
इलाम, ५ साउन : इलामको खानेपानी तथा सरसफाई डिभिजन कार्यालयले गत आर्थिक वर्ष २०७४÷०७५ मा कुनै आधारप्रमाण बिना एक आयोजनाको नाममा ३६ लाख रुपैयाँ खर्च गरेको पाइएको छ । कार्यालयको श्रेस्ताले ३६ लाख बिनियोजित योजनामा उपभोक्ता समितिमार्पmत ३५ लाख ९९ हजार ७०८ रुपैयाँ खर्च भएर २९२ रुपैयाँ मात्र बाँकी रहेको देखाए पनि त्यो आयोजना कार्यान्वयन गर्ने उपभोक्ता समिति कँही कतै छैन ।
कार्यालयले गत आवमा पञ्चकन्या लक्ष्मीपुर खानेपानी आयोजनाको नाममा उक्त रकम खर्च गरेको हो । उक्त आयोजना कार्यान्वयनका लागि पञ्चकन्या लक्ष्मीपुर खानेपानी तथा सरसफाई उपभोक्ता समितिका नाममा डिभिजन कार्यालयले कार्यादेश दिएको छ । तर यो उपभोक्ता समिति आयोजना क्षेत्रदेखि डिभिजन कार्यालयसम्म कतै देखिँदैन ।
यस्तो आयोजना कार्यान्वयन गर्ने उपभोक्ता समिति जिल्ला समन्वय समिति (साविकको जिल्ला विकास समितिको जलस्रोत समिति)मा विधिवत दर्ता भएर बिधानसहितका दर्तासम्बन्धी कागजात पेश गरेपछि मात्र आयोजना सम्पन्न गर्न कार्यादेश पाउँछ । तर डिभिजन कार्यालयले कार्यादेश दिएको समितिले जिल्ला समन्वय समितिमा दर्ता हुनु त के दर्ता प्रकृयाका लागि आवेदनसम्म दिएको पाइँदैन । समन्वय समितिको प्रशासन शाखाका अधिकृत विजयकुमार कार्कीका अनुसार पञ्चकन्या लक्ष्मीपुर खानेपानी तथा सरसफाई उपभोक्ता समितिको नाममा जिससमा कुनै फाइल नै छैन ।
यति सम्म कि, आयोजना सम्पन्न गर्न भनेर अर्थात् ३६ लाख रुपैयाँ सिध्याउन कार्यादेश दिएको भनिएको समितिसँग डिभिजन कार्यालयले दुईपटक सम्झौता गरेको कागज कार्यालयका इञ्जिनियर बिनोद योञ्जनले देखाएको फाइलमा छ । ती सम्झौता २०७४ भदौ ७ र चैत ७ मा भएको देखाइएको छ । तर खानेपानी तथा सरसफाई डिभिजन कार्यालय र पञ्चकन्या लक्ष्मीपुर खानेपानी तथा सरसफाई उपभोक्ता समितिबीच भएको भनेर उल्लेख गरिएका ती दुवै सम्झौतामा उपभोक्ता समितिका तर्पmबाट यो समाचार तयार पार्दासम्म (२०७५ साउन ४ गते) कसैको हस्ताक्षर र समितिको छापसमेत छैन । दुवै सम्झौताको अन्त्यमा उपभोक्ता समितिका प्रतिनिधीको सही लेखिएको भागमा खाली रहेको छ भने कार्यालयको तर्पmबाट डिभिजन प्रमुख मोतिउर रहमानको हस्ताक्षर उल्लेखित मितिमै भएको देखाइएको छ ।
स्मरणीय त छँदैछ, सम्झौतामा हस्ताक्षर नै नगरेको, कतै पनि दर्ता नै नभएको समितिले आयोजनामा छुट्टिएको रकम भने गत आवमै सिध्याइसकेको छ । सम्झौतामा हस्ताक्षर नै नभई, समिति दर्ता नै नभई डिभिजन कार्यालयका सबै फाँटले बजेट खर्च गर्नेसम्मका कागजात पनि तयार गरिदिएका छन् ।
योजना शाखाका इष्टिमेट डिजाइन गर्ने इञ्जिनियर बिनोद योञ्जन, लेखा शाखाका लेखा अधिकृत विरेन्द्र बस्नेत, प्रशासन शाखाका अधिकृत हरि दहाल र नायब सुब्बा लगायतले आयोजनाको कामका सिलसिलामा उपभोक्ता समितिका कागजात विभिन्न सिलसिलामा हेर्नुपर्ने हुन्छ । उनीहरुकै टिप्पणीका आधारमा र उनीहरुले नै गरेका काम कारबाहीका आधारमा फाइल अघि बढ्ने हो कार्यालयमा । तर सबैले उपभोक्ता समितिको कुनै कागजात बिना नै काम गरेको पाइन्छ ।
लेखा अधिकृत बस्नेतले काम भएको आधारमा प्राविधिकको सिफारिसमा उपभोक्ता समितिले रकम माग गरेपछि उपलब्ध गराएको बताएका छन् । तर उनले पनि उपभोक्ता समितिको कुनै अभिलेख देखाएनन् । ‘म सँग सबै कागजात हुँदैन, योजना शाखामै हुन्छ’, उनले भने । आयोजनाको लागि फिटिङ्सका सामान, पाइप लगायतका सामान उपलब्ध गराउने प्रशासन र स्टोर शाखाका कर्मचारीले पनि प्राविधिकको सिफारिस र समितिको मागअनुसार सामान उपलब्ध गराएको बताएका छन् । तर उनीहरुसँग पनि समितिको कुनै आधिकारिक कागजात छैनन् । प्रशासन शाखाका कर्मचारीले भने, ‘सधैँ भन्ने बित्तिकै सबैथोक हुँदैन । दर्ता हुँदैछ, कागजात आइहाल्छ भनेपछि कामपटि ध्यान दिइएको हुनसक्छ ।’
इञ्जिनियर बिनोद योञ्जनले चाहिँ उपभोक्ता समिति पनि भएको, दर्ता पनि भएको, सबै कागजात भएको बताए पनि उनले भनेअनुसारका कागजात कुनै देखाउन भने सकेनन् । पञ्चकन्या लक्ष्मीपुर खानेपानी आयोजना हेर्ने भनिएका र आयोजना सम्पन्न भएको प्राविधिक प्रतिवेदन कार्यालयमा दिने भनिएका प्राविधिक नै योञ्जन भएपनि त्यसको उपभोक्ता समितिको आधिकारिकता भने उनले समेत देखाउन सकेनन् । उनले लाचारी पन प्रस्तुत गरे, ‘दर्ताका लागि निवेदन दिएको छ रे, दर्ता भएको कागजात जिल्ला समन्वय समितिबाट उपभोक्ता समितिले लगेको छैन रे ।’ उनको भनाईबाट स्पष्ट हुन्छ, कागजमा देखाइएको समिति नै किर्ते हो, छैन भनेर ।
यस विषयमा कार्यालय प्रमुख तथा डिभिजन प्रमुख रहमानसँग बुभ्mन खोज्दा उनी केही दिनदेखि बिदामा छन् । कार्यालयको गाडि लिएर हिँडेका प्रमुख रहमान गाडि राजधानीस्थित विभागको कार्यालयमा राखेर महिना दिन भन्दा लामो बैदेशिक (धार्मिक) भ्रमणमा गएको अधिकृत दाहालले बताए ।
सन्दकपुर अनलाइनबाट जस्ताकाे तस्तै