ढाँटको राजनीति गर्दिनँ – प्रधानमन्त्री

  • मनिषा चम्लागाईँ

गौरादह, प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले ढाँटको राजनीति गर्नु नपरेको र नगर्ने बताएका छन् । आफू राजनीतिक जोगी भएको बताएका उनले आफूले मौका पाएको र काम गरेर देखाउँने बताए । गृह जिल्ला झापाको गौरादहमा बुधबार अभिनन्दन पछि प्रधानमन्त्री ओलीले भने, ‘मलाई कमाउनु छैन, म राजनीतिक जोगी हुँ, काम गरेर देखाउँछु ।’ 
गौरादह नगरपालिकाले गरेको अभिनन्दन ग्रहण पछि प्रधान्मन्त्रि ओलीले आफ्नो पार्टीबाट काममा भरपूर सहयोग पाएको बताए । आफ्नो नेतृत्वको सरकार विकासको भिजन बोकेको सरकार भएको उनले दाबी गरे । ओलीले भने, ‘मुलुकलाई  समृद्ध बनाउने अभियानमा लागिपरेको छु ।’ ओलीले मुलुक समृद्ध बनाउन उत्पादनमुखी पेशामा लाग्न किसानहरुलाई आग्रह गरे । 
कृषिमा आधुनिकीकरण गर्न सके ठूलो फड्को मार्न सकिने दाबी गरेका उनले किसानलाई त्यसतर्फ लाग्न सुझाए । प्रधानमन्त्री ओलीले किसानले आधुनिक कृषि पेसा गर्न चाहे सरकार जस्तोसुकै सहयोग गर्न तयार रहेको बताए । उनले भने, ‘आधुनिक हिसाबले खेती गर्ने हो भने, समृद्धिको ढोका त्यहीँबाट खोल्न सकिन्छ, त्यसैले कृषिमा लागौँ, प्राकृतिक उत्पादन गरौँ, जमिन पर्याप्त छ, अब सबै मिलेर उत्पादन बढाउनेतिर लागौंँ ।’  प्रधानमन्त्री ओलीले कृषिका लागि झापा र मोरङमा कुनै समस्या नभएको दाबी गरे । उनले उच्च बाँध बाँधेर तमोरको पानी चिसाङमा ल्याएर मोरङमा र कनकाईको पानीले झापामा सिँचाइको व्यवस्था गर्न सकिने बताए । 
प्रधानमन्त्री ओलीले सरकार सुशासन र विकासको बाटोमा हिँडेको भन्दै कानूनको गलत प्रयोग गर्न नदिन सरकार प्रतिबद्ध भएर लागेको बताए । ओलीले सरकार कानूनी राज्य स्थापित गर्न प्रयासरत रहेको जनाए । कसरी विकास गर्नुपर्छ भन्ने कुरा राम्ररी बुझेको बताएका उनले भने, ‘मैले जेल–नेल भोगेको छु, लात–सलाद खाएको छु, ७७ वटै जिल्ला घुमेको छु, सबै जिल्लाको भूगोल बुझेको छु, देश–विदेश सबै देखेको छु, मलाई राम्ररी थाहा छ, विकास कसरी गर्नुपर्छ ।’ 
यतिबेला राजनीतिक रुपले र स्वास्थ्यको हिसाब पनि आफ्ना लागि अवसर भएको उनले सुनाए । प्रधानमन्त्री ओलीले आफूले भनेका सबै कुरा पूरा गराएरै छाड्ने दृढता जनाए । अघिल्लो पटक राम्रा काम गर्ने योजना बनाउँदै गर्दा पदबाट हटाएकाले देखिने गरी काम गर्न नसकेको उनको भनाई छ । यस पटक त्यो अवस्था नरहेकाले बिस्तारै सबै प्रतिबद्धताहरु पूरा हुँदै जाने उनले दोहोर्याए । ‘तपाईहरु हेर्दै जानुस्, अबको दुई वर्षपछि पूर्वपश्चिम रेल कसरी गुड्छ, तुइन अबको केही समयमा विस्थापित हुँदैछ’ उनले भने, ‘घर घरमा पाइपबाट ग्यास पुग्ने सिस्टमको मैले विराटनगरमा उद्घाटन गरिसकँे ।’  
बाहिर हल्ला भएजस्तो गरी कर बृद्धि नभएको भन्दै प्रधानमन्त्री ओलीले जनप्रतिनिधिलाई जनताको सेवामुखी भएर काम गर्न निर्देशन दिए । अनुभवको अभावमा वा भुलचुक कतै करको मात्रा बढेको भए त्यसलाई समायोजन गर्न पनि जनप्रतिनिधिलाई उनले निर्देशन दिए । उनले स्थानीय सरकारसँग कर बृद्धि गर्ने अधिकार भएकाले कर बृद्धि भएको टिप्पणी गरे । सरकारबाट सेवा सुबिधा लिँदा कर पनि तिर्नुपर्छ भन्ने मानसिकताबाट विचलित नहुन उनले आग्रह गरे । 
प्रधानमन्त्री ओलीले झापाको कमल गाउँपालिका–७ मा निर्माण हुने प्रदेशस्तरीय आयुर्वेदिक अस्पतालको शिलान्यास गरेका छन् । शहरी विकास मन्त्रालय, शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालयले निर्माण गर्ने अस्पालको शिलान्यास गरेका हुन् ।       
अस्पताल ५० शैय्याको आयुर्वेदिक अस्पतालबाट दैनिक आकस्मिकसहित बहिरङ्गसेवा, शल्यक्रिया कक्ष, सघन कक्ष, औषधालय, प्रयोगशाला सेवा जस्ता पूर्वाधार निर्माण हुने जिल्ला आयुर्वेद कार्यालय झापाले बताएको छ । दुई वर्षमा सुविधा सम्पन्न अस्पताल भवन निर्माण हुने डिभिजन कार्यालयले जनाएको छ । भवन निर्माणका लागि २० करोड ८० लाख बजेट प्राप्त भएको चिकित्सालयका रेखदेख समितिका संयोजक मणिकुमार भण्डारीले बताए ।
राष्ट्रिय आयुर्वेद स्वास्थ्य नीति २०५२ अनुसार भवन निर्माण गरिन लागिएको हो । प्रत्येक प्रदेशमा आयुर्वेद अस्पताल निर्माण गर्ने सरकारी योजना अनुसार लखनपुरमा अस्पताल बन्न लागेको हो । अस्पताल निर्माणसँगै गाउँपालिकाको विकासमा थप टेवा पुग्ने कमल गाउँपालिका अध्यक्ष मेनुका काफ्लेले बताइन् । भवन ७५ मिटर लम्बाइ र ४५ मिटर चौडाइको हुने बताइएको छ ।  
अस्पताल निर्माणका लागि स्थानीय मनी भण्डारी लगायत १२ जनाले जग्गा उपलब्ध गराएको जिल्ला आयुर्वेद झापाका पूर्व कार्यालय प्रमुख डा.सूर्यनारयण मेहताले बताए । उनले भने, ‘म जिल्ला आयुर्वेद झापाको प्रमुख भएर काम गरिरहेको समय २०७१ सालमा जग्गा उपलब्ध गराउनु भएको हो ।’ 
आयुर्वेदन प्रमुख झापा स्वास्थ्य केन्द्रका डा.कोनिन राईले संघीयता आउनु भन्दा पहिला नै क्षेत्रीय स्तरको आयुर्वेद अस्पताल बन्ने निर्णय भएको जनाए । हरेक विधाका विशेषज्ञले अस्पातबाट सेवा प्रदान गर्ने राईले बताए । उनले भने, ‘प्रदेश–१ स्तरीय आयुर्वेद अस्पताल झापामा खोलिनु राम्रो हो, यस क्षेत्रका नागरिकलाई उत्कृष्ट सेवा प्राप्त हुने आश हामीले लिएका छौँ ।’
कमल गाउँपालिका –७ लखनपुर मुख्य सडकखण्डबाट तीन सय मिटर भित्र निर्माण हुने आयुर्वेदिक अस्पताल परिसरमा कार्यक्रमको लागि मञ्च बनाइए पनि मैसमको कारण बताउँदै प्रधान्मन्त्री मञ्चसम्म पुगेनन् । राजमार्ग र कार्यक्रम स्थलमा ५०० बढी सुरक्षाकर्मी खटाइएको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी जितेन्द्र बस्नेतले बताए । कार्यक्रम स्थलको सुरक्षाका लागि २ दिनदेखि सुरक्षाकर्मी खटाइएको थियो । पानीमा भिज्दै ३ घण्टाभन्दा बढी समयसम्म बसेका स्थानीय प्रधानमन्त्री कार्यक्रम स्थलसम्म नआउदा रुष्ट बनेका थिए । शिलान्यास कार्यक्रममा आउनुअघि प्रधानमन्त्री ओलीले नेकपा झापाको जिल्ला कमिटी चयनबारे जिल्ला नेतासँग छलफल गरेका थिए । अध्यक्ष, सचिवसहित तत्कालीन एमाले र माओवादी केन्द्रबाट कति जना नेता जिल्ला कमिटीमा बस्ने भन्ने विषयमा सहमति जुटेपनि नेतृत्व तहमा को–को जानेबारे टुंगो लागेको छैन । त्यस विषयमा कमल गाउँपालिकास्थित सशस्त्र प्रहरीको पाथीभरा गणमा जिल्लास्तरीय नेतासँग ओलीले करिब ३ घण्टा छलफल गरेका थिए । प्रधानमन्त्री ओलीले बुधबार बिहान मोरङको पथरीशनिश्चरे नगरपालिकामा कार्यकर्तासँग भेटघाट गरेका थिए । मोरङ ३ बाट निर्वाचित भानुभक्त ढकाल कानून मन्त्री भएकोमा बधाई ज्ञापन गर्न कार्यक्रम आयोजना गरिएको थियो ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता