
इलाम (सिटीहल), ३१ साउन : बुधबार रातको करिब आठ बजेको थियो । नेपाली संगीत नक्षत्रका चम्किला तारा दिप श्रेष्ठले छोटो मन्तब्य पछि लामो स्वरमा ह्या...अए...अअ...अ...अअअअ गर्दै सुमधुर संगीतमा नै स्वर तिखारे । भरिएको सिटीहलबाट ताली, हुटिङ अनि साई–साई, सुई–सुई सुरु भयो । उनले सुरु गरे ‘म पत्थरको देवता हैन’ बोलको गीतबाट । अलि अघिदेखि नै इलाम सदरमुकाममा रहेको गौतमबुद्ध सभागृह हल संगीतले गुन्जयमान थियो, कारण हो दिप श्रेष्ठ एकल साँझ । सनलाइट म्युजिक स्टुडियो झापाले आयोजना गरेको दिप श्रेष्ठ एकल सांगीतिक साँझ बिहीबार इलाममा हुँदाको कथा हो यो । इलामका लागि शिखर डिजिटल फोटो स्टुडियोले आयोजना गरेको कार्यक्रममा श्रेष्ठले ८ वटा गीत सुनाएका थिए ।
गायनकै लागि भनेर राजधानीदेखि लामो यात्रामा निस्किएका उनी झापाका विभिन्न स्थानमा यसैगरी गित सुनाएर इलाम आएका थिए । श्रेष्ठ चियाबारीको गाउँ इलामसम्म पहिलो पटक निस्किएको बताउँदै एकाएक आफ्ना गित सुरु गरिरहेका थिए । काठमाडौंमा दिनहुँको भलवाडीले मन खिन्न भए पनि संगीतलाई माया गर्ने पूर्वेली दर्शकका कारण उनमा चिन्ता भने बढ्न पाएको थिएन । व्यग्र प्रतिक्षामा रहेका संगीतप्रेमीको उत्साह देखेर दिनुहको प्रस्तुति भए पनि गायक श्रेष्ठलाई थकानको महशुस भएन । पूर्वको सांगीतिक दौडाहामा रहेका श्रेष्ठले पहिलो पटक संगीत पारखी इलामेमाझ एकल प्रस्तुतिमार्फत सांगीतिक राग छोड्दा सदरमुकामस्थित गौतम बुद्ध सभागृह खचाखच थियो ।
श्रेष्ठका सदावहार गीत सुन्न सवै प्रकृतिका दर्शकको उपस्थिति देखिन्थ्यो । साताअघि काँकरभिट्टावाट सांगीतिक यात्रा सुरु गरेका श्रेष्ठ चारआली, विर्तामोड, दमक, इटहरी र धरानपछि इलाम उक्लिएका थिए । ‘साइली बरिलै’, ‘म त दुरदेखि आए’ ‘कति कम्जोर रहेछ भाग्य’ ‘बितेका कुराले धेरै चोट लाग्दा’ जस्ता कर्णप्रिय गीत श्रेष्ठको सोलो कार्यक्रममा अटाएका थिए । निजी भ्रमणमा एकाध पटक यहाँ आएपनि सांगीतिक स्टेजमा नदेखिएका श्रेष्ठले निरन्तरको गायन प्रस्तुतिको थकाई माझ पनि उत्तिकै उत्साहका साथ दर्शकको सांगीतिक प्यास मेटाएका थिए ।
उनलाई दार्जिलिङसहित झापा र इलामका संगीतकर्मीले सघाए । जोन तामाङ, ध्रुव आचार्य, सुन्दर सिंह, सन्दिप प्रधान, दिपेश श्रेष्ठ, मित्र मगर, रविन गहतराज, विष्णु खनाल, सुवास भण्डारीलगायतले गिटार, किवोर्ड, बेश गिटार, रिदम गिटार, बाँसुरी, ड्रम, प्याड, तबलालगायत वाध्यन्त्र बजाएर साथ दिए । त्यस्तै झापाको कुइभर व्यान्डका सुवास श्रेष्ठ, निमा वाङगेल तामाङ, सुन्दर सिंह र सन्दिप बिकेको प्रस्तुतिले पनि कार्यक्रमलाई थप रोचक वनाएको थियो ।
जतिवेला उनी इलाम आउने क्रममा कन्याममा बास बसेका थिए त्यही बेला राजधानीको धोबीखोला उनको घरमा छिरेको थियो । ‘मध्यराति घरमा भल पसेको फोन आयो,’ भावुक हुँदै उनले भने, ‘पहिलो तलामा नियमित अभ्यास गर्ने क्रममा राखिएका वाद्ययन्त्रको चिन्ताले निदाउन सकिन ।’ पूर्वका ६ वटा शहरको दौरान पछि अन्तिम प्रस्तुतिमा देखिएका श्रेष्ठको गायकीमा नडुब्ने कोही थिएनन् । ‘दिप दाईका पुराना गीतले यहाँका स्टेज हामीले तताई रहँदा वास्तविक सर्जकवाटै आफूनै घर आँगनमा सुन्न पाउदा ज्यादै खुशी लागेको छ,’ गायक कोमल निरौलाले भने । श्रेष्ठको प्रस्तुति हेर्न कुवेर राई, पुजन प्रधान, सन्तोष भक्तराजलगायत विभिन्न स्रष्टासमेत जिल्लाभरबाट भेलिएका थिए । कार्यक्रम सुरु हुनु पुर्व इलामका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिना, इलाम नगरपालिकाका मेयर महेश बस्नेत, इलाम नगरका प्रमुख प्रशासकिय अधिकृत महेन्द्रकुमार खाम्याहाङ, सुरक्षा निकायका प्रमुख लगायतले श्रेष्ठलाई स्वागत गरेका थिए ।