
इलाम । इलामको सुर्योदय नगरपालिकाबाट भएको कर वृद्धिको बिरोधमा नगर संर्घष समितीले कार्यवाहक प्रमुख दुर्गादेवी भट्टराईलाई बिरोध पत्र वुझाएको छ ।नगरपालिकाले जनताको आयस्तरको ख्यालै नगरी कर वृद्धि गरेको भन्दै ७ दिनभित्रमा वृद्धि गरिएको मालपोत तथा कर फिर्ता गरी साविक अनुसार कायम गर्न माग गर्दै ज्ञापनपत्र बुझाइएको हो ।
कर बृद्धि घटाउँ संर्घष समितीका संयोजक सोनाम छिरिङ काजीको नेतृत्वमा गएको टोलीले कार्यावाहक नगरप्रमुखको कार्यकक्ष मै गएर ज्ञापन पत्र बुझाइएको हो । ज्ञापनपत्रमा बृद्धि गरिएको कर तोकिएको ७ दिनभित्रमा फिर्ता नभए चरणबद्ध आन्दोलनका गरिने भएको छ । असामान्य रुपमा बृद्धि गरिएको करले संघियताको मर्म र भावनालाई उपहास गरेकाले जनताको भावना बमोजिम कार्य नभए आन्दोलनका कार्यक्रमहरुलाई शसक्त बनाएर अघि बढाइने ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।
ज्ञापनपत्र बुझदै कार्यवाहक नगरप्रमुख भट्टराईले नगरप्रमुख विदेशमा रहनुभएकाले उहाँ फर्किएपछि यस बिषयमा छलफल गरी अघि बढने बताउनुभयो । संर्घष समितीले तोकेको समयमा करको बिषयलाई परिमार्जन गर्न नसकिने भएकाले कम्तीमा २० दिन आवश्यक रहेको बताउनुभयो ।