विद्यालयको नतिजा सुधार नहुनुमा आन्तरिक परीक्षा प्रणाली भएको धेरैको ठहर छ । कोर्स पूरा नगर्ने, नियमित र प्रभावकारी शिक्षण नगराउने र विद्यार्थी उतिर्ण गराउने ढंगले मात्र परीक्षा सञ्चालन गर्दा उदेश्य अनुरुप नतिजा ननिस्एिको गुनासो आउने गरेको थियो । एउटै स्तरको प्रश्न पत्रले विद्यालय र विद्यार्थीको स्तर छनौटमा सघाउ पुर्याउने समितिले जनाएको छ । चैत २५ गते नतिजा प्रकाशन गर्ने मिति तोकेको समितिले चैत मसान्तसम्म विद्यालहरुलाई नतिजा विश्लेषणका लागि समय दिएको छ । नतिजा विश्लेषणपछि विषयगतरुपमा गाउँपालिकाभरका विद्यालयको प्रगति प्राप्त गर्न सकिनेछ । 
यो गाउँपालिकामा ३० वटा विद्यालयमध्ये ५ वटा माध्यमिक ८ कक्षासम्म पढाई हुने ५ वटा र बाँकी प्राथमिक तहका छन् । ती मध्ये ३ वटा विद्यालयमा ३ कक्षासम्म मात्र पढाई हुन्छ । विषयगत शिक्षक समयमा नपाएका कतिपय विद्यालयलाई भने यो प्रणालीले समस्या बनाएको छ । विभिन्न कारणले ढिलोगरि मात्र पदपूर्ति गरिएका विद्यालयलाई सबै कोर्स पूरा गर्न समस्या देखिएको हो । केही विद्यालयमा दरबन्दी भएर पनि शैक्षिक सत्र सुरु भएको लामो समयसम्म पदपूर्ति हुन सकेको थिएन । ‘परीक्षा प्रणालीमा सुधार गर्दै गुणस्तर बृद्धि गर्ने प्रयास राम्रो हो,’ सन्दकपुर ५ स्थित राष्ट्रिय अधारभूत विद्यालयका शिक्षक रमेश दाहालले भने, ‘तर परीक्षा सञ्चालन हुने अन्तिम समयमा मात्र यो निर्णय लिदा भने केहि अप्ठेरो देखिएको छ ।’ 
एसइइ परीक्षामा यस गाउँपालिकाका समग्र माविको नतिजा हेर्दा उत्साहप्रद छैन । यो प्रणालीले तल्लो तहका कक्षादेखि नै विद्यार्थीमा पढ्ने बानीको विकास हुने र विद्यालय र शिक्षक जिम्मेवार बन्ने भएकाले एसइइसहित माथिल्ला तहको नतिजामा पनि सकारात्मक प्रभाव पर्ने धेरैको विश्वास छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता