नेकपा इलामको अध्यक्षमा के.शी. र सचिवमा लावती सिफारिस

इलाम, ५ भदाैँः  नेपाल कम्युनिष्ट पार्टी इलामको अध्यक्षमा भक्त के.शी. र सचिवमा कान्छा लावती सिफारिस भएका छन् । के.शी. साविक ने.क.पा. (एमाले) का जिल्ला उपाध्यक्ष हुन् भने लावती साविक नेकपा (माओवादी केन्द्र) का जिल्ला इन्चार्ज हुन् ।  
इलाम जिल्लामा एमाले र माओवादी केन्द्रबीच पार्टी एकताको लागि सिफारिस गर्न बनेको कार्यदलले एकता प्रतिवेदनमा अध्यक्ष, सचिव सहित विभिन्न पदको लागि गरिएको सिफारिस प्रतिवेदन पार्टी केन्द्रले बनाएको कार्यदलका नेता भिम आचार्यलाई बुझाएको छ । नेकपाका नेताहरु हिक्मत कार्की,  धिरेन्द्र शर्मा रमण, रामबहादुर मगर र हर्क लावती (कान्छा) रहेको ४ सदस्यीय कार्यदलले प्रतिवेदन टुङ्ग्याएको हो ।
कार्यदलले जिल्ला कार्यालय, जिल्ला सचिवालय, जिल्ला कमिटी, क्षेत्रीय समन्वय कमिटीहरुको अध्यक्ष, सचिव तथा नगरपालिका/गाउँपालिका कमिटीको इन्चार्ज, अध्यक्ष र सचिवहरुको सहमतिमा टुङ्गो लगाएर सिफारिस गरिएको कार्यदलका सदस्य रामबहादुर मगरले बताए । 
उनका अनुसार १४५ सदस्यीय जिल्ला कमिटीमा एमालेबाट ९४ जना र माओवादी केन्द्रबाट ५१ जनाको प्रतिनिधित्व रहनेछ । ९ सदस्यीय कार्यालयमा एमालेबाट ५ जना र माओवादी केन्द्रबाट ४ जना रहनेछन् भने ४९ सदस्यीय सचिवालयमा एमालेबाट ३० जना र माओवादी केन्द्रबाट १९ जनाको प्रतिनिधित्व हुनेछ ।
इलामका १० वटा स्थानीय तहहरुमध्ये ८ वटाको संयोजक र ३ वटाको सचिव एमालेबाट तथा २ वटाको संयोजक र ७ वटा स्थानीय तहको सचिव माओवादी केन्द्रबाट हुनेगरी सहमति भएको बताईएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता